मलाई त भ्युटावर दुख्यो!

कति हाँसे, रमाए भ्युटावरमा!
तर मलाई चढ्दै नचढी
र जाँदै नगई
कुरा सुन्दा र फोटो देख्दै
भ्युटावर दुख्यो!
भ्युटावर चस्कियो!!
म विकास विरोधीचाहिँ होइन
सक्दा र प्राथमिकतामा पर्दा
आवश्यकता हुँदा र देखिँदा
गाउँपिच्छे र वस्तुपिच्छे
बनाए हुन्छ भ्युटावर तर
अहिले हावा दूषित छ—
खानेपानी छैन
औषधि–मुलो र अस्पताल छैन
शौचालय छैनन्
स्कुलका छाना छैनन्
रोजगारी छैन
र कसरी मन पराऊँ
त्यो रमिते भ्युटावर?
अहिले त मलाई आत्माहरू जोड्न
हिमाल, पहाड र तराई जोड्ने
बाटाहरु चाहिएको छ
जनता, बुझ्ने, पढ्ने र सँगै बस्ने
नेताहरू चाहिएको छ
भ्युटावरमा चढेर गफ दिने होइन
र हात हल्लाउने होइन,
जनताको दुःखमा हातेमालो गर्ने
नेता चाहिएको छ।
तिम्रो निजी रहर र लहडमा
जनताका आवश्यकता
र प्राथमिकता साट्यौ,
जनतासँग न त भ्युटावर बनाउने
पैसा थियो !
न त यसमा चढ्न
टिकट काट्ने पैसा नै छ !
अहिले त,
मेरा पहाडका टाकुर
थुम्का, ठुल्ठूला ढुंगा
र अग्ला रूखहरू नै
मेरो भ्युटावर हुन्,
बाँच्ने र बचाउने रोजगारी
सीप, ज्ञान र कला
बाटाघाटा, पुल र सिँचाइ
गरिबका आवश्यकता र प्राथमिकता
मैले बुझेको त यही हो
त्यसैले मलाई
तिम्रो भ्युटावर दुख्यो
र चस्कियो पनि।