नववर्ष २०७९ सालको शुभ उपलक्ष्यमा देश विदेशमा रहनु हुने सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

शाके संवत १९४४,विक्रम संवत २०७९ ।
संवत्सरको फल यस प्रकार रहने छ ।

बहुपुत्रोऽनन्तमित्रो द्रब्यलोभी कलिप्रियः
हनिशोकस्तथा दुःखं नले जातो भवेन्नरः

नल संवत्सर फल बहुपुत्र, देशका लागि जनसंख्या बृद्धि। धेरै मित्र बन्ने, अलि लोभी, झगडा गर्न अग्रसर, यही कारण हानि, शोक, चिन्ता रहनेछ । २०७९ सालको बर्षमा मन्त्री गुरु, राजा शनि बर्षभरी मंगलको नक्षत्रमा रहने छन् । बक्र ग्रहले उल्टो गर्छन्, राजा र मन्त्रीले उल्टो काम गर्दा कस्तो होला अवस्था । यस वर्ष राजा र मन्त्री देशका लागि बर्षलग्नमा राम्रो गर्ने हिसाबले बसेको हुँदा राज्य सञ्चालकहरुले उल्टो गरेर फस्ने र देशले काँचुली फेर्ने अवस्था आउने छ । शनि र मंगलको नक्षत्र संयोग हुन्छ, यो त्यति अनुकूल मानिँदैन । हाम्रा लागि भने राजा भएर देशको राशिदेखि तृतीय स्थानमा मकर राशि अर्थात् आफ्ना घरमा वर्षभरि नै रहनेछन्। ग्रहगोचरले देशलाई ऐतिहासिक सफलतामा उभ्याउने कसरत गर्ने छ । अझ नागारिक र बौद्धिक बर्ग एकसाथ भएमा विश्वमै प्रतिष्ठित देश हुने योग छ । ज्येष्ठ १७ गतेदेखि बक्र भई कार्तिक ३ गतेसम्म वक्र नै रहने छन् । यसका कारण पश्चिमी देशहरूमा ज्येष्ठ १७ देखि नै प्राकृतिक र राजनीतिक समस्या आउने छ । नेपालका लागि भने यो शनिले संकटबाटै ऐतिहासिक समाधान निकाल्न बल पुर्‍याउने छ। शनि माघ २७ गते कुम्भ अर्थात् आफ्नै घरमा रहने हुँदा बलशाली हुनेछन् । मन्त्री पदमा गुरु रहेका छन् ।

मन्त्रीपदमा रहेका गुरु नवबर्ष आरम्भको १० दिन आफ्नै नक्षत्रमा तत्पश्चात फाल्गुन ९ गतेसम्म शनिको नक्षत्रमा रहने छन् । यसले राजा मन्त्रीलाई नक्षत्र योगले एकसाथ गराउने छ । सत्य, निष्ठा र ईमानलाई जगाउने छ । श्रावण १२ गतेदेखि बक्र भएका गुरु मार्ग १० गतेसम्म बक्र रहने छन् । सौर्यमण्डलका ग्रहहरू आआफ्ना विभागमा सक्रिय रहनेछन् । यसवर्षको ग्रह गठनमा राजा र मन्त्रीलाई हेर्दा नपुङ्सक ग्रह राजा र पुरुष ग्रह मन्त्री छन् ।

विधि र स्थिति दुवैले यसबर्ष राज्य सञ्चालनमा मन्त्रीको प्रभाव अधिकहुने छ । राजा र मन्त्रीका रूपमा शनि र बृहस्पति ग्रह छन् । सेवाकारक, वायुतत्व, शनिको भूमिका सेवामा रहने हुँदा वर्षको आरम्भमा अधिकार प्राप्तिका आवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन् । धर्म र न्यायका निमित्त प्रभावशाली ग्रह गुरुले ठोस कार्यलाई अगाडि सार्ने छन्। मन्त्री पदमा आसीन न्यायकारक ग्रह गुरुले प्रशासनिक दक्षतालाई निर्देशात्मक तवरले बढावा दिने हुँदा राजनीतिलाई प्रतिबद्धताउन्मुख गराउन बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजिवी र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तरङ्गित हुनेछन् । सेवाकारक ग्रह शनि र न्याय धर्ममा विशेष दख्खल राख्ने गुरुको यस वर्ष विशेष आधिपत्य रहेको छ । वेदनीतिबाट राजाले राज्य गर्ने र मन्त्रीले राजनीति गर्ने भन्नेछ । धर्माधिपति ग्रह मन्त्री हुँदा राजनीति स्थिर बनाउने प्रयत्न अवश्य हुनेछ । अस्थिरता चाहनेहरूबाट द्वन्द्व गराउने सम्भावना रहे पनि राजा सेवादायी, मन्त्री धर्म एवं न्यायिक भएकोले न्याय सेवा एकसाथ अघि बढ्ने हुँदा सत्य प्रकट हुने सम्भावना अधिक हुन्छ ।

विचार गरौँ राजा, मन्त्री दुवै ग्रह एक अर्कामा समभाव राख्ने हुँदा सैन्य शक्ति भने राज्य र धर्मप्रति जिम्मेवार रहन्छ । राजा र मन्त्रीले एक अर्कामा समभाव राख्ने हुँदा राष्ट्र र धर्मलाई केन्द्रमा राखी विकृति र विसङ्गतिलाई अन्त्य गर्न सैन्यशक्ति अघि बढ्न सक्छ । राजनीतिक दलहरूले नियन्त्रणमा लिने प्रयास गर्दा राजनीतिमा स्वेच्छाचारिता बढ्ने सम्भावना रहन्छ । परिणामस्वरूप समाजमा विचलन आउन सक्छ, बौद्धिक वर्गहरू सङ्गठित हुँदा शुभ ग्रहको प्रभाव बलियो रहेकोले सबैले धैर्य धारण गर्दै समन्वयतिर जोडिने प्रयास गर्नेछन् । त्यसबाट सकारात्मक प्रभावलाई बलपुग्नेछ ।

संयम र सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्ने छ । श्रावण १२ देखि कार्तिक ३ गतेसम्म राजा मन्त्री दुवै बक्र रहने हुँदा राज्य सञ्चालकहरुले देश र जनतालाई भुलेर आफू र आफन्त हरुमा केन्द्रित हुदा जनआक्राश बढ्न गई स्थिति नियन्त्रण बाहिर जान सक्छ । अलिकतिमात्र चुकेमा समाजमा अराजकता पैदा हुनगई देश विदेशीको पञ्जामा पर्नै लाग्दा दैविक इच्छाले सैन्य शक्ति आकर्षित हुनेछ । त्यसो हुँदा पनि नियन्त्रण गर्न हम्मेहम्मे पर्नेछ ।

यस वर्षको वर्ष प्रवेश मिथुन लग्नमा छ । यो द्विस्वभाव लग्न हो । यस बर्ष लग्नेश,चतुथेश,बुध एकादश र सप्तमेश दशमेष दशमस्थानमा बलियो छ । भाग्येश पञ्चमेशको महत्वपूर्णले भूमिका हुन्छ । ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र नीच सवैको अवस्थालाई मिलाउनुपर्दछ । जगलग्न कुण्डली मिथुन लग्नमा भएको छ । बर्ष आरम्भ हुँदा सिंह राशिमा चन्द्र जुन नेपालको राशिदेखि दशौँ भएकोर यसबर्षको मन्त्री गुरु केन्द्रादि दोश राज्य भङ्ग योग भएको अवस्थामा पनि देशको राशिदेखि पञ्चम स्वगृह्य भई जगलग्नमा दशम भएको हुँदा नेपालको लागि शुभ हो । लग्नेश र चतुथेश बुध बर्ष लग्नबाट एकादश भावमा छन् यो शुभ हो । पञ्चमेश शुक्र भाग्य भावमा रहे पनि शनि भाग्येश अष्टम छन् ।

२०७८ सालको बर्षारम्भमा दशम भावमा स्वगृही गुरु, सिंहमा चन्द्रमा, सूर्य–बुध–राहु एकादश, शुक्र–मंगल कुम्भ राशिमा भाग्यभावमा र मकरमा शनि रहने छन् । ज्येष्ठ १७ गतेदेखि वक्र भएका शनि कार्तिक ३ गतेसम्म वक्र रहनेछन् । बर्षारम्भमा वर्ष लग्नको दशम र देशको राशिदेखि पञ्चम रहेका गुरु, श्रावण १२ गतेदेखि मार्ग १० सम्म वक्र हुनेछन् । शनि र गुरु दुवै बक्र भएको अवस्थामा बक्र ग्रहले उल्टो काम गर्दछ भन्ने मान्यताले राज्यसञ्चालकहरू उल्टो बाटो हिँडदा अनिष्ठ हुन सक्ने छ । यस्तो ग्रहस्थितिले विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ । केही गरी सावधानी नअपनाए न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न खोज्छ । यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ, थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ ।

अन्य समय भने सुझबुझका साथ काम गरे संकटबाट सहजतामा जाने उपयुक्त वातावरण बन्नेछ । यस प्रसंगमा लग्नकुण्डलीको योगबल पनि महत्वपूर्ण हुन्छ। यस वर्ष बर्षारम्भमा चन्द्रादि योग मेष राशिको राहुले आंशिक कालसर्पयोग बनाएको छ । यसको मुख्य फल प्रायः उतारचढाव आउने हो। चन्द्रादि योगको पनि उस्तै फल हो । यस्तो समयमा संकट सामना गर्नुपरे पनि परिणाम सकारात्मक निस्कने छ प्रयास गरेमा । वर्षारम्भको दिन चन्द्रमा देशको राशिदेखि दशम र बर्ष लग्नदेखि पञ्चम नवरात्रीको शुक्ल त्रयोदशि तिथिमा भएकोले ग्रह अति वलिया छन् । राहु र सूर्य एकसाथ ग्रहण योगमा रहनेछन् । ग्रहका हिसावले अशुभ कोणबाट बुझे पनि मेषको राहु र उच्च सूर्यलाई मिलाएर हेर्दा लाभका अवसरहरू विशेषत नेपालका लागि धेरै हुने छ । वर्षको राजा र मन्त्री पदमा रहेका ग्रह बर्ष लग्न र देशको राशिबाट अनुकूल रहँदा शुभ मानिन्छ । मंगलको सम्बन्ध रगत, पृथ्वी,रोग, आगो, हातहतियार र सेनामा रहन्छ। शुक्रको स्त्री र भोगविलास सुन्दरता, सम्भोगमा रहने छ । बर्षारम्भमा बर्ष लग्नदेखि नवम र देशको राशिबाट चतुर्थ रहने हुँदा महिला हिंसामा उद्धृत पुरुष महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द बढ्न सक्ने देखिन्छ । मंगलले दक्षिणको, भूमिको तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा दक्षिणको चलखेलले एकआपसमा विवाद बढाएर देशमा आन्तरिक विवाद सिर्जना गराउने सम्भावना रहन्छ । आआफ्नो स्वार्थले प्रेरित शक्तिहरूको चलखेलमा नेतृत्वले सहमति र सहकार्य गर्ने र त्यसैकारण जन आक्रोश बढ्न गई राष्ट्रिय संकट आउन सक्छ । यस्तो समयमा अज्ञात रोग प्रकट हुन सक्ने, विमान दुर्घटना हुने, भूकम्प, सामुद्रिक आँधी, आगजनी, चोरी, अराजक कार्य, प्राकृतिक विपत्ति आउन सक्छ । श्रावण १२ गतेदेखि कार्तिक ३ सम्म गुरु र शनिको बक्र योगले अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्धिकवर्गहरू सुरक्षा, शिक्षा, प्रशासनिक र न्यायक्षेत्रमा न्यायोचित मार्गलाई वेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भावना बलियो रहनेछ । यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा गलत मार्गमा लाग्न सक्छन्, राजनीतिक संकट आउन सक्नेछ ।

यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वार्णीम युगमा प्रवेश गर्नेछ । पश्चिम दिशाका अधिपति शनि, गुरु स्वगृही तथा राजा र मन्त्री भई तृतीय र दशममा भावमा बलशाली भई रहेकोले पश्चिमी देशको सहयोग एवं खबरदारीले सवै वैदेशिक सम्वन्धलाई अत्यन्त सकारात्मक बनाउन बल पुग्नेछ । प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाइलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ।

चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषम परिस्थितिलाई धैर्यका साथ नेतृत्वले कदम चालेमा बर्षारम्भको ग्रह गोचर बलियो रहेकोले देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अबलम्बन गर्नेछ । सचेत र सजग नभएमा विदेशीहरूको हस्तक्षेप हुनसक्ने अधिक सम्भावना रहन्छ जसले जनधनको क्षति, अर्थतन्त्रमा ठूलो नोक्सान एवं राष्ट्रअसफलता उन्मुख हुन सक्छ । सत्तासमेत परिवर्तन हुन सक्छ । विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भएर ऐतिहासिक कार्य गरेर देशलाई नयाँ रुपदिने सम्भावना रहन्छ । प्रतिष्ठित व्यक्तिको निधनले राजनीतिमा संकट आउन सक्छ ।

वर्षलग्नदेखि एकादश मेषमा राहुसहितको सूर्य बुधले देशको आर्थिक अवस्थालाई सुधार्ने प्रयास धेरै हुनेछ । बर्षारम्भमा बनेको चन्द्रादि योगको बल बर्षान्त्यसम्म रहनेछ । यस्तो समयमा उतारचढाव धेरै आउने सम्भावना रहन्छ । पराक्रमभावमा चन्द्र भाग्य भावमा शुक्र मंगल रहेको हुँदा राज्यकोषलाई मिलिजुली खाने प्रयासलाई निस्तेज गर्दै उपलब्धिमूलक कार्यमा अधिक खर्च गर्ने प्रयास हुनेछ । लग्नेश एकादश भएकोले देशको आम्दानी बढाउने, शिक्षा, धर्मकारक सप्तम दशमका मालिक गुरु बर्ष लग्नदेखि दशम देशको राशिदेखि पञ्चम रहँदा शिक्षा र धर्मका नाममा राज्यकोषबाट धन लुट्नेहरूलाई बौद्धिक वर्ग र जनसमुदायबाट कडा प्रतिकार हुन्छ । शिक्षानीतिलाइ ज्ञानबर्द्धक र जनकल्याणकारी बनाउने प्रयास पनि हुने छ । चतुर्थेश र लग्नेश वाणिज्यकारक बुध जगलग्नदेखि एकादश भावमा रहँदा निर्यात बढाई आयात घटाउने प्रयास हुँदा राष्ट्रिय ढुकुटी स्थिर रहने सम्भावना हुन्छ । भाग्येश शनि अष्टम भावमा यस बर्षको राजासमेत भएर ज्येष्ठ १७ देखि कात्तिक ३ सम्म बक्र हुने तथा मन्त्री गुरुपनि श्रावण १२ देखि मार्ग १० सम्म बक्र हुने हुँदा राज्यले राज्यकोश र शक्तिको दुरुपयोग गर्न खोज्ने छ ।

सेनाकारक मंगल बर्षारम्भमा पञ्चमेश स्त्रीकारक शुक्रका साथ नवममा,रहँदा बौद्धिक महिला, युवा र धार्मिकवर्गहरू एकसाथ राज्य निर्माणमा जुट्ने सम्भावना छ । पञ्चमस्थानको मालिक, शुक्र एकादशेश मंगलका साथ भाग्यभावमा हुँदा महिलाहरूको सक्रियताले कूटनीतिक तथा वाणिज्य क्षेत्रमा रहेको विकृति र विसङ्गति हटाउने प्रयास धेरै हुने छ । तृतीय भई एकादशभावमा रहेको उच्च सूर्यले शत्रु नास गर्ने, आम्दानी बढाउने प्रयत्न हुने छ ।

सप्तमेश र दशमेश गुरु दशौँभावमा भएकोले राजनीतिमा राज्यका बौद्धिक अङ्गले कूटनीतिमा चमत्कारिक परिवर्तन गर्न सक्ने अवस्था रहनेछ । सप्तमेश गुरु बर्ष लग्नमा स्वगृही भएको हुँदा ज्ञानले प्राविधिक, विज्ञानले निर्माणमा जोड दिने हुँदा आधुनिकशैलीबाट अगाडि बढाउने प्रयासका साथै धार्मिक पर्याटकको बृद्धि गराउने कार्य हुनेछ । गुरुको अनुकूलताले वैदेशिक सम्बन्ध व्यक्तिका निमित्त हानिकारक रहे पनि देशका निम्ति भने सकारात्मक र समन्वयकारी रहनेछ । पश्चिमी शक्तिको स्वार्थले उत्तरी दक्षिणको शक्तिलाई नेपालको स्वार्थ प्रेरित बनाउन सक्छ । विवेकशील नेतृत्व भएमा त्यसबखत ज्ञान, विज्ञानमा सुझबुझका साथ अघि बढ्ने वर्ष हुनेछ । तृतीयेश उच्च रहेकाले देशको श्रम राष्ट्र निर्माणमा अघि बढ्नेछ ।

भाग्य भावमा मङ्गल, शुक्र, गुरु देशको राशिदेखि पाँचौ शनि तृतीय र राहु मेषमा षष्टमा रहेको छन् । यो ग्रहले ठूलो परिवर्तन गराउने छ । शनि, बृहस्पतिको राजा र मन्त्री संयोगले धार्मिक आवरणमा लुट्ने, धर्मलाई अपव्याख्या गर्ने, अधर्मीहरूको पराजय, सच्चा धर्म र राष्ट्रियताको जगेर्ना गर्न अग्रसर हुनेहरूको विजय सुनिश्चतजस्तै छ । दशमेश गुरु दशौं भावमा नै रहेकोले राष्ट्र भक्तहरू शक्तिशाली हुँदा राष्ट्र विरोधीहरू सल्बलाउनेछन् । शक्तिशाली ग्रह शनि,गुरु, मंगल र शुक्र राष्ट्रको पक्षमा रहेको हुँदा यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वार्णीम युगमा प्रवेश गर्नेछ । पश्चिम दिशाका अधिपति शनि, गुरु स्वगृही तथा राजा र मन्त्री भई तृतीय र दशममा भावमा बलशाली भई रहेकोले पश्चिमी देशको सहयोग एवं खबरदारीले सवै वैदेशिक सम्वन्धलाई अत्यन्त सकारात्मक बनाउन बल पुग्नेछ । प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाइलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ । यो समयमा संयम नभए देश संकटग्रस्त भई असफल वा परिवर्तनको दिशामा उन्मुख हुनसक्छ । यस बर्ष बङ्गालादेश,श्रीलङ्का र नेपालको लागि राम्रा चीन भूटान भारत अफगानिस्थानलाई प्रतिकूल, पाकिस्थान मध्यम छ ।

यस वर्ष पश्चिमा मुलुकहरूको अवस्था उतारचढाबपूर्ण रहने छ । यस्तो स्थितिमा प्राकृतिक प्रकोप र राजनीति तरलता बढ्नेछ । विषेश गरी समुद्री ज्वालामुखी, आँधीका कारण विश्व तरङ्गित हुनसक्छन् । अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाइ सामना गर्दै आफूलाई शक्तिमा उभ्याउने छ । जापान, जर्मनीले ऐतिहासिक सफलता पाउने छन् तर प्राकृतिक प्रकोपको भागीदार पनि हुनेछन् । भारतमा आन्तरिक कलह बढ्ने, राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ । भारत र पाकिस्तान, बर्मा र भारतबीच  कूटनीतिक सम्वन्ध चिसिनगई युद्ध हुन सक्छ । चीन र भारतबिचमा पनि खटपट हुने सम्भावना छ । चीनको अवस्था खर्चिलो कूटनीतिक विवादले चिन्तित र अप्ठ्यारोमा पर्ने छ । रसियामा आन्तरिक कलह बढ्ने, बाह्य आक्रमण हुने सम्भावना छ । फ्रान्समा संकट, बेलायतलाई शुभ प्रभाव रहने छ । यसवर्ष पनि विश्व राजनीतिक ध्रुवीकरण प्राचीन र आधुनिक पक्षबीच जबर्जस्त उभिने हुँदा महायुद्ध उन्मुख हुँदै गर्दा आधुनिकतालाई प्राचीन सोचले निस्तेज बनाउन सक्नेछ ।

यो वर्ष माघ २७ गतेसम्म धनुलाई अन्त्य, मकरलाई मध्य र कुम्भलाई अद्य साढेसाती रहनेछ । तुला तथा मिथुन राशिलाई अढैया शनि रहनेछ । माघ २८ देखि मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीनलाइ अद्य साढेसाती आरम्भ हुनेछ । तुलालाई र मिथुनलाई अढैयाले छोड्ने, बृश्चिक र कर्कटलाई माघ २८ अढैया लाग्ने छ । शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ । अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने, राम्रो भने कसैलाई नगर्ने हुन्छ । साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने, शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दश कदम पछि हटी नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा पछाडिबाट बगाउने, ‘मेरो शनि दोष बगोस्’ भनी बगेकोलाई नहेर्ने । यसले गर्दा शनिको दोष कम हुन्छ । यो व्यावहारिक प्रयोगले थाहा भएको हो ।

चैत २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्