लेटाङमा भएको प्रहरी जवानको हत्याको पूर्व सुरक्षाकर्मी परिषदद्वारा भर्त्सना

काठमाडौँ – मोरङको लेटाङमा गएको आइतबार डियूटीमा रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको घटनाप्रति पूर्व सुरक्षाकर्मी परिषदले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कर्तव्यपालनको उच्च मर्यादा अनुकूल जनताको जिउधन सुरक्षा गर्न प्रयास गरिरहेको समयमा प्रहरी जवान श्रेष्ठमाथि सांघातिक आक्रमण गरी घाँटीमा धारिलो हतियारले चोट पु¥याई गरीएको हत्याको घोर भर्त्सना गर्ने परिषदले जनाएको छ ।

उक्त हत्या काण्डको छानबिन गर्न उच्च स्तरीय छानबिन समिति गठन गरी हत्यामा संलग्नलाई कानुन बमोजिम कर्तव्यज्यान मुद्दामा कारवाही अगाडि बढाउन माग परिषदले गरेको छ । यस्तै श्रेष्ठलाई अमर प्रहरी घोषणा गरी मृतकको परिवारलाई क्षतिपूर्ति बापतको रकम समेत उपलब्ध गराउन सरकारसँग परिषदले माग गरेको छ ।

आइतबार लेटाङ ५ खेरुवामा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीमाथि होलीका दिन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।

घटनाबारे विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसिरहेका अवस्थामा आक्रोशित भीडले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास भएपछि स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीसँग झडप भएको थियो।

चैत ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्