एकदिवसीय सिरिजः पीएनजीले दियो नेपाललाई २९३ रनको लक्ष्य

काठमाडौँ – पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २९३ रनको लक्ष्य दिएको छ।

एकदिवसीय सिरिजअन्तर्गत कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा ओर्लेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रनको योगफल तयार गरेको हो।

पीएनजीका चार्ल्स अमिनीले ७७, असाद भालाले ६०, नोर्मन भौनाले ४७ र टोनी उराले ३८ रनको योगदान दिए।

नेपालका सोमपाल कामी, कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई तथा सन्दीप लामिछाने र पवन सर्राफले एकएक विकेट लिएका छन्।

यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेलेका हुन्। यूएईमा भएको लिग २ अन्तर्गतका दुबै खेलमा नेपालले पीएनजीलाई हराएको थियो।

एकदिवसीय सिरिजमा नेपाली राष्ट्रिय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिइएको छ। खेलको लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने छनोटमा परेका छैनन्।

नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सोमपाल कामी, रोहितकुमार पौडेल, पवन सर्राफ, मोहम्मद आरिफ शेख, भीम सार्की र अनिलकुमार शाह रहेका छन्।

चैत ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्