रुसको चेतावनीका बाबजुद नेटो सदस्यताबारे चाँडै निर्णय लिने तयारीमा फिनल्याण्ड

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिन (दायाँ) र स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डर्सन (बायाँ) । तस्बिर : रोयटर्स

पश्चिमा सैन्य संगठन नेटोको सदस्यताका लागि आवेदन दिन–नदिनेबारे आफ्नो देशले अबको केही हप्तामै निर्णय लिने फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले बताएकी छन् ।

स्वीडेनकी प्रधानमन्त्री माग्दालेना एन्डर्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा फिनिस प्रधानमन्त्री मरिनले नेटो सम्बन्धी निर्णयका लागि ढिलाइ गर्नु पर्ने कुनै कारण नरहेको बताएकी हुन् ।

नेटो सम्बन्धी निर्णयले फिनल्याण्ड र रुसको सीमा क्षेत्रमा तनाव बढ्न सक्ने फिनिस संसदको भनाइसँग प्रधानमन्त्री मरिनको भनाइ मेल खाएको छ । तर सदस्यताका लागि आवदेन दिने–नदिने निर्णयमा ढिलाइ नहुने उनले उल्लेख गरेकी छन् ।

स्वीडेनले पनि नेटो सदस्यताबारे गम्भीर रुपमा सोचिरहेको प्रधानमन्त्री एन्डर्सनले बताएकी छन् । उनले आउँदो जुनको अन्तिममा हुने नेटो सम्मेलनका बेला सदस्यताका लागि आवेदन दिने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि रुसले गरेको आक्रमणसँगै फिनल्याण्ड र स्वीडेनमा नेटो सदस्यता लिनु पर्ने पक्षमा जनमत बढेको छ ।

रुसले भने नेटो सदस्यतालाई लिएर पछिल्लो केही हप्तादेखि दुई देशलाई चेतावनी दिँदै आएको छ । फिनल्याण्ड र रुसबीच १३ सय ४० किलोमिटर लामो सीमा छ ।

बैशाख १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्