‘षट्कोण’को प्रदर्शन मिति वैशाख २३

काठमाडौँ– साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउने निर्माण टोलीले जनाएको छ।

चलचित्र निर्माण टोलीले फस्ट लुक सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्र कर्मालाई प्रस्तुत गरेको छ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्‌को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्री हुन्। उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन्। कोरोना महामारी अगाडि नै निर्माण भएको चलचित्रको सम्पूर्ण काम सकेर प्रदर्शन मिति घोषणा गरिएको निर्देशक काप्रीले बताए।

चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन्।

चलचित्रमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन छ। यो चलचित्रलाई वितरणको जिम्मा आरआर फिल्मस्‌ले लिएको छ।

चैत १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्