दाङ – दाङका केही भेगमा चैते धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका–३ र ४ का किसान चैते धान रोप्न व्यस्त भएका हुन्।

खोला छेउका खेतमा चैते धान रोप्दै आएका कृषकले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन्।

धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन्। खेतालाका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै पाक्ने गरेको छ।

चैत अन्तिम तथा वैशाख पहिलो साता रोपिएको धान साउन पहिलो सातातिर पाक्ने गर्छ। यो ठाउँका कृषक वर्षमा तीन बाली भित्र्याउँछन्। अहिले रोपेको चैते धान साउन पहिलो साता काटेपछि बर्खे धान रोप्ने गर्छन्।

उक्त धानबाली काटेर कात्तिकमा धान काटेलगत्तै फेरि गहुँ छर्ने गरेको स्थानीय भरत थापाले बताए। उनका अनुसार चैत दोस्रो साता गहुँबाली काटेपछि फेरि चैते धान रोपिएको हो।

हावापानी र सिँचाइ पुगेको यो ठाउँमा अन्नबालीजस्तै तरकारी खेती पनि राम्रो हुने गर्छ। जिल्लाको देउखुरी क्षेत्रमा पनि यो वर्ष चैते धान रोपिएको छ।

गढवा गाउँपालिका–३ गोबरहिहामा यो वर्ष चैते धान रोपिएको स्थानीयले बताए। वर्षामा जस्तै धान बाली नफल्ने भए पनि मौसम र पानी प्रशस्त भए सामान्यतया राम्रो धान फल्ने गरेको कृषक बताउँछन्। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टरमा चैते धान खेती हुने गर्छ।

बैशाख २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्