कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा बैठक सुरु भएको हो।

बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले केही दिनभित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ। सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए।

उनले भने, ‘केही दिनभित्रै घोषणा पत्र आउँछ। अब त्यसको मस्यौदा करिब तय भइसकेको छ। आज यो घोषणा पत्रको विषय पनि होला। गठबन्धन तालमेलको कुरा यसभन्दा अघिको कार्यसमिति बैठकले जुन पास गरेको थियो, त्यसलाई व्यवहारिक रुपमा कसरी लाने भन्ने कुरा हिजो गठबन्धनबीच मोटामोटी सहमति भएको छ। त्यस विषयमा पनि जानकारी दिने कुरा होला। अब हामीसँग धेरै दिन छैन। ३ गतेभित्र कुन–कुन दलले के पाउने टुंगो लागेपछि आ–आफ्नो दलले भागमा पाएको उम्मेदवार तय गरेर निर्वाचनमा जानुपर्ने हुन्छ। त्यसमा जनाधारलाई मुल आधार बनाइएको छ।’

चैत ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्