सन् २०२२ मार्च २७ देखि अप्रिल २ अर्थात् ०७८ चैत १३ देखि १९ गतेसम्म

नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

विश्वमा कोरोना संक्रमण र प्यान्डेमिक पछिल्लो अवस्थामा शान्त हुँदै जाने क्रम जारी छ। अघिल्लो लहरको बेला विश्वमा दैनिक ४० लाखजति संक्रमण देखिने गरेकोमा हाल यो संख्या आधाभन्दा कम भइसकेको छ। तथापि यो संख्या पहिलाका लहरभन्दा अझै पनि धेरै देखिन्छ।

त्यस्तै, विश्वमा दैनिक कोरोना मृत्यु पनि पछिल्लो समय निकै कम भएको छ जुन हालसम्मका लहरमध्ये सबैभन्दा कम भएको छ। हाल विश्वको दैनिक कोरोना मृत्यु ३०००–६००० जतिमा झरेको छ जुन पहिलाका लहरमा न्यूनतम ५००० भन्दा अधिक हुने गरेको थियो।

पछिल्लो अवस्थामा विश्वको कोरोना संक्रमणको केन्द्र बिन्दु पश्चिमी प्यासिफिक क्षेत्र बन्दै आएको छ। यस क्षेत्रका देशजस्तै जापान, कोरिया, पूर्वी चीन, भियतनाम, अस्ट्रेलिया, न्युजिल्यान्ड आदिमा यही जनवरीको सुरुवातीदेखि संक्रमण तीव्र र अत्यधिक बढ्ने क्रम सुरु भई हाल पनि निरन्तर देखिन्छ।
त्यस्तै, पश्चिमी युरोपका कैयौँ देशमा हाल पनि कोरोना संक्रमण अत्यधिक देखिँदै आएको छ, जस्तै स्क्यान्डिन्यभिएन र अन्य देश डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड, नेदरल्यान्ड, जर्मनी, फ्रान्स आदि।

यसरी पछिल्लो अवस्थामा कोरोना प्यान्डेमिकको विश्वमानचित्रमा पश्चिमी प्यासिफिक क्षेत्रमा करिब आधा र युरोपमा करिब आधा दैनिक संक्रमण देखिने गरेको छ। अमेरिकी क्षेत्र हाल केही शान्त देखिन्छ।

त्यस्तै, दैनिक कोरोना मृत्यु हेर्ने हो भने युरोपमा हाल पनि, संख्या धेरै नभए पनि, सबैभन्दा धेरै मृत्यु देखिएको छ, विश्वको एक तिहाई ३३%। त्यस्तै, अमेरिकी क्षेत्रमा ३०%, पश्चिमी प्यासिफिकमा २०% र बाँकी अन्यत्र देखिएको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्।

जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर, आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको यथार्थ चित्र पाठकसमक्ष पुर्‍याउनु हो। विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२ मार्च १६ देखि २३, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।


चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण तीव्र ओरालो लागिरहेको छ जुन करिब औसतमा ३०००–४०००भन्दा कम भएको छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा १०० भन्दा कम भएको छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको प्रवृत्ति देखिएको छ भने भुटानमा अहिले पनि दैनिक संक्रमण भारतपछि दोस्रो उच्च छ।

त्यस्तै, चित्र न. ३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु पनि घट्ने क्रममा देखिन्छ।

चित्र न. ४ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्वविद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार, साप्ताहिक औसत संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर स्थिर र ओरालो लागेको देखिन्छ। गत हप्ता माल्दिभ्सको औसत दैनिक संक्रमण दर दक्षिण एसियामा सबैभन्दा उच्च देखियो भने भारतको सबैभन्दा न्यून। अमेरिकामा र बेलायतमा पनि गत हप्ता दैनिक संक्रमण दर केही स्थिर देखिएको छ भने जापान र दक्षिण कोरियाको संक्रमण दर हाल पनि अझै निकै उच्च छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ मार्च २७ देखि अप्रिल २ अर्थात् ०७८ चैत १३ देखि १९)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. ५मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, चैत १९गते शनिबारसम्म, देशभरि जम्मा १३५ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८४५२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १९३ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता शून्य रह्यो जुन दुई हप्ताअघि १ थियो। यो समेत नेपालको जम्मा कोरोना मृत्यु ११९५१ पुगेको छ। औसत मृत्यु दर पनि गत हप्ता शून्य रह्यो जुन दुई हप्ताअघि ०.४१ थियो।
गत हप्ता जम्मा २५४१६ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि २२५२५ थियो।

गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमणअनुपात ३०.७% देखियो जुन दुई हप्ताअघि ३६.६७% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.६ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.२९%देखि अधिकतम०.६९%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.५४% रह्यो जुन दुई हप्ताअघि ०.८३% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै विस्तारै घट्दै गएका छन्। यद्यपि, भुटानमा हाल पनि दक्षिण एसियामा भारतपछि सबैभन्दा धेरै दैनिक संक्रमण देखा परिरहेको छ। त्यस्तै, त्यहाँ कोरोना मृत्यु पनि फाटफुट देखिने क्रम जारी छ। त्यस्तै, पश्चिमी प्यासिफिक क्षेत्र र पश्चिमी युरोपी क्षेत्रमा पनि हाल कोरोना संक्रमण र मृत्यु अत्यधिक देखा परिरहेका छन्।

यसले विश्वमा कोरोनाको जोखिम हाल पनि कायमै रहेको देखाउँछ। गत हप्ता (चैत १३ देखि १९), नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो।जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

चैत २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्