पोर्चुगल र वेल्सले विश्वकप खेल्ने सम्भावना कायम

पोर्चुगल र वेल्सले विश्वकप यात्राको सम्भावना कायम राखेका छन् । कतारमा यो वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरण अन्तर्गत बिहीबार राति भएको प्ले अफ खेलमा पोर्चुगल र वेल्स विजयी भएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले टर्कीमाथि ३–१ को जित दर्ता गरेको हो । पोर्चुगलका लागि ओताभिओ, जोटा र नुनेसले गोल गरे । टर्कीका लागि बुराक यिल्माजले एक गोल फर्काए । उनले त्यसपछि ८५ औँ मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

प्ले अफ सेमिफाइनलमा विजयी भएको क्रिष्टियानो रोनाल्डो कप्तानीको पोर्चुगलले आउँदो मंगलबार कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्ने छ । इटालीलाई स्तब्ध पारेको उत्तरी मेसेडोनियाले प्ले अफ फाइनलमा स्थान बनाएको हो ।

यस्तै बिहीबार राति नै भएको खेलमा अस्ट्रियालाई २–१ ले पराजित गरेको वेल्सले पनि विश्वकप खेल्ने सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा वेल्सका लागि दुवै गोल ग्यारेथ बेलले गरे । अस्ट्रियाका लागि साबिट्जरले एक गोल फर्काएका हुन् ।

वेल्सले प्ले अफ फाइनलमा स्कट्ल्याण्ड वा युक्रेनसँग प्रतिस्पर्धा गर्ने छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण स्कट्ल्याण्ड र युक्रेनबीचको प्ले अफ खेल भने हाल स्थगित भएको छ । यो खेल आउँदो जुनमा हुने अपेक्षा छ ।

चैत ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्