व्यवसायीकाे आन्दाेलन फिर्ता,  पेट्रोलियम पदार्थकाे बिक्री वितरण सहज हुने

फाइल तस्बिर

काठमाडौँ – नेपाल आयल निगमले कमिसन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्। योसँगै आइतबार बिहानदेखि सम्पूर्ण डीपो सञ्चालनमा आउने भएका छन्।

पछिल्लो समय इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिसन रोकेको थियो।

तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको हो। नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच ७ दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो।

सहमतिपत्रमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता कमिसनसम्बन्धी र बुँदा नं ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भयो। पेट्रोलियम पदार्थका उपभोक्ताहरुलाई सहज र सरल ढंगले पेट्रोलिम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डीपो आइतबार बिहान ८ बजेबाट सञ्चाल गरिने छ।’

चैत २०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्