पार्टीको टोपी, टिसर्ट नबनाउन आयोगको आग्रह, आचारसंहिता पूर्ण पालनाको अपिल

काठमाडौं–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आचारसंहिता पूर्ण पालना गर्न राजनीतिक दल, संघसंस्था साथै मतदाता माझ अपील गरेको छ।

निर्वाचन आयोगले यही चैत २५ गतेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न सार्वजनिक रुपमा विज्ञप्ति मार्फत् आग्रह गरेको हो।

राजनीतिक दलका जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने निर्वाचन आचार संहितामा स्पष्ट व्यवस्था छ।

साथै उम्मेदवारको कार्यालयमा तुल (कपडा)मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने व्यवस्था छ। साथै निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुनेआचारसंहिताका प्रावधान अक्षरस पालना गर्न आयोगले आग्रह गरेको हो।

चैत २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्