म्यादी प्रहरीः कसैको रहर, कसैको बाध्यता (भिडियो)

काठमाडौँ – मकवानपुर घर भई काठमाडौँ बस्दै आएका दीपेन्द्र विष्ट म्यादी प्रहरीका लागि आवेदन दिन आइतबार महानगरीय प्रहरी परिसर टेकु पुगे। उनी विदेश जाने तयारीमा रहे पनि कोरोनाका कारण उनको विदेश जाने सपना तत्काललाई पूरा हुन सकेन।

रोजगारी पनि नभएको र विदेशको भिसासमेत नआइरहेको चिन्ताले उनलाई पिरोलिरहेको थियो। त्यतिकैमा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलायो।

उनले यसअघि इन्डियन पुलिसमा समेत आवेदन दिएका थिए। उनी त्यहाँ छानिन सकेनन्। त्यसकै मोहका कारण पनि उनी हाल म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन आएको बताउँछन्।

‘मैले पहिले इन्डियन पुलिसमा ट्राइ गरेको थिएँ, त्यहाँ छानिन सकिएन। त्यसपछि यता आएर नेपाल आर्मीमा पनि के गर्नुजस्तो भयो त्यसैले बरु विदेशको तयारीमा थिएँ’, उनी भन्छन्, ‘बेरोजगार बस्नुभन्दा म्यादी प्रहरीमा भए पनि काम गर्छु रहर पनि पूरा हुन्छ भनेर यता भर्नाको तयारीका लागि आएको हुँ।’

उमेरका कारण मन हुँदाहुँदै पनि प्रहरीमा भर्ना हुन नपाइएपछि म्यादी प्रहरीमा भर्ना हुन आएको उनी बताउँछन्।

त्यस्तै, सिलाइको काम सिक्दा सिक्दै छाडेर म्यादी प्रहरीमा भर्ना हुन आएको दिलमाया विश्वकर्मा बताउँछिन्। ‘रोजगारी थिएन, त्यसै ३०–४० दिन काम गर्दा राम्रै पैसा आउँछ भने किन नगर्ने भनेर भर्ना हुन आएँ,’ उनी भन्छिन्, ‘सिलाइमा हात बसाउन जाँदै थिएँ यता म्यादीका लागि खुलेको छ भन्ने सुनेर छाडेर आवेदन दिन आएँ।’

यसअघि पनि म्यादी प्रहरीमा भर्ना भइसकेकाले केही सहज हुन्छ भन्ने सोचले भर्ना हुन आएको उनी बताउँछिन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको लागि भर्ना खुलाएको हो।

म्यादी प्रहरीका लागि चैत ६ गतेदेखि ११ गतेसम्म कार्यालय समयमा आवेदन दिन सकिने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ। सोही सूचनाका आधारमा प्रहरीले आइतबारबाट देशभर भर्नाका लागि दरखास्त लिने काम भइरहेको छ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि आइतबार एकैदिन भर्नाका लागि दरखास्त लिइएको छ।

महानगरीय प्रहरी परिसरमा पनि आइतबार म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको बाक्लो उपस्थिति थियो। प्रहरीमा जागिर खान मन हुँदा हुँदै उमेरका कारण भर्ना हुन नपाएकाहरूदेखि रोजगारीको खोजीमा भौंतारिएकासम्म म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिन आएका थिए।

प्रहरीको पोसाक लगाएर देशको सेवा गर्न चाहने जो–कोहीका लागि म्यादी प्रहरी अवसरजस्तै बनेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेश मैनालीले बताए।

‘नीलो पोसाक लगाएर देशका लागि काम गर्ने रहर धेरैको हुन्छ, त्यसैले गर्दा पनि म्यादी प्रहरीप्रति आकर्षण बढ्दो छ’, उनी भन्छन्, ‘कोही उमेरका कारण प्रहरीमा भर्ना हुन पाउँदैनन्, कोही छनोटमा पर्दैनन् उनीहरूका लागि म्यादी प्रहरी एउटा अवसरजस्तै हो।’

उनका अनुसार बेरोजगारी एउटा मुख्य समस्या भए पनि प्रहरीप्रति युवा पुस्ताको आकर्षण बढ्दै जानु नै म्यादी प्रहरीमा आकर्षण बढ्नुको मुख्य आधार हो।

चैत ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्