एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता

काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्युआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत जानकारी गराएको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशभरका ७ सयभन्दा बढी नाई सदस्य सहभागी थिए। नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्युआरकोड सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतासमेत भएको छ।

सम्झौताअन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्युआरकोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कमा आवश्यक छुट दिनेछ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महा–प्रबन्धक मुकुन्द सुवेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन्।

चैत ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्