मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष रावलसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र सार्वजनिक सम्पति नोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मोहन्याल गाउँपालिका, कैलालीका अध्यक्ष नवलसिहं रावल (हाल स्वर्गीय) उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनी उपर अख्तियारले  शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ।

मोहन्याल गाउँपालिकाको नदीजन्य पदार्थको विक्री कर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएकोमा गाउँपालिकाका पदाधिकारी तथा कर्मचारी र न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारवीच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार गरेको उजुरी परेको थियो।

उजुरी माथि अनुसन्धान हुँदा उनीहरूले गाउँपालिका कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि करबापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क)र दफा १७ बमोजिमको हुँदा सोही ऐनको दफा ७ र दफा १७ अनुसारै कारबाहीको माग सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

बैशाख २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्