पीएम कप भलिबलमा पुलिस र आर्मीको विजयी सुरुवात

नेपालगञ्ज – नेपालगञ्जमा आठौँ सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता सुरु भएको छ।

नेपालका चार र दुई वटा भारतीय टिमले भाग लिएको प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक लुम्बिनी युनाइटेड क्लबलाई सोझो सेटमा पराजित गरेको हो। प्रहरीले २५–१४, २५–१३ र २५–९ को सेटमा लुम्बिनीलाई पराजित गरेको थियो। प्रहरीको सेट टिमअगाडि लुम्बिनीको टिम कमजोर देखिएको थियो। यो खेलमा पुलिसकी मनीषा चौधरी प्लेयर अफ म्याच भइन्।

दोस्रो खेलमा आर्मीले न्यू डायमण्डलाई ३–१ सेटमा पराजित गर्‍यो। पहिलो सेट आर्मीले २५–१५ अंकले जित्यो। कडा प्रतिस्पर्धा भएको दोस्रो सेट न्यू डायमन्डले २९–२७ अंकले सेट हात पार्‍यो। तेस्रोमा २५–१७ र चौथोमा २५–२२ ले आर्मीले खेल आफ्नो पक्षमा पार्‍यो। यो खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ म्याच भइन्।

चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्टस एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोर्टस क्लब सहभागी छन्।

प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री महेश्वर गहतराजले गरेका थिए। उनले प्रधानमन्त्री कपले खेलको माध्यमबाट नेपालगञ्जलाई चिनाउन मद्दत गरेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए।

प्रदेश सांसद कृष्णा केसी नमुनाले प्रधानमन्त्री कपलाई अन्तर्राष्ट्रिस्तरको च्याम्पियनसीपको रुपमा स्थापित गर्ने बताइन्।

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्ने पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए। प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौँमा एपीएफ, छैटौँमा पुलिस र सातौँमा एपीएफ च्याम्पियन बनेका थिए। यसपाली तीन पटक च्याम्पियन बनेको एपीएफ सहभागी भएको छैन।

प्रतियोगिताको उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, एसपीद्वय श्यामकृष्ण अधिकारी र जनक बस्नेत, व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, प्रदीप छाजेडलगायत सहभागी थिए।

 

चैत १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्