लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रवर्द्धनमा सघाउँछु – राजदूत शर्मा

काठमाडौँ – नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई भारतमा प्रवर्द्घन गर्ने बताएका हुन्।

आफूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने उनले आश्वासन दिए। लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न सक्ने उनको भनाइ थियो।

राजदूत शर्माले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने जानकारी दिए। नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले भने, ‘चाहे व्यापारको कुरा गरौं, आयात निर्यातकै पनि कुरा गरौं। झण्डै कुल व्यापारमा दुईतिहाइ भारतमै हुने गरेको छ। निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ।’

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुङ्गिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिए।

यस्ता उत्पादनहरुको निर्यात प्रवर्द्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे।
कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासंघअन्तर्गत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतको सहभागिता रहेको थियो।

चैत १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्