आमाको मृत्युले क्यान्सर रोग विशेषज्ञ बनेका डाक्टर (भिडियो)

डाक्टर भएर आमाको सपना पूरा गरेका छन्, उनले। क्यान्सरका हरेक बिरामीलाई उपचार गरिरहँदा उनी आफ्नी आमाको स्वरुप पाउँछन्।

आमाले पनि समयमै उपचार पाएको भए निको हुने थिइन् भन्ने उनलाई लागेको छ। आमालाई बचाउन नसके पनि आमाजस्तै कैयौँ बिरामीलाई बचाउनुको श्रेय आमालाई दिन्छन्, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल।

२०१८ सालमा काठमाडौँको नक्सालमा जन्मिएका डा. बरालको स्कुलदेखिकै सपना थियो ‘डाक्टर’ बन्ने। तर, केको डाक्टर बन्ने उनलाई त्यतिबेला पत्तो थिएन। विस्तारै बुझ्दै गए। पढ्दै गए। उनलाई नाक, कान, घाँटीमा विशेषज्ञता हासिल गर्न मन थियो। डाक्टर बने पनि नाक, कान, घाँटीकै बन्छु भन्ने सोच उनको थियो।

तर, आमाको निधले उनको सोचाइमा परिवर्तन ल्यायो। नाक, कान घाँटी छाडेर उनी क्यान्सरतिर मोडिए।

आमाको मृत्यु
डा. बरालले ०२४ सालदेखि सिफलस्थित हिमालय विद्यामन्दिरमा ७ कक्षासम्म पढे। उनी पढिरहेको स्कुल हाईस्कुल नभएका कारण ८ कक्षाबाट सिद्धार्थ वनस्थली स्कुलमा भर्ना भए।

०३४ सालमा सिद्धार्थबाटै एसएलसी उत्तीर्ण गरे।

डाक्टर बन्ने सपना बोकेका उनी आइएस्सी पढ्न अमृत साइन्स क्याम्पस पुगे।

तर, ०३६ सालमा जनआन्दोलन सुरु भयो। छोराको पढाइमा समस्या हुने देखिएपछि डा. बरालको परिवारले उनलाई पढ्न बनारस पठायो। त्यो बेला ६–६ महिनामा जाँच हुन्थ्यो। बोर्ड परीक्षा नजिकिँदै थियो। उनी बिरामी परे। परीक्षा दिन नसक्ने भएपछि डा. बराल काठमाडौँ फर्किए।

घरमा केही समय आराम गरेर उनी बनारस फर्किने तयारी गर्दै थिए। त्यसै बेला उनकी आमा बिरामी परिन्। घरको जेठा थिए उनी। आमाको जिम्मेवारीले उनलाई बनारस फर्किन दिएन। घरमै बसेर आमाको स्याहार गर्न थाले।

त्यतिबेला सबै रोगका डाक्टर नेपालमा उपलब्ध थिएनन्। उपचारका क्रममा उनकी आमालई ब्लड क्यान्सर भएको पत्ता लाग्यो। उतिबेला बिरामीलाई क्यान्सर भएको भनिँदैनथ्यो। डा. बरालको परिवारले पनि क्यान्सर भएको जानकारी दिएन। उनलाई मधुमेह भएको भनियो।

आमाको उपचारका लागि उनीहरूले विभिन्न उपाय खोज्न थाले। बैंककबाट केमो मगाइयो। केमो नेपाल पुगेपछि उनको उपचार सुरु गरियो। बैंककबाट ल्याएको केमो थेरापी यहाँ एक जना डाक्टरले चढाउन थाले। तर, उनी क्यान्सर विशेषज्ञ भने थिएनन्।

आमाको स्वास्थ्यमा सुधार हुनुको साटो स्वास्थ्यस्थिति झन्–झन् खस्किँदै गयो।

एक दिन डा. बराललाई आमाले भनिन्, ‘मलाई क्यान्सर भएको छ। तिमीहरू मलाई कुरा लुकाइरहेका छौ।’

डा. बरालले आमालाई मधुमेह नै भएको बताए।

आमाले डा. बराललाई नजिक बोलाइन्। र भनिन्, ‘तिमीले मेरो एउटा इच्छा पूरा गरिदिन्छौ?’

डा. बरालले आँसु झार्दै आमालाई सोधे, ‘के इच्छा आमा भन्नुस् न?’

‘तिमी डाक्टर बन्नुपर्छ’, यति भन्दै गर्दा बरालले हुन्छ आमा भन्न पनि नभ्याउँदै आमाले प्राण त्यागिन्। त्यो क्षण सम्झिँदा डा. बराललाई अहिले पनि कुनै सिनेमाको दृश्यभन्दा कम लाग्दैन।

०४० सालमा आमाको मृत्यु भयो।

आमाको हेरचाह गर्न पढाइ नै छाडेर बसेका उनको न पढाइ पूरा भयो न त आमा नै बाँचिन्। ‘डाक्टर बन्नू’ भन्दाभन्दै प्राण त्यागेकी आमाको इच्छा डा. बराललाई जसरी पनि पूरा गर्नु थियो। जसकारण बीचमै रोकिएको पढाइ सुरु निर्णय गरे उनले। आफूभन्दा जुनियरसँग उनी त्रिचन्द्र क्याम्पसमा भर्ना भए।

र, फेरि आइएस्सी पढ्न थाले।

त्यसपछि उनले भारतको इलाहावादबाट एमबीबीएस गरे।

त्यसपछि ‘इन्टर्न’का लागि विद्यार्थी अस्पताल आफैँले रोज्न पाउँथे। उनले वीर अस्पताल रोजे र त्यहीँ ‘इन्टर्न’ गरे।

उनलाई जसरी पनि क्यान्सर रोग विशेषज्ञ बन्नु थियो। डा. अञ्जनीकुमार शर्मासँग काम गर्न मन लागिरहेको थियो। काम गरेर रिझाउन सके क्यान्सर रोगमा विशेषज्ञता हासिल गर्न सकिन्छ भन्ने डा. बराललाई लागेको थियो। डा. शर्मा त्यो बेला अर्बुद रोग निवारण संस्थाको अध्यक्ष थिए।

त्यही क्रममा डा. बरालले डा. शर्माको अन्नपूर्ण नर्सिङ होममा काम गर्ने मौका पाए। आफू जसरी पनि क्यान्सर रोग विशेषज्ञ बन्ने इच्छा डा. बरालले डा. शर्मालाई सुनाए। त्यो बेला डा. शर्माको भारतको टाटा मेमोरियल अस्पतालसँग राम्रो सम्बन्ध थियो। उनीहरू आउने–जाने गर्थे।

त्यसै क्रममा डा. शर्माले टाटा मेमोरियल अस्पतालबाट आएका डाक्टरसँग डा. बरालको चिनजान गराइदिए। डा. बरालले उनीसामु आफ्नो पढ्ने इच्छा व्यक्त गरे। तर, विदेशीका लागि कोटा नभएको डा. बराललाई उनले बताए।

एक पटक डा. बराललाई टाटामा गएर पढ्ने सपना अधुरै रहने भयो भन्ने नलागेको पनि होइन। तर, उनका लागि कलेजले परीक्षा दिन मिल्ने व्यवस्थापन गरिदियो। जाँच दिए। दोस्रो नम्बरमा नाम निकाले।

र, टाटामा क्यान्सर विशेषज्ञताका लागि पढाइ सुरु गरे।

आमालाई औषधिको ओभर डोज
टाटा मेमोरियलमा अध्ययन गर्दै गर्दा उनले थाहा पाए। आमाको मृत्यु रोगले भन्दा पनि केमो थेरापीको ओभर डोजले भएको रहेछ। उनी छाँगाबाट खसेझैँ भए।

त्यही बेला उनलाई लाग्यो, आमाजस्तै कैयौँ बिरामीको ओभर डोजकै कारण मृत्यु हुने गरेको होला !

‘७–५ सय मिलीग्रामभन्दा बढी हामीले जिन्दगीभर बिरामीलाई केमो दिन पाउँदैनौँ। मेरी आमालाई केमो सुरु गरेको पहिलोदेखि ९ दिनसम्म प्रत्येक दिन ७ सय एमजी दिइएको थियो’, डा. बरालले भने, ‘७ सय एमजीभन्दा माथि भयो भने मुटु फुट्छ। केमो धेरै भयो भने मुटुलाई असर गर्छ। त्यसैले आमा केमो थेरापीको ओभर डोजले बित्नुभएको हो।’

यसलाई परिवर्तन गर्नुपर्छ। एउटा सिस्टम हुनुपर्छ भन्ने डा. बरालले सोचे। उनी आफँैले केमो थेरापी मिक्सिङ गर्न थाले। आफूले मात्र गरेर भएन। अरूलाई पनि सिकाउन थाले। अन्य चिकित्सकबाट पनि त्यो गल्ती नहोस् भन्ने हेतुले स्वास्थ्यकर्मीलाई तालिम दिए।

उनले भने, ‘मेरी आमामाथि जुन गल्ती भएको थियो। त्यो अरू कसैमा पनि हुनु हुँदैन भन्ने सोचेर आफैँले केमो बनाउन थालेँ। र, अरूलाई पनि सिकाएँ। अहिले सबै ठाउँमा डाक्टर–नर्सले केमोथेरापी मिक्सिङ गर्छन्। केमोथेरापी कम भयो भने काम गर्दैन र धेरै भयो भने विष हुन्छ। त्यसैले बिरामीको हाइट, तौलअनुसार सबै कुरा हेरेर मात्र डोज दिनुपर्ने हुन्छ।’

विशेषज्ञता हासिल गरेपछिको काम
टाटाबाट पाँच वर्षको पढाइ पूरा गरेर उनी नेपाल फर्किएर बीएन्डबी अस्पतालमा काम सुरु गरे। बीएन्डबीमा काम गर्दै थिए, उनी भक्तपुर क्यान्सर अस्पताल स्थापना भयो। यो अस्पतालमा उनले करिब २२ वर्ष काम गरे। त्यही बीचमा अस्पतालको निर्देशक भएरसमेत काम गरे।

अहिले डा. बराल नर्भिक अस्पताल र ओम अस्पतालमा कार्यरत छन्।

यसबाहेक उनी क्यान्सरसँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध छन्।

डाक्टरी यात्रा

डा. बरालले धेरै क्यान्सर बिरामीको उपचार गरे। उनले उपचार गरेका अधिकांश निको भएर सामान्य जीवनमा फर्किएका छन्। कति डाक्टर नै बनिसकेका छन्।

आफूले उपचार गरेका बिरामी निको भएर जीवन बिताइरहेको देख्दा डा. बराललाई अत्यन्त खुसी मिल्छ।

‘काम सुरु गर्ने बेला उपचार गरेका कतिपय बिरामी डाक्टर बनिसकेका छन्। उनीहरू पनि क्यान्सर रोग विशेषज्ञ बन्न चाहन्छन्। यो देख्दा अत्यन्तै खुसी लाग्छ’, डा. बरालले भने।

आमासँगै परिवारका अरूलाई क्यान्सर
क्यान्सरको उपचार समयमै नपाउँदा डा. बरालकी आमा बितिन्। डा. बरालका बुवालाई पनि क्यान्सर भएको थियो। उनको गत वर्ष मृत्यु भएको थियो।

डा. बरालको परिवारमा धेरैलाई क्यान्सर भयो। कतिले ज्यान गुमाए। कति निको भइसकेका छन्।

उनले भने, ‘क्यान्सर भन्न त वंशाणुगत भनिन्छ। फुपू, काका, काकी, दाइलगायत आफन्त ५५–६० जनालाई क्यान्सर भइसकेको छ। धेरैजसो अहिले ठीक हुनुहुन्छ। कोही बित्नुभयो। कुन स्टेजमा पत्ता लाग्यो। कस्तो प्रकारको क्यान्सर थियो। त्यो फरक कुरा हो। तर, धेरै जनालाई भएको पक्कै पनि हो।’

आफू क्यान्सर रोग विशेषज्ञ भइसकेपछि परिवारमा क्यान्सर देखिए पनि डा. बरालले नै उपचार गर्दै आइरहेका छन्। उनी हरेक क्यान्सरको उपचार नेपालमै सम्भव भएको बताउँछन्।

परिवारका कसैलाई पनि उपचारका लागि विदेश पठाएका छैनन् उनले।

उनले भने, ‘पहिला क्यान्सरको उपचार नेपालमा सम्भव थिएन। जसले गर्दा बिरामी उपचारका लागि बाहिर जानुपर्ने बाध्यता थियो। तर, अहिले त्यो अवस्था छैन। हरेक प्रकारको उपचार यहीँ हुन्छ।’

श्रीमतीको साथ
डा. बरालले श्रीमतीको सहयोगलाई कुनै पनि कुरासँग तुलना गर्न नसिकने बताए। डा. बरालकी श्रीमतीले सुरुदेखि नै उनलाई हौसला दिँदै आएकी छन्। कहिल्यै पनि डा. बरालले गुनासो सुनेका छैनन् उनीबाट।

सानो हुँदा कहिलेकाहीँ छोराछोरीलाई समय दिन नसकेको गुनासो उनले नसुनेको पनि होइन। अहिले छोराछोरी आफँै मेडिकल फिल्डमा प्रवेश गर्दै गर्दा बुवाको व्यस्ततालाई राम्रोसँग बुझेका छन्।

‘कुनै पनि मानिसले परिवारको सपोर्टबिना केही पनि गर्न सक्दैन’, भावुक हुँदै डा. बरालले भने।

चैत १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्