हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु

सिमकोट – हुम्लामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी सुरु भएको छ। खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गोले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरेको हो।

यसअघि खाद्यान्न ढुवानी गर्दै आएका निजी एयरलाइन्सहरु सबै काठमाडौँ केन्द्रित भएपछि उक्त कार्गोले विकल्पमा माउन्टेन एयरको हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरेको छ।

उक्त खाद्यान्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानी अनुदान दिएको छ। जिल्ला खाद्य व्यवस्था समितिको बैठकले चालु आर्थिक वर्षका लागि खाद्यान्न ढुवानीको जिम्मा पाएको सिम्रिक एयर कार्गो प्रालिलाई तत्काल खाद्यान्न ढुवानीको व्यवस्था गर्न ताकेता गरेपछि माउन्टेन एयरको हेलिकप्टरले खाद्यान्न ढुवानी गरेको लिमिटेडले जनाएको छ।

समितिले निर्वाचन आउन लागेको र चैत बैशाखमा जिल्लामा खाद्य सङ्कट देखिने भन्दै खाद्यान्न ढुवानी गर्न पटकपटक ताकेता गरेको थियो।
हाल लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात कम हुँदा बिक्री बन्द छ। यस वर्ष लिमिटेडले सुर्खेतबाट ६ हजार र नेपालगञ्जबाट ४ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेको थियो।

लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुुरु भएको जानकारी दिए। कार्गोले नेपालगञ्ज र सुर्खेतबाट पैदल मार्ग भई हुम्लाको सर्केगार्ड गाउँपालिकाको सर्केगार्डसम्म ढुवानी गर्ने र त्यताबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए।

उनले पहिलो दिन ४७ क्विन्टल खाद्यान्न ढुवानी भएको बताए। त्यसपछि दैनिक १२० क्विन्टल खाद्यान्न ढुवानी भइरहेको छ। कार्गो प्रालिले लिमिटेडको खाद्यान्न नेपालगञ्जबाट प्रतिकेजी १०८ रुपैयाँ र सुर्खेतबाट प्रतिकेजी १०५ रुपैयाँमा ढुवानी गर्ने जिम्मा पाएको थियो। तर उक्त प्रालिले पैदल मार्गबाट प्रतिकेजी १२ रुपैयाँ र सर्केगार्डबाट हेलिकोप्टरमा १०० रुपैयाँमा ढुवानी सुरु गरेको जनाएको छ।

लिमिटेडको ढुवानी दरभन्दा बढी तिरेर उक्त कार्गोले खाद्यान्न ढुवानी गरिरहेको छ। खाद्यान्न ढुवानी गर्न नसके कालोसूचीमा पर्ने डर र अर्को वर्ष ढुवानीसमेत नपाउने भएपछि घाटामै रहेर पनि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी सुरु गरिएको प्रालिले जनाएको छ।

लिमिटेडको खाद्यान्न हवाई मार्गबाट हालसम्म ४ हजार ९३२ क्विन्टल ढुवानी भएको छ। जसमा सीता एयरले नेपालगञ्ज र सुर्खेतबाट ३ हजार ४८६ क्विन्टल, समिट एयरले एक हजार ३६४ क्विन्टल र तारा एयरले १०० क्विन्टल खाद्यान्न ढुवानी गरेको शाखाले जनाएको छ।

चैत २५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्