नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

साताको संक्रमण दर एक प्रतिशतभन्दा कम

विश्वबाट वर्तमान कोरोना प्यान्डेमिक निर्मूल हुने क्रममा हाल यस संक्रमण निकै कम देशमा सीमित भइसकेको छ।

विश्वका अधिकांश देशमा दैनिक संक्रमण दर ५% भन्दा कम भइसकेको छ जुन प्यान्डेमिक कालमा डब्लुएचओको मापदण्डभन्दा कम अर्थात् मापदण्डभित्र पर्छ।

दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी ५% भन्दा कम हुनु प्यान्डेमिक नियन्त्रण मानिन्छ भने ३०% माथि हुनु अति उच्च संक्रमण दर मानिन्छ। यद्यपि, विश्वका केही देशमा पछिल्लो समय संक्रमण दर ३०% भन्दा माथि छ।

पछिल्लो अवस्थामा प्यान्डेमिक लहर निकै उच्च रहेका केही सीमित देशमा पश्चिमी युरोप र पश्चिमी प्यासिफिक क्षेत्रका केही देश पर्छन्। विश्वका बाँकी अन्य देशमा कोरोना संक्रमण र प्यान्डेमिक अवस्था निकै शान्त देखिन्छ।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार हाल भियतनाम, न्युजिल्यान्ड र नेदरल्यान्ड्समा संक्रमण दर ९०% या सोभन्दा माथि छ। टाइम्स अफ न्युयोर्कका अनुसार यी देशमा प्रति एक लाख मानिसमा १००–२०० दैनिक नयाँ संक्रमण देखा परिरहेको छ।

प्यान्डेमिककालमा संक्रमणको मात्रा दैनिक परीक्षण संख्यामा निर्भर रहन्छ र प्यान्डेमिकको मापन संक्रमण दर र संक्रमण संख्याबाहेक परीक्षण संख्याले पनि गर्छ। तसर्थ विभिन्न देशको वास्तविक प्यान्डेमिक अवस्था यी तथ्यांक बिना केवल संक्रमण संख्याका आधारमा मात्रै ठोकुवा गर्न गाह्रो हुन्छ। त्यस्तै, दक्षिण कोरिया, फिनल्यान्ड, मेक्सिको, अस्ट्रेलिया आदि देशमा संक्रमण दर ५०% या सोभन्दा माथि छ।

त्यस्तै विश्वका अति विकसित देश, स्विजरल्याण्ड, नर्वे, स्पेन, जापान आदिमा हाल पनि दैनिक संक्रमण दर ३५–५०% जति छ। विश्वमा प्यान्डेमिकका कारण सबैभन्दा धेरै मानवीय क्षति पुगेको देश अमेरिका हाल केही शान्त देखिन्छ। हाल त्यहाँको दैनिक संक्रमण दर ९–१०% जति छ।

यीबाहेक विश्वका अन्य देश कोरोना संक्रमणको हिसाबले हाल निकै शान्त देखिन्छन्। भारत, ब्राजिललगायत देश जहाँ कोरोना संक्रमणले विगतमा व्यापकता छाएको थियो ती देश पनि अहिले शान्त देखिन्छन्।

नेपालमा पनि हाल कोरोना संक्रमण निकै कम देखिन्छ र यहाँ कोरोना दैनिक संक्रमण दर एक महिनादेखि १% भन्दा कम छ।

यति भन्दाभन्दै हाम्रो निकट छिमेकी राष्ट्र भुटान हाल कोरोना संक्रमणको चरम महामारी सामना गरिरहेको छ। दक्षिण एसियाली देशमध्ये कोरोना संक्रमण निकै ढिलो देखा परेको भुटानमा हाल दैनिक संक्रमण २ हजार नाघेको छ जुन भारतको भन्दा धेरै हो। हाल त्यहाँ प्रति एक लाख जनसंख्यामा १६० जनाजति नयाँ संक्रमण देखा परिरहेको छ जुन विश्वकै उच्च तथ्यांक हो।

कोरोना भ्याक्सिन दक्षिण एसियामा सबैभन्दा धेरै र विश्वका अति विकसित देश, जापान, क्यानाडा तथा अन्य युरोपेली देशभन्दा धेरै लगाएको देश भुटानमा हाल कोरोना संक्रमण विश्वमै उच्च देखिनु प्यान्डेमिकको वास्तविक रुप र लक्षण हो। हालसम्म त्यहाँ ३५००० भन्दा धेरै कोरोना संक्रमण देखिएको छ भने मृत्यु १२। यद्यपि, यी संख्या अन्यत्रको तुलनामा निकै कम हो र कोरोना मृत्यु दर भुटानमा विश्वकै सबैभन्दा कममध्ये पर्छ।

यसै सेरोफेरोमा नेपालर विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् ।जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर (ध्यचमियmभतभच), आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२मार्च २३ देखि एप्रिल ६, कोकोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण ओरालो लागिरहेको छ जुन करिब औसतमा ३५००भन्दा कम भएको छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय केही घट्दै गई औसतमा ८० भन्दा कम भएको छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै गत हप्ता नेपाललगायत सबै देशमा दैनिक संक्रमण घट्दै गएको देखिएको छ भने भुटानमा हाल पनि दैनिक संक्रमण बढ्दो क्रममा देखिन्छ जुन हाल भारतको भन्दा धेरै भएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ।
चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ। तर, भारतमा बेलाबेलामा कोरोना मृत्यु संख्या अध्यावधि गर्दा मृत्यु संख्या निकै बढेको पाइन्छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार हाल भारतमा सबैभन्दा कम शून्य.२१% छ भने नेपालमा ०.४९%, पाकिस्तानमा ०.७३%, बंगलादेशमा ३.२३% र श्रीलंकामा ४.०५% छ। त्यस्तै, अमेरिका र बेलायतमा दैनिक औसत कोरोना संक्रमण दर करिब ९% र जापानमा ३५% भन्दा बढी छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ अप्रिल ३ देखि ९ (वि.सं २०७८ चैत २० देखि २६ गते)जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, चैत २६ गते शनिबारसम्म, देशभरि जम्मा १२३ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या९७८५६८पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १३५थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य रह्यो जुन दुई हप्ताअघि पनि शून्य थियो। हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५१ पुगेको छ। यसरी नेपालमा दैनिक कोरोना मृत्यु पछिल्लो समय निकै कम भएको छ र विगत एक महिनामा कोरोना मृत्यु जम्मा १ मात्र भएको छ। नेपालमा हालसम्म अन्तिम कोरोना मृत्यु यही मार्च २२ का दिन एक जनाको भएको थियो।

गत हप्ता जम्मा २३५०४ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि २५४१६ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात ३३.२% देखियो जुन दुई हप्ताअघि ३०.७% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी) दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम शून्य.२५%देखि अधिकतम१.०९%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.५४% रह्यो जुन दुई हप्ताअघि पनि ०.५४% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै विस्तारै घट्दै गएका छन्। यद्यपि, भुटानमा हाल पनि दैनिक कोरोना संक्रमण निकै बढिरहेको छ र हाल भारतमा भन्दा त्यहाँ दैनिक संक्रमण बढेको छ। त्यस्तै, त्यहाँ कोरोना मृत्यु पनि फाट्टफुट्ट देखिने क्रम जारी छ।

पश्चिमी प्यासिफिक क्षेत्र र पश्चिमी युरोपी क्षेत्रमा हाल पनि कोरोना संक्रमण र मृत्यु अत्यधिक देखा परिरहेका छन्। यसले विश्वमा कोरोनाको जोखिम कायमै रहेको देखाउँछ।

गत हप्ता, वि.सं २०७८ चैत २० देखि २६, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात साबुनपानीले राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका उपाय कडाइसाथ अपनाउनुपर्ने देखिन्छ।

पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न। यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ।

यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

बैशाख १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्