एक वर्षमा बाह्र महिना नै किन?

६ वटा ऋतु, सात दिनको हप्ता, १२ महिनाको वर्ष हुन्छ भनी पुर्खाले बताए। यही भूमिमा प्रचलित नवग्रह, तिथि, महिना, बार, संवत्‌हरु विज्ञान र जीवनसँग मिल्थे। वि. सं. विदेशीबाट आयात गरिरएको होइन, तात्कालिक विद्वान्‌ले खगोल, भूगोल, प्रकृति र मानवजीवनलाई संयोजन गरी निर्माण गरेको संवत् हो । वैशाख पहिलो महिना हो ।

वैशाखलाई मेष महिना भनिन्छ जसको राशि स्वामी मंगल हो, जहाँ सूर्य उच्च हुन्छ । मंगललाई सेनापति र सूर्यलाई राजा ग्रह मानिन्छ । राजा र सेनापति भएको राष्ट्रले उपनिवेश एवं अन्यायको मुख देख्नुपर्दैन । गायत्री मन्त्रले सूर्यको उपासना गर्छ, सूर्यलाई ऊर्जा र परमात्माको स्वरुप मानिन्छ । सूर्यले नै वसन्त ऋतु र वैशाख महिना बनाउँछ । पहिलो ऋतु वसन्त एवं पहिलो महिना वैशाख हुन् जहाँ सूर्य उच्च र मंगलले घर बनाएका छन् । प्रकृति हाँस्ने, मन रम्ने, साधना फक्रने हुँदा वैशाख पहिलो महिना हुन पुग्यो । महिनालाई चान्द्रमास (प्रतिपदा तिथिदेखि औँशीको अवधि), नाक्षत्रमास(अश्विनीदेखि रेवती नक्षत्रसम्म), सौर्यमास (सूर्यले एक राशिमा भोगेको अवधि) गरी विभाजित गरिएका छन् । वैदिक शास्त्रहरूले सूर्य (परमात्मा)लाई सृष्टिको आधार, चेतनाको पूञ्ज मान्ने हुँदा सौर्यमासको प्रयोग अधिक छ ।

वैज्ञानिकहरूले सूर्य विष्फोट भएर उछुट्टिएका टुक्राहरू चिसिँदै गएर ग्रहहरु बनेको विश्वास गर्दछन् । उनीहरूले नवग्रहको जननी सूर्यलाई ठान्दछन् । सूर्यकै कारण ब्रम्हाण्ड र जीवको अस्तित्व छ। प्राचीन कालदेखि सूर्य र चन्द्रवंश गरी दुई क्षत्रीय राजवंशको शासन देखिन्छ । सूर्यवंशको श्रीगणेश इक्ष्वाकु र चन्द्रवंशको प्रारम्भ बुधका छोरा पुरुरवाबाट भएको थियो । भगवान् राम सूर्यवंशी र कृष्ण चन्द्रवंशी क्षत्री थिए । नेपालको राष्ट्रिय झण्डामा मात्र होइन यहाँका मन्दिरहरूमा चन्द्र, सूर्य अड्ढित झण्डा छन् । सूर्यको महिमा, महत्व, पूजा र उपासना आदिलाई समेटेर सूर्यपुराण, सूर्योपनिषद्लगायतका ग्रन्थहरू निर्माण गरिएका छन्। महर्षि कश्यप एवं अदितिबाट जन्मेका सूर्यको विवाह विश्वकर्माकी पुत्री संज्ञासँग भएको थियो। उनीबाट शनि, सावर्णि मनु नामका छोरा एवं तपती नामकी छोरीको जन्म भयो। त्रेतायुगका कपिराज सुग्रीव एवं द्वापरयुगमा कर्ण पनि सूर्यकै सन्तान भए। सूर्यका अनेक रूप, कार्यका साथै बाह्रवटा नाम प्रसिद्ध छन्।

अरूणो माघमासे तु सूर्यो वै फाल्गुने तथा । चैत्रमासे तु वेदाङ्को भानुर्वैशाख एव च ।।
ज्येष्ठमासे तपेदिन्द्र आषाढे तपते रविः । गभस्तिः श्रावणे मासे यमो भाद्रपदे तथा ।।
सुवर्णरेताश्वयुजि कार्तिके च दिवाकरः । इत्येते द्वादशादित्या मासनामान्यनुक्रमात् ।।
–ज्योतिः सारः शिरोमणिः (संवत्सरप्रकरणम्)

अर्थात्, “माघमा उदाउने सूर्यको नाम अरूण, फाल्गुनका सूर्य, चैत्रका वेदाङ्क, वैशाखका भानु, जेष्ठ महिनाका इन्द्र, असारका रवि, श्रावणका गभस्ति, भदौका यम, असोजका सुवर्णरेता, कार्तिकका दिवाकर, मंसिरका मित्र र पुषमा विष्णु नामका सूर्य उदय हुन्छन्।” त्यही आधारमा बाह्र महिनाहरू हुन पुगे । आकाशमा एउटै सूर्य उदाए पनि महिनाअनुसार तिनीहरूको नाम, उदाउने र अस्ताउने समय, तापको मात्रा फरक हुन्छ । सूर्यको अर्थ परमात्मा पनि हुनेहुनाले पृथ्वी आदि लोकका पालनकर्ताका रूपमा पूजा गरिन्छ । सौर्यसम्प्रदायको वैभव शैवसम्प्रदायमा परेको हुनाले मकवानपुरजिल्लाको पाण्डुकेश्वर शिवलिङ्ककै आडमा सौर्य शिवलिङ्ग छ । सूर्यलाई आयुर्वेदले उपचारको रुपमा, ज्योतिषले ग्रहहरूका राजा, योगले साधनालाई फलीभूत बनाउन सहयोग गर्ने देवता एवं भक्तहरुले पाञ्चायन देवताका स्थान दिएका छन् । साधकहरूले त्राटक नामक योगबाट सूर्यको उपस्थितिमा ब्रम्हाण्डका जानकारी प्राप्त गर्दछन् । सप्तमी तिथि एवं आइतबारको उदाउँदो सूर्यलाई ७/१२ अञ्जुली पानी चढाउँदा छालाका रोग निको हुन्छ । बिहानको घामबाट भिटामिन ‘डी प्राप्त हुन्छ । ऋग्वेद (८।७२।१७)ले उदाउँदै गरेको सूर्यमा सोम हुनाले रोगी निको हुने बताएको छ । सपना, हड्डी र तर्सनेजस्ता समस्यामा सूर्यका निम्न बाह्रवटा नाम लिँदा मुक्ति पाइन्छ ।

आदित्यः प्रथमं नाम द्वितीयं तु दिवाकरः । तृतीयं भास्करः प्रोक्तं चतुर्थं च प्रभाकरः ।।
पञ्चमं च सहस्रांशुः षष्ठं चैव त्रिलोचनः । सप्तमं हरिदश्वश्च अष्टमं च विभावसुः ।।
नवमं दिनकृत् प्रोक्तं दशमं द्वादशात्मकः । एकादशं त्रयीमूर्तिद्र्वादशं सूर्य एव च ।।
द्वादशैतानि नामानि प्रातःकाले पठेन्नरः । दुःस्वप्ननाशनं सद्यः सर्वसिद्धिः प्रजायते ।।

सूर्यले राक्षस, पिसाच आदि तामसी शक्तिको उपद्र र प्रकोपबाट रक्षा गर्दछन् । सूर्यकै वरिपरि घुम्दै ग्रहहरूले ताप र प्रकाश प्राप्त गर्दछन् । वैशाख पूर्णिमाका दिन विशाखा नक्षत्रमा पर्ने हुनाले विशाखाको अपभ्रंशबाट वैशाख भएको हो । सूर्यका भानु, दिवाकर, दिनानाथ, आदित्यलगायतका अनेकौँ नाम छन् । जसमध्ये आइत पनि एक हो । हप्ताको पहिलो दिन सूर्यकै नामबाट आइतबार शुरु हुन्छ । सूर्यकै गति र प्रभावले ऋतु, महिना, बारको जन्म हुन्छ । मत्स्यपुराण (१२५।४६–४७)का अनुसार सूर्यका रथमा गायत्री, त्रिष्टुप्, जतगी, अनुष्टुप्, पङ्क्ति, बृहती र उष्णिक् नामका सात घोडाहरू छन् । यी घोडामात्र नभएर वेदका छन्द पनि हुन् । वेदका छन्दलाई रथ बनाउने सामथ्र्य परमात्माबाहेक अरूमा हुन सक्दैन । प्रिज्मको प्रयोग गरी सूर्यका सात किरणहरूलाई हेर्न सकिन्छ । ६० घडीको एक दिन, तीस दिनको एक महिना, २ महिनाको एक ऋतु, बाह्र महिनाको एक वर्ष गरी समयलाई ज्योतिषशास्त्रले विभाजन गरेको छ । यो ज्ञान पश्चिमाले हामीलाई होइन, हामीले पश्चिमालाई दिएका हौँ । वेद, उपनिषद्लगायतका शास्त्र र ग्रन्थहरूमा संवत्सर, अयन, महिना, बार, तिथि, पक्ष, नवग्रहसहित यिनीहरूको व्यावहारिक र धार्मिक प्रयोगको वर्णन छ । यिनीहरूले निर्धारण गरेको समयकै आधारमा हरेक घटनालाई नाप्न, बुझ्न र तुलना गरेर हेर्न सहज भएको छ । समयको सूक्ष्म एकाइअन्तर्गत पला, विपला, निमेष आदि पर्छ भने ठूलो एकाईमा वर्ष, युग आदि छन् । नेपालमा घण्टा र मिनेटभन्दा पहिले घडी र पलाको प्रयोग व्यापक थियो । तामाको भाँडामा घडा राखेर डुबेपछि एक घडी बितेको मानिन्थ्यो । २ घडी ३० पलाको एक घण्टा हुन्छ । विभिन्न प्रकारका घडी आउनुपूर्व आर्यावर्तका अनुष्ठान यही आधारमा गरिन्थ्यो । कुनै पनि वस्तुको छायाँको लम्बाई मापन गरी समयको जानकारी लिने विधि अहिले लोपोन्मुख भएको छ । विश्वका सबै देशहरूले सूर्यलाई समयमापनका मुख्य आधार मानेका छन् । नेपालमा प्रयोग गरिएको विक्रम संवत् पूर्णरूपमा सौर्यमासमा आधारित भए पनि अन्य माससँग यसले नजिकको सम्बन्ध राख्दछ । भविष्यपुराणमा भनिएको छ–

यः सूर्यं पूजयेन्नित्यं प्रणमेद् वापि भक्तितः ।
तस्य योगं च मोक्षं च ब्रध्नस्तुष्टः प्रयच्छति ।।

अर्थात्, “जसले नित्यरूपमा भक्तिपूर्वक सूर्यलाई पूजा र नमस्कार गर्ला त्यसलाई प्रसन्न भएका सूर्यले योग र मोक्ष प्रदान गर्दछन् ।” सूर्यलाई शक्तिको केन्द्र र स्रोत मानिन्छ । घाम नलागेको दिन पाचनशक्ति कमजोर हुन्छ । जहाँ सूर्य लाग्दैन त्यहाँ जीव र जीवनको अस्तित्व सङ्कटमा पर्छ । उदाहरणका लागि उत्तरी र दक्षिणी ध्रुबमा सूर्यका किरण नपुग्नाले मानिसहरूको बसोबास छैन । श्रीकृष्णले ज्योतिमा आफूलाई सूर्य बताएका छन् । सूर्यलाई अग्नि रूप मानिन्छ । ‘अग्रे नीयते येन स अग्निः अर्थात्, जसले अगाडि (मोक्ष, सत्कार्यतर्फ) लैजान्छ त्यसलाई अग्नि भनिन्छ । अग्निका तीन काम हुन्छन् – ताप(तताउने), पाक(पकाउने) र प्रकाश (उज्यालो दिने) जो सूर्यमा रहेकाले परमात्माका रूपमा पूजिन्छ । वैज्ञानिकहरूले समेत सूर्यबाट ॐको आवाज निरन्तर आउने बताएका छन् । सम्पूर्ण लोकका अग्नि बिहान सूर्यमा प्रवेश गर्दछन् र रात्रि सूर्य स्वयं अग्निमा बस्दछन् भन्ने शास्त्रीय मान्यता छ । यहीकारण प्रातःकालमा होम, यज्ञका कार्य गरिन्छ रात्रिमा गरिँदैन । सूर्याष्टक स्तोत्रमा भनिएको छ–

आदिदेवं नमस्तुभ्यं प्रसीद मम भास्कर । दिवाकर नमस्तुभ्यं प्रभाकर नमोस्तुते ।
आदित्यं जगतां नाथं ज्ञानविज्ञानं मोक्षदम् । महापापहरं देवं तं सूर्यं प्रणमाम्यहम् ।।

अर्थात्, “‘हे आदिदेव, तपाईंलाई नमस्कार छ, हे भास्कर, तपाई मदेखि खुशी हुनुहोस्, तपाईं दिवाकर एवं प्रभाकरलाई नमस्कार छ । तपाईं ज्ञान, विज्ञान र मोक्षका दाता हुनुहुन्छ । हे सूर्य, तपाईँले सबै पाप हरण गर्नुहुन्छ, त्यसैले तपाईंलाई नमस्कार गर्दछु ।” भविष्यपुराणका अनुसार भगवान् श्रीकृष्ण र जाम्बवतीका सुपुत्र साम्बलाई सन्मार्गमा ल्याउन अनेक प्रयत्न गर्दा समेत स्त्रीलम्पट हुन पुगे । साम्बको खराब आदतमा परिवर्तन नआएपछि श्रीकृष्णले उनलाई कुष्ठ रोगी हुने श्राप दिए । नारदमुनिले बताएको विधानअनुसार साम्बले सूर्यको पूजा, उपासना गरी कुष्ठ रोगबाट मुक्ति पाए । धौम्य ऋषिले युधिष्ठिरलाई सूर्यको उपासना र साधना विधि बताएका थिए । युधिष्ठिरले सूर्यका एक सय आठ नामका जप गरेकै कारण बाह्र वर्षसम्म वनबासमा खानाको अभाव नहुने तामाको अक्षय पात्र (भाँडा) पाए । सूर्यपुराणमा सूर्यलाई परमात्मा, सृष्टिका संरक्षक, प्रकाशदाता, सम्पूर्ण देवताका प्रतिमूर्ति बताएको छ । महादेवको दायाँ आँखा सूर्य, चन्द्रमालाई बायाँ, अग्निलाई तेस्रो नेत्र मानिन्छ । ज्ञान र उज्यालोको प्रतीक सूर्यलाई मानिन्छ । आर्यावर्तका विभिन्न स्थानमा सूर्यको मन्दिर छन् । सूर्यका मूर्तिमा अथाहा शक्ति सञ्चार भइरहने हुँदा मन्दिरभित्र राखिँदैन । पहिले उत्पत्ति भएकाले सूर्यलाई आदिदेव भनिन्छ । यसकारण सूर्यलाई पूज्नेहरू दुःख, चिन्ता र रोगबाट मुक्त हुन्छन् ।

उदयं ब्रम्हरूपेण मध्याच महेश्वरम् ।
अस्तमाने स्वयं विष्णु त्रिमूर्ति च दिवाकरम् ।।

अर्थात्, “उदय अवस्थामा सूर्यको ब्रम्हरूप, मध्यान्हमा महेश्वर र अस्ताउने बेलामा विष्णुरूप मानिन्छ ।” सूर्यलाई तीन देवताको प्रतीकका रूपमा पूजिन्छ । सम्पूर्ण स्थावर र जङ्गमका आत्मा नै सूर्य हुन् । आत्मा भनेकै चेतन हो, चेतन भनेकै सूर्य हो । वेदले प्राणः प्रजानामुदयत्येष सूर्यः सबै प्राणीहरूको प्राण नै सूर्यलाई मानेका छन् । सूर्यबाट निस्कने किरणलाई गो (गाई) भनिन्छ जसले विभिन्न रोगहरूको निराकरण गर्दछ । हृदयघात, दुबीलगायतका रोग निवारण गर्छ आँखाको तेज बढाउँछ । उदाउँदो सूर्यको दर्शन र पूजनले पूर्वजन्मको पाप नाश हुने भएकाले यसलाई बहूपयोगी आकाशीय पिण्ड मानिन्छ । इन्द्रेणीलाई हेर्दा आँखाका रोगहरू निको हुने वैज्ञानिकहरूले बताउँछन् । ‘आदित्यं च शिवं विद्याच्छिवमादित्यरुपिणम् । उभयोरन्तरं नास्ति आदित्यस्य शिवस्य च अर्थात्, “सूर्यलाई शिव र शिवलाई आदित्य(सूर्य)को रूपमा जान्नु । यी दुईमा कुनै अन्तर छैन ।”

ज्योतिषशास्त्रले जन्मकुण्डलीमा सूर्य निच (तुलाराशिमा) भए वा ६, ८, १२ स्थानमा शत्रुग्रहसँग बसेमा आत्मा कमजोर, हड्डी र दाहिनेआँखाको समस्या हुन्छ तर सूर्य उच्च, केन्द्र वा त्रिकोणमा बसे नेतृत्वकर्ता, साहसी हुने बताउँछ । सूर्यलाई सृजनशिल, आरोग्य, जन्मको प्रयोजन बताउने ग्रह मानिन्छ । सूर्य ग्रह शान्तिका लागि आइतबार उदाउँदो सूर्यलाई सूर्यनारायणाय नमः अर्थात्, सूर्यनारायणलाई नमस्कार भनी तामाको भाँडाद्वारा जल (पानी) चढाइन्छ । सूर्यसँग नारायण शब्द जोडिएकाले सूर्यलाई विष्णु वा प्राणीका पालनकर्ताका रूपमा लिइन्छ । सूर्यले सबै प्राणीको रक्षाका लागि अन्न प्रदान गर्नुहुन्छ । पानीलाई वाफ बनाई पुनः बर्साउने, प्राणीले नखाएका बिऊबीजनलाई साररुपमा तानेर वर्षायाम वा अनुकूल अवस्था पारेर पृथ्वीमा फर्काइदिने काम पनि सूर्यको हो । सूर्य देवता, विश्वामित्र ऋषि र गायत्रीदेवीको स्मरण गरी पवित्रस्थलमा बसी सूर्यलाई हेरेर गायत्रीमन्त्रको जप गर्नाले अटल सौभाग्य, पुत्र लाभ, ऐश्वर्य आदि प्राप्त हुन्छ भन्ने प्रमाण सत्यवान् र सावित्रीको कथाले पुष्टि गर्दछ । गायत्रीमन्त्रलाई सावित्री पनि भनिन्छ । सावित्रीको विवाह सत्यवान्सँग भएको थियो । सत्यवान् भनेको जीवात्मा हो । यमराजले सत्यवान्लाई लिएर जान्छ अर्थात् मायाले आत्मालाई ढाकेको छ । सावित्रीले पतिको पिछा गर्छिन् र यमराजबाट छुटाउँछिन् अर्थात् गायत्रीको अविरल साधनाबाट मायाको आवरण (अविद्या)को नाश हुन्छ र सत्यवान् फर्कन्छ वा परमात्माको साक्षात्कार हुन्छ भन्ने प्रतीकात्मक रहस्य हो । सूर्यलाई हेरेर मन्त्र, तन्त्र साधना गर्दा छिटो सिद्धि हुन्छ । लिङ्गपुराणमा भनिएको छ–

आदित्यमूलमखिलं त्रैलोक्यं नात्र संशयः ।
सर्वात्मा सर्वालोकेशो महादेवः प्रजापतिः ।
सूर्य एव त्रिलोकेशो मूलं परमदैवतम् ।
ततः संजायते सर्वं तत्रैव प्रविलीयते ।।

अर्थात्, “सूर्य नै चराचरजगत्को कारण, सबैका मालिक हुनुहुन्छ, महादेव र प्रजापति (ब्रम्हा) उहाँकै रूप हो । सूर्य तीन लोकका मालिक हुनुहुन्छ । सबैको उत्पत्ति र लीन उहाँमा हुन्छ ।”

हिन्दूइतरका धर्मावलम्बीहरूले सूर्यलाई कुनै न कुनै रूपमा पूजा गर्दछन् । घरमा शान्ति होस्, व्यापार व्यवसाय राम्रो होस् भनेर तामाको सूर्य बनाई पूर्वतर्फको ढोकामा झुण्ड्याउँछन् । बच्चा जन्मिएको ११ औँ दिनमा सूर्यको दर्शन गराइन्छ । नेवारी परम्परामा गुफा राखेर निकाल्दा सूर्यलाई परमात्माका रूपमा दर्शन गर्ने चलन छ । सूर्य सबैले सजिलै दर्शन गर्न सकिने परमात्माको स्वरूप हो । श्रीकृष्णले मध्याìको समयमा स्नान गरेर श्वेत वस्त्र धारण गरी हात जोडेर सूर्यको उपासना गरेका थिए । समुद्रबाट पानी लिएर अन्नबालीलाई दिने, बीउलाई उमार्ने र बाली पकाउने, झारलगायतका बिरुवालाई समय आएपछि पलाउने काम सूर्यले नै गर्छन् । सबैका कर्ता, भर्ता र हर्ता भएकाले सूर्य परमात्मा हुन् । उनकै आधारमा दिन, रात, हप्ता, ऋतु, अयन हुन्छ । प्राणीहरूमा तेजरुपले रही आँखालाई देख्न लगाएका छन् । उनैको बाह्र नामबाट महिना जन्मिए । सूर्यको पवित्र नाम ११ वा १३ नभएर बाह्रवटा भएकाले महिना पनि १२ भए ।

बैशाख १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्