स्थानीय तह निर्वाचनः दाङमा यसपालि घट्ला त बदर मत?

दाङ – स्थानीय तह निर्वाचनको समय नजिकिएपछि निर्वाचन कार्यालयको व्यस्तता बढेको छ। जिल्ला सुरक्षा समितिले मतदान स्थलको अनुगमन गर्न सुरु गरेको छ भने निर्वाचन अधिकृतको तालिमको व्यवस्थापन भइरहेको छ।
जिल्लामा १५३ मतदान स्थल र ४६१ मतदान केन्द्र तय भएको छ। ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै काम तीव्र पारेका छौं’, प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकृत गेहेन्द्र कवरले भने, ‘निर्वाचनमा खट्ने कर्मचारीहरुको विवरण संकलन भैरहेको छ। कर्मचारी छानेपछि उहाँहरुलाई तालिम दिने र निर्वाचन सामग्री हस्तान्तरण गर्छौं।’
उनका अनुसार चैत अन्तिम साताबाट तालिम अघि बढ्ने छ। यसपालिको स्थानीय निर्वाचनमा जिल्लामा ४ लाख ९ हजार ९ सय जना मतदाता रहेका छन्। ०७४ को निर्वाचनमा २ लाख ९१ हजार १७२ जना मतदाता थिए। पाँच वर्षको अवधिमा जिल्लामा एक लाख १८ हजार ७२८ मतदाता थपिएका छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा धेरै विषय सुधार गर्नुपर्ने छ। उक्त निर्वाचनमा धेरै मत बदर भएको थियो। ६ हजार ३३७ अर्थात ३ दशमलव १६ प्रतिशत मत बदर भएको तथ्यांक छ। यसले अझै मतदाता शिक्षाको कमी रहेको देखाउँछ। मतदाता शिक्षाको कमीले यसपालिको निर्वाचनमा पनि बदर हुने मतको संख्या घट्नेछैन।
जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिकामा सबैभन्दा धेरै मत बदर भएको थियो। यहाँ ५ दशमलव ४० प्रतिशत मत बदर भएको थियो। तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा कम मत बदर भएको थियो। यहाँ एक दशमलव ९४ प्रतिशतमात्रै मत बदर भएको थियो।
बदर मतपत्रमा ल्याप्चे लगाएको, लस्करै माथिदेखि तलसम्म (ठाडो कोलम) छाप हानेको, डबल चिन्हमा (सात स्थानमा नभई १४ स्थानमा) छाप लगाएको मत भेटिएको थियो। त्यसैगरी खाली मतपत्र, उम्मेदवार नभएको ठाउँमा छाप लगाएको, सात स्थानमा छाप लगाई चिन्हभन्दा बाहिर पनि लगाएको र क्रमसंख्या उल्लेख भएको ठाउँमा छाप लगाएको पाइएको थियो।
यसपालिको निर्वाचनमा बदर मतसंख्या घटाउने गरी निर्वाचन कार्यालयले मतदाता शिक्षालाई प्राथमिकता दिएको बताएको छ।
निर्वाचनमा हुने बदर मतको संख्या घटाउन अघिल्लो पटक निर्वाचन कार्यालयले मतदाता शिक्षाको लागि पर्याप्त समय, पर्याप्त मतदाता शिक्षा सामग्री हुनुपर्ने सुझाव दिएको थियो।
मतदाता शिक्षाको लागि राजनीतिक पार्टीका युवा शक्तिलाई पनि तालिमको व्यवस्था मिलाई उनीहरुमार्फत पनि मतदाता शिक्षा दिन उपयुक्त देखिने, मतदाता परिचयपत्र मतदाता शिक्षा स्वयंसेवकहरुमार्फत वितरण गर्ने व्यवस्था मिलाएमा सजिलो, न्यून खर्चिलो र मतदाता परिचयपत्र सबैको घरमा पुग्ने व्यवस्था हुनसक्ने सुझावसमेत दिइएको थियो।
यसपालि मतादाता शिक्षालाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै आमसञ्चारको माध्यमबाट प्रचारप्रसारलाई तीब्र पारिने भएको छ। यसले बदर मत संख्या घटाउन सघाउ पुग्ने निर्वाचन कार्यालयको दावी रहेको छ।