मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् ।

गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन्।

कृषि गणनाका लागि छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण सङ्कलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण सङ्कलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिए।

उनका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ । गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताए। कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा तथ्याङ्कले सहयोग पुर्‍याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौँ कृषि गणना रहेको हो ।

चैत २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्