पाँच वर्षको अलमलपछि राप्रपा नेपाललाई पुनर्जागृत गरेको कमल थापाको दावी

वीरगञ्ज – पाँच वर्षको अलमलपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पुनर्जागृत गरेको पार्टीका अध्यक्ष कलम थापाले बताएका छन्।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले विगतका त्रुटि, कमी–कमजोरीहरु सच्याउँदै राप्रपा नेपाल पुनर्जागृत भएको एक महिनाभित्रै ७७ वटै जिल्लामा पार्टीको जिल्लास्तरीय संरचनाहरु निर्माण भइसकेको जानकारी दिए।

‘पाँच वर्षको लामो अलमलपछि हामीले राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौं, मलाई यो भन्दा खुसीको अनुभव हुन्छ’, उनले भने, ‘पार्टी पुनर्जागृत भएको एक महिनामै देशका ७७ वटै जिल्लामा जिल्लास्तरीय संरचनाहरु निर्माण भइसकेका छन्।’

पार्टीको युवा–विद्यार्थी, महिला, राष्ट्रिय युवा मोर्चा, सांस्कृतिक मञ्चलगायतका आधा दर्जन भ्रातृ संगठनहरुको पनि केन्द्रीय कार्य समिति निर्माण भएर क्रियाशील भएको थापाले बताए।

नेपाली जनताको सद्भावको कारण २०७० सालको संविधानसभाको चुनावमा कांग्रेस र कम्युनिष्टपछि राप्रपा नेपाल तेस्रो ठूलो पार्टीको रुपमा स्थापना भएको सम्झिँदै उनले संविधान जारी भएपछि केही गलत प्रवृत्तिहरुसित सम्झौता गर्न पुगेको जिकिर गरे।

विगतमा राजनीतिक बाटो बिराउँदा ०७४ सालको निर्वाचनमा निराशाजनक परिणाम पार्टीले भोग्नु परेको उनको भनाइ थियो। जसका कारण पछिल्लो पाँच वर्षसम्म राष्ट्रिय राजनीतिमा भूमिकाविहीन र महत्वविहीन अवस्थामा पुगेको विगतका त्रुटिहरु सच्याउँदै नयाँ सोच र नयाँ उत्साहका साथ राप्रपा नेपाललाई अघि बढाउने दाबी थापाको थियो।

‘छोटो समयमै जनताको सद्भावको कारण २०७० सालको संविधानसभाको चुनावमा कांग्रेस र कम्युनिष्टपछि राप्रपा नेपाल तेस्रो ठूलो पार्टीको रुपमा स्थापना भएको थियो’, उनले भने, ‘तर संविधान जारी भएपछि विगतमा राजनीतिक बाटो बिराउँदा ०७४ सालको चुनावमा हामीले निराशाजनक परिणाम भोग्नु प¥यो। अब नयाँ सोच र नयाँ उत्साहका साथ राप्रपा नेपाललाई पुनर्जागृत गरेका छौं।’

पार्टीले लोकतन्त्र, हिन्दू राष्ट्र, सुशासन र समृद्धिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखेको पत्रकार सम्मेलनमा थापाले खुलासा गरे। निर्वाचन आयोगमा पार्टीको चुनाव चिन्ह गाई नै माग गरे पनि आयोगले नदिएकोले पार्टीको नयाँ चुनाव चिन्ह तीर भएको उनले बताए।

अहिले पार्टीको सम्पूर्ण ध्यान आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको बताउँदै थापाले देशभरि नै स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने जिकिर गरे। उनले मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्जको मेयरमा पनि राप्रपा नेपालको तर्फबाट उम्मेदवार हुने बताए।

उनले स्थानीय तहको निर्वाचनमा केही पालिकामा राप्रपा नेपालले जीत हासिल गर्ने विश्वास पनि व्यक्त गरे।

पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुली, नेता राजाराम बर्तौलालगायतको उपस्थिति थियो।

चैत १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्