सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज – सुर्खेत रोडको अतिक्रमण हटाउन सुरु गरिएको छ। सडक डिभिजन कार्यालय बाँकेले फोरलेन सडकको अतिक्रमित घर–टहरा भत्काउन थालेको हो।

पिप्रहवा क्षेत्रबाट अतिक्रमण हटाउन सुरु गरिएको छ। कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गर्ने भनिए पनि त्यहाँका स्थानीयले हप्ता दिनको समय माग गरेपछि रोकिएको छ। अतिक्रमण हटाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत कोहलपुर पुगेका थिए।

नेपालगञ्जको जमुनाहादेखि कोहलपुरसम्मको सडक क्षेत्रमा सार्वजनिक सडक ऐन २०३१ ले तोकेको मापदण्डविपरीत निर्माण भएका, सडक अतिक्रमण गरी बनाइएका र २०६९ असोज ४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्बाट विल्डर्स एरियाका लागि तोकेको मापदण्डविपरीत रहेका स्थायी र अस्थायी संरचना हटाउन थालिएको हो।

सडक डिभिजन कार्यालयले विल्डर्स एरियामा ४२ मिटर र अन्य ठाउँमा ५० मिटर फराकिलो सडक रहने बताएको छ। कोहलपुर र नेपालगञ्जको केही क्षेत्रलाई विल्डर्स भनिएको छ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेत रोडलाई फोरलेन बनाइएको हो। ५० मिटर कै सडक बनाउने भनिए पनि केही टाठाबाठाले सोर्सफोर्स लगाएर ४२ मिटरमा खुम्च्याउन भ्याएका थिए। सबै ठाउँमा त्यही ४२ मिटर पनि छैन।

दुई दिनअघि बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सुर्खेत रोडको अतिक्रमण हटाउने निर्णय गरेपछि सडक डिभिजन कार्यालय घर भत्काउन अघि सरेको हो। नेपालगञ्जको सुर्खेत रोड र नेपालगञ्जको धम्बोझीदेखि बर्दियाको मैनापोखरसम्मको सडक अतिक्रमण हटाउने निर्णय एकैपटक गरिएको छ।

चैत १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्