७० देशमा निर्यात हुन्छ गाँजाबाट बनेका सामान (भिडियो)

काठमाडौँ– वनजंगल तथा भीरपाखामा सजिलै उपलब्ध हुने रेसाजन्य बिरुवाको लोक्ता प्रशोधन गरेर बनेको धागोबाट आम्दानी हुन थालेपछि यसमा लाग्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ।

बझाङको सुनिकोटका गणेश ऐडीले आजभन्दा २४ वर्ष पहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा एउटा उद्योगको स्थापना गरी कपडा बुन्न थाले। संघर्ष गर्ने क्रममा २०६३ सालमा भने आफूले फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बुढानिलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ खोले।

गणेशको उद्योगमा हेम्प र अल्लोको जुत्तादेखि मोजा, ट्राउजर, पाइन्ट, सर्ट, कोट, झोलाहरु, स्लिपिङ ब्याग, योगा म्याट, ह्याट, मास्कलगायत सामान बन्छन्। उनीहरुले ग्राहकको अर्डरअनुसार पनि सामान बनाउने गरेका छन्।

आफ्नो उत्पादन करिब ७० देशमा पुग्ने गरेको गणेश बताउँछन्। उनी भन्छन्,‘राम्रै मूल्यमा गइरहेको छ। वार्षिक टर्नओभर पनि राम्रै देखिन्छ।’

७० देशमध्ये सबैभन्दा धेरै सामान जर्मनी निर्यात हुने गरेको उनले जानकारी दिए। त्यसपछि अमेरिका, स्पेन, ब्राजिल, जापान, कोरिया, चीन, फिलिपिन्स, थाइल्यान्ड तथा भारतलगायत देशमा पनि सामान निर्यात हुन्छ।

आफूले उद्योग स्थापना गरेको एक वर्षमै सामान विदेश निर्यात गर्न थालेको उनको भनाइ छ।

‘फरेष्ट्री हेम्प ब्याग उद्योग’का सामान नेपालका अन्य २७ वटा पसलहरुमा पनि सप्लाइ हुन्छ। जसमध्ये पोखरा, दाङ, रौतहट, बारा, झापालगायत ठाउँमा हेम्पका सामानहरु बढी जान्छन्।

गणेशका अनुसार विगत दुई वर्षदेखि भने कोरोनाले गर्दा व्यवसाय केही कम भएको छ। लकडाउनभन्दा अगाडिसम्म उनले १०५ जनालाई रोजगारी दिन्थे तर अहिले ३६ जनालाई रोजगारी दिएका छन्।

यहाँको उत्पादन अर्डर गर्नका लागि वेबसाइट हेम्प बजार नेपाल डटकम, हेम्प बजार नेपाल फेसबुक पेजमा मेसेज गर्न सकिन्छ।

हेम्पका धेरै सामान विदेशमा निर्यात हुने भएता पनि पछिल्ला दिनहरुमा नेपाली वस्तु नेपालमै प्रयोग गरौँ भन्ने आफ्नो संघको नारा भएकाले पनि नेपालमा नै बढी जोड दिएको गणेश बताउँछन्।

०००

गणेशका अनुसार नेपालका ४७ जिल्लामा गाँजा उत्पादन हुन्छ। १ लाख ८० हजार हेक्टर जमिन गाँजा उत्पादन गर्न सक्ने क्षमताको छ। तर अहिले १५ देखि २० प्रतिशत भूमि मात्र प्रयोगमा आइराखेको उनको भनाइ छ। गणेशका अनुसार दुई जिल्लामा उत्पादन भएको गाँजाले नेपालका ७७ वटै जिल्लाहरुलाई पुग्ने कपडा दिन सक्छ।

नेपालमा बेरोजगारी निवारण गर्नुपर्छ भनेर जति संघसंस्था बने पनि उनीहरुले केही नगरेको गुनासो छ उनको। भन्छन्,‘उनीहरुले बढ्दै गरेको गरिबी तथा बेरोजगारीलाई न्यूनिकरण गर्ने, विदेशिन लागेको श्रमलाई रोक्ने भन्छन् मात्र। तर खास काम केही पनि हुन सकेको छैन। कागजमा लेखेर मात्र यी कुराहरु कार्यान्वयन नहुने उनको तर्क छ।

गणेश भन्छन्,‘संघ संस्था सबैलाई भन्छु तपाईंहरुले काम गर्नु पर्दैन। काम गर्ने प्रशासनिक आइडिया मात्र दिए पनि पुग्छ।’

जनताले जनताकै लागि काम गर्ने बताउँछन् गणेश। भन्छन्, ‘एक गाउँको जनताले अर्को गाउँको जनतालाई चाहिने सामान उत्पादन गर्ने हो। मार्केट आफैमा छ। उत्पादन आफैमा छ। हामीले गर्न नजानेका हौँ।’

‘समाजलाई उकास्नका लागि समाजलाई नै प्रयोग गर्नुहोस्। समाजको साहु खोज्न जाने जुन प्रचलन छ, त्यसलाई परिवर्तन गरेर साहु बन्ने दिमाग दिँदा नेपाली जनतालाई पुग्छ जस्तो लाग्छ मलाई,’ उनले थपे।

यस्ता विषयलाई लिएर केन्द्रबाट नियम बन्नुभन्दा पनि प्रत्येक स्थानीय निकायलाई जिम्मेवारी दिन जरुरी रहेको उनी बताउँछन्। यदि जनताले यसबारे थप सिक्न चाहेमा आफूले सदैव साथ दिने उनको भनाइ छ। गणेश भन्छन्,‘यदि तपाईं केही गर्न चाहनुहुन्छ भने म सल्लाह सुझाव दिन तयार छु। मैले लगानी त इन्भेस्ट गर्न सक्दिनँ तर आइडिया चाहीँ इन्भेस्ट गर्न सक्छु।’

सरकार जनताको भावनाअनुसार चल्नु पर्ने भएता पनि गाँजालाई लिगल नगरेकोमा भने गुनासो छ उनको। उनी भन्छन्,‘ हेम्प त महादेवको पालादेखि नै चलिआएको कुरा हो। सरकारले यसलाई बन्देज लगाउनुभन्दा खुलाउनु राम्रो हो।’

गणेश भन्छन्, ‘कर कम लिएर सरकारलाई गरिब बनाउँ भन्ने मेरो धारणा छैन। उपयुक्त कर लिनुस् तर सुविधा के? विजुली पुगेन कि, जमिनको अभाव छ कि? सरकारी जमिनमा नेपाली वस्तुहरु राख्ने एउटा मार्केट क्रिएसन गर्ने कि? यस्ता कुरामा राज्यको ध्यान जान जरुरी छ।’

उनका अनुसार नेपाली बस्तुको मूल्य विदेशीको भन्दा सस्तो हुन्छ। तर नेपाली उत्पादन थोरै बिक्ने हुँदा महँगो लागेको उनी बताउँछन्। गणेश थप्छन्,‘जब नेपाली वस्तु बढी बिक्छ, चाइनिजभन्दा सस्तो हुन्छ।’

राज्यले नेपाली वस्तुको प्रशस्त उत्पादनको वातावरण बनाएमा यसको मूल्य आफै घट्ने उनको भनाइ छ। साथै राज्यले उद्योगीहरुको लागि वैकल्पिक लोन पनि प्रवाह गर्नुपर्ने गणेश बताउँछन्।

उनी थप्छन्, ‘अहिले पनि हामीले १० लाख जति माग गरेका छौँ। सरकाले त्यतिसम्म लोन दियो भने यो समस्या समाधान हुन्छ।’

०००

बझाङको सुनिकोटमा जन्मिएका गणेश २०४६ सालको आन्दोलनताका आफू पढेको स्कुलको प्रतिनिधित्व गर्दै हाजिरिजवाफ प्रतियोगितामा भाग लिन काठमाडौँ आएका थिए।

उनी भन्छन्,‘त्यतिबेला म अन्दाजी १४ वर्षको थिएँ जस्तो लाग्छ। ७ कक्षा पढ्दै गर्दा सत्यवादी स्कुलको प्रतिनिधित्व गर्दै आएको थिएँ।’

त्यतिबेला उनले गाँजाको चार मिटर कपडाको टुक्रा साथीका लागि ल्याइदिएका थिए। तर उनले ती साथीलाई भेटेनन्।

तर एकदिन हनुमानढोकामा उनीहरुको भ्रमणको कार्यक्रम हुँदा उनले बोकेको त्यो कपडाको टुक्रा एक जर्मनी नागरिकले मन पराए। गणेश थप्छन्,‘उसले यो बेच्ने हो भन्यो, मैले पनि हो भनिदिएँ।’

त्यतिबेला त्यस कपडाको ३० रुपैयाँ पर्थ्यो तर साथीलाई दिन ल्याएको कपडा किन बेच्ने भनेर उनले १०० रुपैयाँ भनिदिए। तर ती जर्मनी नागरिक १०० डलर दिन राजी भएपछि उनले बेचिदिए। त्यतिबेला १०० डलर साट्दा उनले २८ सय रुपैयाँ पाएका थिए। उनको मनमा यो कुरा गढिरह्यो। उनी थप्छन्,‘त्यतिबेला नै मैले सोचेँ– यो सामान विदेशमा बिक्री हुने रहेछ। म यसमै केही गर्छु।’

२०५३ सालमा उनले स्कुल छोडे र एक/डेढ वर्ष इलेक्ट्रोनिक सम्बन्धी काम सिके। त्यसपछि फेरि भारत गए र तालिम लिए। पछि नेपाल फर्किसेकपछि उनी बेलाबेलामा काठमाडौँ आउन थाले।

त्यस्तै क्रममा उनले गाउँका गाँजा तथा अल्लोका कपडाहरु ल्याएर कानमा झुण्डाउँदै बसन्तपुरमा बेच्न सुरु गरे। जतिबेला डलर साटेर उनले नेपालीमा धेरै रुपैयाँ पाए, त्यो नै आफ्नो पहिलो ‘लालच’ भएको उनी बताउँछन्। गणेश भन्छन्, ‘हुन त लालच नभइ विजनेश हुँदैन।’

गणेशकै संयोजकत्वमा २०५७ सालमा ‘राष्ट्रिय अल्लो उद्यमी संघ’ गठन भयो। र नेपाल सरकारमा दर्ता नगरेरै उनीहरुले करिब १० वर्ष संघको वृत्तिविकासमा ध्यान दिए।

उक्त संघबाट पनि अल्लो र गाँजाको थप प्रचार भयो। हालसम्म दर्ता भएका १९० वटा उद्योग तथा दर्ता नभएका कम्तिमा ४०० उद्योग छन्।

अबको उनको पहिलो योजना भनेको ‘राष्ट्रिय अल्लो उद्यमी संघ’मा धेरैभन्दा धेरै सदस्य बनाउने हो। यस्तै, अर्को भनेको अहिले उक्त संघमा ४०० वटा उद्योगहरु रहेकोमा अब कम्तिमा दुई हजार उद्योगहरु बनाउने गरी अघि बढ्ने हो।

उनले जीवनमा हार कहिले पनि खाएनन्। आफ्नो सीपलाई विदेशमा समेत चिनाउने सपना बोके। तर उनले त्यतिबेला झोला बनाएर विदेशमा बेच्छु भन्दा कतिपयले पागलको संज्ञा दिए।

जतिबेला उनले सुरु गरेका थिए, त्यतिबेला गाँजा र अल्लोका २–३ वटा मात्र घरेलु उद्योगहरु थिए। तर थोरै पूँजीमा पनि लगानी हुने भएपछि विस्तारै मानिसहरुमा यसको आकर्षण बढ्दै गएको छ।

कसरी बन्छ गाँजाबाट कपडा?


गाँजाको कपडा तयार पार्न ११ वटा प्रक्रिया पार गर्नुपर्ने गणेश बताउँछन्। उनका अनुसार गाँजाको बोटमा तीन प्रकारको ‘बडी’ हुन्छ। एक भित्री काठ हुन्छ र अर्को बाहिरी बोक्रा हुन्छ। त्यो बीचमा बसेको रेसा हुन्छ। त्यसलाई प्राकिृतिक गमले एकापसमा टाँसेको हुन्छ।

रेसालाई छुट्याउनु पर्छ। गाँजाको हड्डी वा काठबाट त्यो फाइबरलाई बाहिर निकाल्नु पर्छ। त्यसको लागि पहिला भाङ्‌रोलाई काट्ने र काटिसकेपछि राम्ररी सुकाउनु पर्ने उनी बताउँछन्।

सुकाइसकेपछि त्यसलाई फेरि ४८ घण्टा पानीमा भिजाउने र पानीमा भिजाइसकेपछि गमजति गलेर लिक्वीडमा परिवर्तन हुन्छ। त्यसपछि फेरि त्यसलाई भाँचेर अथवा चिरेर सजिलैसँग बोक्रा निकालिन्छ। बोक्रा निकालिसकेपछि त्यसलाई तुरुन्त पकाउने या कुट्ने गर्नुपर्छ। अथवा त्यसलाई स्टोरेज गर्नुछ भने हाइ स्टेजको लागि राम्रोसँग सुकाउनु पर्ने हुन्छ।

त्यो सुकाइसकेपछि जतिबेला आफूले चाह्यो त्यतिबेला पुनः भिजाएर काम गर्न सकिने गणेश बताउँछन्। त्यसपछिको प्रक्रिया भनेको फाइबरलाई कम्तिमा २–३ घण्टा भिजाउने। भिजाइसकेपछि कास्टिङ सोडामा केमिकल हालेर पकाउने।

ताउलीमा १० लिटर पानी राखिसकेपछि त्यसमा आधा किलो कास्टिङ सोडा राखेर हेम्प वा अल्लोको फाइबर चार किलो राखेर पकाउन पनि सकिन्छ, या त त्यो पानीमा राम्रो किसिमको दुई किलो सेतो खरानीलाई राम्ररी घोलेर भिजाएको अल्लो चार किलो पकाउने गर्दा पनि हुन्छ।

तर त्यो पकाउँदाखेरि खरानीमा भएको भयो भने कम्तिमा ८ घण्टा पकाउनु पर्ने हुन्छ भने जुन यो केमिकल कास्टिङ सोडामा पकाउनु पर्दा ४ घण्टामा राम्ररी पाक्छ।

पाकिसक्दा रेसा एक आपसमा छुट्टिएको हुनुपर्छ। र त्यसलाई खोलामा लगेर पानीमा कुट्दै बोक्रा र फाइबर छुट्याइन्छ। राम्ररी कुटिसकेपछि र पखालिसकेपछि अझै पनि केही मात्रामा त्यसमा गम रहन्छ। त्योलाई छुटाउनका लागि त्यसलाई कमेरो माटोमा मुछिन्छ।

कमेरो माटोले रेसामा भएको गमलाई आफूले सोसिदिन्छ।र माटोमा मुछेर माटोसँगै रेसालाई सुकाइन्छ। त्यसलाई लठ्ठीले कुटिसकेपछि पाउडर भएर माटोसहित बाहिरको बोक्राहरु निस्कन्छ। र राम्रो फाइबर निस्किन्छ। अन्तिममा त्यसलाई मान्छेले आ–आफ्नो तरिकाले चर्खामा या मेसिनमा धागो कातेर त्यसको धुलो बनाउन सक्छन्।

चैत १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्