देउवा हिन्दू धर्मको एजेण्डामा लचक भएको आशंका

प्रधानमन्त्री देउवा भाजपा कार्यालय जानुको अर्थ के?

भारतीय जनता पार्टी कार्यालयमा भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग प्रधानमन्त्री शेरबहादुर र मन्त्रीहरु। तस्विर : रासस

प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्।

काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको कार्यालय गएको विषयले राजनीतिक तथा कूटनीतिक क्षेत्रमा बहस सिर्जना गरेको छ।

देउवा नेपाल नफर्किँदै कूटनीतिक क्षेत्रका जानकारहरुले ओहोदाको मर्यादाविपरीतको काम भनी टिप्पणी गरेका छन्। नयाँदिल्लीस्थित भाजपा पार्टी कार्यालयमा अध्यक्ष जेपी नड्डाको आमन्त्रणमा देउवा त्यहाँ पुगेका थिए।

विपक्षी कंग्रेसका कुनै पनि नेतासँग भेटघाट नगरेका प्रधानमन्त्री देउवा परम्परा र पदीय मर्यादा विपरीत कुनै पनि दलको पार्टी कार्यालयमै पुगेको यो पहिलो घटना हो।

प्रधानमन्त्री देउवाको बिजेपी कार्यालय पुगेको विषयले कांग्रेसभित्रै पनि सहज रुपमा लिइएको छैन। बिजेपी पार्टी कार्यालय गएर प्रधानमन्त्री देउवाले दुई पार्टीबीचको सम्बन्धलाई अझ बढी महत्व दिन खोजेको बुझिन्छ। गत भदौ पहिलो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा काठमाडौँ आएका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले देउवालाई बालुवाटार पुगेर भेट गरेका थिए।

त्यसबखत प्रधानमन्त्री पत्नी आरजु राणाले चौथाइवालेलाई राखी बाधिदिएर भातृत्व र निकट सम्बन्धको आभास गराएकी थिइन्। त्यसकै निरन्तरता स्वरुप देउवा पत्नी आरजुसँगै भाजपा कार्यालयमा पुगेको बताइन्छ।

योसँगै बिजेपीसँगको निकटताले प्रधानमन्त्री देउवा पनि हिन्दू धर्मप्रति लचक भएका त होइनन् भन्ने प्रश्न उब्जेको छ। तीन वर्षअघि काठमाडौँमा भएको महासमिति बैठकमा आठ सय प्रतिनिधिले संविधानमा भएको धर्मनिरपेक्षलाई संशोधन गरेर हिन्दू धर्ममा फर्किनुपर्ने लिखित प्रस्ताव पेश गरेका थिए।

छलफल नै नगरी पन्छाइएको उक्त प्रस्तावप्रति सभापति देउवा सकारात्मक भएका त होइनन् भन्ने चासो बढेको छ। विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले हिन्दूत्वकै नारा लगाएर राजनीति अघि बढाउने संकेत दिइरहेका छन्।

रामको जन्मभूमि अयोध्या नभएर चितवनकै माडी भएको बताउने ओलीले आफ्ना सार्वजनिक भाषणहरुमा हिन्दू र वैदिक विषयहरुलाई जोड्दै आएका छन्। ओलीले हिन्दू धर्मको साहरामा राजनीतिक दुनो सोझ्याउन थालेपछि देउवा पनि चुप बस्नु हुन्न भन्ने निष्कर्षमा पुगेका हुन सक्छन्।

प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्।

सोमबार विराटनगर विमानस्थलमा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीले मुलुकको गरिमा राख्नुपर्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँ भाजपाको पार्टी कार्यालय जानु ठीक लागेन। पार्टीगत रूपमा भाजपाको कार्यालय गएको भए अर्को कुरा।’

अध्यक्ष नेपालले मुलुकको प्रधानमन्त्री अभिभावक भएर कुनै पार्टीको कार्यालयमा पुग्नु शोभनीय नहुने उल्लेख गरे।

देउवाको उक्त भ्रमणको बचाउ गर्दै आइतबार परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्रीका रुपमा नभइ पार्टी सभापतिको हैसियतमा बिजेपी कार्यालय पुगको दाबी गरेका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलामा पत्रकार सम्मेलन गर्दै खड्काले भने, ‘भारतीय जनता पार्टीको कार्यालयमा उहाँ प्रधानमन्त्रीका हैसियतमा जानुभएको होइन। उहाँ कांग्रेसको सभापतिको नाताले दुई पार्टीबचको सम्बन्ध स्थापित गर्नका लागि भाजपा हेडर्क्वाटरमा जानुभएको हो।’ मन्त्री खड्काले बिजेपीसँग मात्रै नभइ कांग्रेसको अरु देशका राजनीतिक दलहरुसँग पनि सम्बन्ध रहेको उल्लेख गरे।

‘नेपाली कांग्रेसको सभापति भएको नाताले, नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध छ। जस्तो चीनको कम्युनिस्ट पार्टीसँग पनि राम्रो सम्बन्ध छ। त्यसै गरेर भारतको कंग्रेस पार्टीसँग पनि छ,’ उनले भने।

देउवा प्रधानमन्त्रीका रुपमा नभइ पार्टी सभापतिका रुपमा भाजपा कार्यालय पुगेको भन्ने मन्त्री खड्को प्रष्टिकरणप्रति अधिवक्ता माधवकुमार बस्नेतले सामाजिक सञ्जालमा तीखो टिप्पणी गरेका छन्। उनी लेख्छन्, ‘कुकुरका कुन भुत्ला कुन रौं, कसरी छुट्याउने?’

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत भने देउवा भाजपा कार्यालय जानु कुनै अस्वभाविक नभएको दाबी गर्छन्। उनले देश सञ्चारसँग भने, ‘यो कुनै अनौठा कुरा होइन। उहाँ हाम्रो पार्टीको सभापति पनि हो। उहाँ प्रशिक्षण लिन जानुभएको होइन, उहाँहरुले निम्ता दिनुभयो। सभापति ज्यू कर्डसीका लागि जानुभएको हो। केही अस्वभाविक भएको छैन।’

चैत २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्