अस्वस्थ भएपछि भरतपुरको निर्वाचन अधिकृत छाडेको हुँ : न्यायाधीश रावल

काठमाडौँ – भरतपुर महानगरपालिकाको प्रमुख निर्वाचन अधिकृत आफ्नै स्वेच्छाले छाडेको प्रष्टीकरण न्यायाधीश हेमन्त रावलले दिएका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि भरतपुरको प्रमुख निर्वाचन अधिकृत तोकिएका रावललाई हटाएर आयोगले मंगलबार अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई नियुक्त गरेको छ।

रावललाई हटाइसँगै चुनावलाई प्रभावित पार्न हटाइएको चर्चा भएपछि उनले स्वास्थ्यका कारण काम गर्न नसक्ने जानकारी गराएपछि आयोगले निर्णय गरेको जनाएका छन्।

उनले मुख्य निर्वाचन अधिकृतको हेरफेर स्वभाविक भएकाले अन्यथा नलिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितीलाई केही संचार माध्यमहरुमा अन्यथा अर्थ हुने गरी समाचार सम्प्रेषण भएको देखिदा अबस्था समाचारमा उल्लेख भए जस्तो नभएको ब्यहोरा स्पस्ट गर्दै निर्बाचनको निस्पक्षतामा असर पर्ने गरी निर्बाचन आयोग र अन्य कुनै राजनितिक दल प्रति कुनै किसिमको अन्यथा टिकाटिप्पणी नगरि दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु।’

यस्तो छ रावलले सामाजिक सञ्जालमा पोष्ट गरेको कुरा

म मिति 2078 / 12 / 26 गते बेलुका देखि रिङ्टा (Dizziness) लाग्ने र बमन ( Vommiting ) हुने समस्याले अस्वस्थ भै दुई दिनको अस्पताल बसाई पछि अहिले घरमा आराम गरी रहेको छु । स्वास्थ्य अबस्थामा तत्काल पुर्ण सुधार आई नसकेको अबस्थामा थप केही दिन घरमै आराम गर्नु पन्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु ।

मेरो यो असहज अबस्थामा मैले निर्बाचन आयोगमा गरेकोे अनुरोध बमोजिम नै निर्बाचन आयोगबाट हिजो चितवनको मूख्य निर्बाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषदबाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मूख्य निर्बाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अबस्था हो ।

मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितीलाई केही संचार माध्यमहरुमा अन्यथा अर्थ हुने गरी समाचार सम्प्रेषण भएको देखिदा अबस्था समाचारमा उल्लेख भए जस्तो नभएको ब्यहोरा स्पस्ट गर्दै निर्बाचनको निस्पक्षतामा असर पर्ने गरी निर्बाचन आयोग र अन्य कुनै राजनितिक दल प्रति कुनै किसिमको अन्यथा टिकाटिप्पणी नगरि दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु ।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्