कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (मार्च २० देखि २६ सम्म)

तीव्र घटिरहेको कोरोनादरले कस्तो सन्देश दिँदै छ?

विश्वमा कोरोना संक्रमण निर्मूलीकरण हुँदै जाने क्रममा नेपालमा पनि हाल यस महामारी निकै न्यून र नियन्त्रित देखिन्छ। नेपाललगायत सम्पूर्ण दक्षिण एसिया हाल कोरोना प्यान्डेमिकबाट तंग्रिरहेको अवस्थामा देखिन्छ।

गत हप्ता अर्थात् यही मार्च २४ का दिनसम्म विश्वमा कोरोना संक्रमित ४८ करोड र यसबाट मृत्यु भएकाको संख्या ६१ लाख नाघेको छ।

त्यस्तै, हालसम्म दक्षिण एसियामा कोरोना संक्रमित ४ करोड ८५ लाख र यसबाट मृत्यु भएकाको संख्या ६ लाख १२ हजार नाघेको छ। त्यस अर्थमा दक्षिण एसियामा विश्वको कुल कोरोना संक्रमितको १०.२% र विश्वको कुल कोरोना मृत्यु दर १०% भेटिएको छ। हामी सबैले देखेको मात्र होइन, भोगेकै हो कि दक्षिण एसिया कोरोना प्यान्डेमिकको २–३ पटक केन्द्रबिन्दु नै बनेको थियो।

दक्षिण एसियाको सन्दर्भमा मार्च २४सम्म, भारतमा सबैभन्दा धेरै कोरोना संक्रमण ४३०१२००० देखिएको छ जुन दक्षिण एसियाको कुल संख्याको ८९% हुन्छ भने मृत्यु करिब ५१६०००, जुन ८४% हुन्छ । त्यस्तै, क्रमशः दोस्रो स्थानमा बंगलादेश पर्छ जहाँ हालसम्म १९५०८४६ संक्रमण र २९१७ कोरोना मृत्यु अर्थात् दक्षिण एसियाको कुल संख्याको ४% संक्रमण र ४.५७% मृत्यु देखिएको छ।

त्यस्तै, दक्षिण एसियामा, पाकिस्तानमा १५२२८६२ (३%)संक्रमण र ३०३३३ (५%) मृत्यु, नेपालमा ९७८२३१ (२%) संक्रमण र ११९५१ (२%) मृत्यु, श्रीलंकामा ६५९८५९ (१.५%) संक्रमण र १६४४० (२.५%) मृत्यु, अफगानिस्तानमा १७७१९१ (०.५%) संक्रमण र ७६५४ (१.२४%) मृत्यु, माल्दिभ्समा १७६४५८ (०.५%) संक्रमण र २९७ (०.०५%) मृत्यु र भुटानमा २२६२५ (०.०५%) संक्रमण र ९ (०.०५%) मृत्यु देखिएको छ।
विश्वको कुल कोरोना संक्रमण र मृत्यु संख्यासँग तुलना गर्दा भारतमा ९% र ८.५%, बंगलादेशमा ०.४% र ०.५%, पाकिस्तानमा ०.३% र ०.५%, नेपालमा ०.२% र ०.२%, श्रीलंकामा ०.१४% र ०.२७%, अफगानिस्तानमा ०.०४% र ०.१३%, माल्दिभ्समा ०.०४% र ०.००५% र भुटानमा ०.००५% र ०.०००१५% संक्रमण र मृत्यु देखिएको छ।

त्यस्तै, कोरोना मृत्यु दर हेर्ने हो भने विश्वको औसत मृत्यु दर १.२९% र दक्षिण एसियाको १.२६% रहेको छ। त्यस्तै, दक्षिण एसियाली देशमा सबैभन्दा उच्च कोरोना मृत्यु दर अफगानिस्तानमा ४.२१%, श्रीलंकामा २.५%, पाकिस्तानमा २%, बंगलादेशमा १.५%, भारतमा १.२%, नेपालमा १.२%, माल्दिभ्समा ०.१७% र भुटानमा ०.०४% छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्ड मिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर, आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठक समक्ष पुर्‍ याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ मार्च ९ देखि २३, कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न.१ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण तीव्र ओरालो लागिरहेको छ जुन करिब औसतमा ४०००–५००० भन्दा कम भएको छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा १०० भन्दा कम भएको छ।

 

चित्र न.२ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको प्रवृत्ति देखिएको छ भने भुटानमा अहिले पनि दैनिक संक्रमण भारतपछि दोस्रो उच्च स्थानमा छ।

 

त्यस्तै, चित्र न.३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु पनि घट्ने क्रममा देखिन्छ।

चित्र न.४ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको देखिन्छ।

गत हप्ता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून। अमेरिका र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखिएको छ भने जापान र दक्षिण कोरियाको संक्रमण दर अझै निकै उच्च छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ मार्च २० देखि २६ अर्थात् ०७८ चैत ६ देखि १२ गतेको नेपालभरिका दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साता चैत १२गते शनिबारसम्म देशभरि जम्मा १९३ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८३१७ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि २४९ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता १ रह्यो जुन दुई हप्ताअघि थियो। योसमेत नेपालको जम्मा कोरोना मृत्यु ११९५१ पुगेको छ। औसत मृत्यु दर पनि गत हप्ता ०.४१ रह्यो जुन दुई हप्ताअघि शून्य थियो।

गत हप्ता जम्मा २२५२५ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि २५६०८ थियो। गत हप्ता देशको कुल संक्रमणसंख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमणअनुपात ३६.६७% देखियो जुन दुई हप्ताअघि४३.८६% थियो।

नेपालको दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कतिजनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न. ६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको पवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.४३%देखि अधिकतम१.३८%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर०.८३% रह्योजुन दुई हप्ताअघि १.३४% थियो।नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै विस्तारै घट्दै गएका छन्। यद्यपि, हाल भुटानमा हालसम्मकै सबैभन्दा धेरै संक्रमण देखा परिरहेको छ र भुटानमा दक्षिण एसियामा भारतपछि दैनिक संक्रमण दोस्रो उच्च स्थानमा छ।

त्यस्तै विश्वमा दैनिक संक्रमणको तुलनामा दैनिक मृत्युमा हाल पनि त्यति धेरै सुधार भइसकेको देखिँदैन। यसले विश्वमा कोरोनाको जोखिम कायमै रहेको देखाउँछ।

गत हप्ता ०७८ चैत ६ देखि १२ गतेसम्म नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन । जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।
तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने हुन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

यसमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

चैत १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्