यी हुन् प्रदेश १ को मन्त्रिपरिषद् बैठकका निर्णय

फाइल तस्बिर

मोरङ– प्रदेश १ सरकारले आगामी वर्ष २०७९ का लागि सार्वजनिक विदासम्बन्धी प्रस्तावसहित विभिन्न ७ वटा विषयमा निर्णय गरेको छ।

बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकपछि यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले राधाकृष्ण रथयात्रा, छठ पर्वको समापनको दिन, फाल्गुनन्द दिवसको दिन प्रदेश १ मा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिए।

यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव पेश गरेको बताँउदै मन्त्री घिमिरेले प्रदेश सरकारलाई थप ६ वटा विदा दिन पाउने अधिकार स्वरुप सरकारले निर्णय लिएको बताए।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको मन्त्रीले घिमिरेले जानकारी दिए। प्रस्तावको स्वीकृतिले रोग लागेका विरामीको उपचार खर्चमा मद्दत मिल्ने सरकारको भनाइ छ।

त्यसैगरि बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि २०७८ लाई राजपत्रमा प्रकाशन गर्ने र वित्तिय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धीको प्रस्ताव स्वीकृत भएको छ।

मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान (पहिलो संशोधन) नियमावली, २०७८’लाई पनि स्वीकृत गरेको छ।

त्यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ।

सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री घिमिरेले जानकारी दिए।

चैत ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्