असिनाले खेतीबाली नष्ट

फाइल तस्बिर

म्याग्दी – जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ।

बेनी नगरपालिकासहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् ।

रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिए । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ ।

हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३ बरङ्जाका कृष्णलाल सापकोटाले बताए ।

क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।

चैत २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्