आमा-बा चिनाएको पहिलो रजस्वला

शरीरबाट बग्ने रगतलाई हेर्ने मेरो नजरिया त्यो बेला बदलिँदै थियो। मेरा दिदीहरुको रजस्वलाको कथा, व्यथा पीडादायी भए पनि मलाई राेमाञ्चित अनुभूति हुन्थ्यो। दु:ख हाे भन्ने थाहा हुँदा हुँदै पनि मैले ‘रजस्वला’ को अनुभूतिको रहर गर्न लागेको केही समयमा भएको थियो।

ममीको खप्कीले म झसंग हुन्थे र बेलाबेला आफैँलाई आफैसँग लाज लागेर आउँथ्यो। मलाई त्यो दिन कहिले आउँछ भन्ने त थाहा थिएन, तर म नजानेरै दिनको व्यग्र प्रतिक्षामा थिए।
….

‘बिस्तार गर्नु न कस्तो कपाल तानेको !
फेरी मिलेन यो ममीलाई त कपाल कोर्न पनि आउन्न !!’

ममीले कपाल कोरिदिएको मलाई पट्क्कै मन पर्दैनथ्यो। कहिलेकाँही त जानेरै मेरो कपाल बिगारिदिनुहुन्थ्यो जस्तो लाग्थ्यो।

किशोर उमेर भर्खरै उक्लिएकी मलाई वर्षौदेखि मेरै कपाल कोर्ने ममी ‘म भन्दा जान्दिनन्’ जस्तो लग्थ्यो।

दोस्रोपल्ट पनि नमिलेपछि म झिजिएँ,

‘माथि तल भयो,
ह्या … ह्या… ’

मेरो समस्याको हरेक उपचार ड्याडिसँग थियो।

सोध्नुभयो, ‘के भयो छोरी ?’

म ड्याडिकी प्यारी छोरी, हुन त ममीको पनि हो, तर मलाई किन किन ड्याडिले मेरो कुरा बुझ्नुहुन्छ झै लाग्थ्यो। ममीसँग टसल परिरहन्थ्यो अनि उहाँलाई ड्याडिको गाली खुवाउँन मैले कुरा लाइहाले,

‘हेर्नु न ड्याडी, ममीले आज पनि कपाल नमिलाई कोर्दिनु भो !
ड्याडिको मायालु बोली, ‘यहाँ आऊ छोरी म मिलाई दिन्छु, यो परीको ममी पनि के खालकी होलि सँधै एउटा गल्ति गर्ने के (कपालको चुल्ठो मिलाउँदै)।’

विद्यालय १० बजे पुग्नु पर्ने भएकोले म पनि हतार हतार आफ्नो स्कूल जाने झोला बोकेर हिड्न लागे। ममीका मलाई मन नपर्ने धेरै बानीमध्ये एउटा थियो, हिड्ने बेला प्याच्च बेलुकीको काम अराउनु । भन्नुभो, ‘छोरी आज घर अलि अलमल नगरी आउ ल! मेरो काम छ साँझ खाना तिमीले बनाउन पर्छ ।’

‘सक्दिन म !’ प्याच्च जवाफ फर्काए, ‘आज त झन् घर ढिला आउँने हो।’

ममीको कुरा सोझै काट्दा मलाई कुनै जंग जितेझै लाग्थ्यो।

त्यसपछि म सँधै झै मनमा नयाँ उत्साह र उमँग लिई स्कूल पुगे, साथीहसँग गफिँदै थिए, पहिलो कक्षाको घण्टि बज्यो। कक्षा चलिरहेको थियो, अचानक मलाई केही अहजिलो महशुस भयो। लाग्यो, मेरो पिसाब फुस्कियो। फेरी सोचे ‘सुसु त आएको छैन ।’ त्यतिबेला जे पनि साथीलाई भन्न मन लाग्थ्यो मलाई, सँगै बसेकी उमाको कान फुके, उ मज्जाले हाँसि।

उसको खुसीले मलाई अफ्ठेरो र लाज लाग्यो। सोचे, बरु नभनेको भए हुने रहेछ ।’ कक्षाको बिच समयमा मसँग चुपचाप बस्नुको विकल्प थिएन। तेस्रो घण्टिपछि साथीहरुसँग शौचालय गए। सिगसिग लागिरहेकै थियो, मैले थाहा पाए, मेरो रजस्वला भएको रहेछ।

एकछिन मन अत्तियो, डर लाग्यो। रातो रगत आफ्नो पेन्टिमा देख्दा असजिलो लाग्यो। अनायासै सोच्न आयो, ‘ला ! म त नछुने भए के गर्ने होला?’

म बसेको ठाउँमा पहिलो पल्ट रजस्वला हुँदा घामलाई हेर्न नहुने, २१ दिनसम्म बाहिर निस्कन नहुने, ड्याडि, दाईभाईलाई हेर्न नहुने, अनि कतै छुन नुहने नियम मेरा गाउँले दिदीहरुलाई करकापमा बार्न लगाएको मैले देखेको थिए। यो परम्परा हाम्रो समाजमा गडेर बसेको थियो। पहिलो रजस्वला बारना कडा गर्ने बाबा, आमा र सबै परिवारलाई मैले राम्ररी देखेको थिए।

घरनजिकैको दिदीको पहिलो रजस्वलामा उनी मुर्छा परेर राएको सम्झे । उसलाई गाईको गोठमा २१ दिन राखिएको थियो। बाहिर आएपछि उनले बयान गरेका हरेक अनुभव र उनको रुञ्चे अनुहार आँखामा नाँच्न थाले। थाहा नै नपाई म त रुनपो लागेछु।

आफूले आफैलाई सम्हाल्दै कपडा मिलाए, आँशु पुछ्दै बाहिर आए। धेरै बेर बाहिर ननिस्किएपछि साथीहरु मलाई ‘के भयो’ भनेर कुरा गर्दै रहेछन्। मैले १ कक्षा फड्किएकोले मेरा केटी साथीहरु म भन्दा केही परिपक्क थिए, सबैले रजस्वलाको अनुभव गरि सकेका थिए।

म हँतारिँदै बाहिर आएर भने, ‘मेरो त ‘ब्लड भएछ’ के गर्ने ?

उमाले भनि, ‘परीलाई पड्के लागेछ।’ हा हा हा ।

त्यो सुनेर म पनि हाँसेँ ।

आत्तिएकी मलाई केही सहज भयो। साथीहरुले ‘केही हुन्न, तिमीलाई गारो भए घर जाउ, नत्र छुट्टी पछि सँगै जाउँला’ भनेपछि मन ढुक्क भयो। बेलाबेलामा सुनेको रजस्वलाको हाउँगुजीभन्दा मेरो रजस्वला सामान्य लागिरहेको थियो। अनुहार रापिए पनि मुसुक्क मुस्कुराए अनि कक्षा तिर लागे।

अरु दिन जस्तै कक्षामा साथीहरुसँग पढे, खासै गारो भएन। छुट्टी भएसी फेरी याद आयो ‘ला अब घर जानुपर्छ, ममीले मलाई गाईको गोठमा लगेर राख्ने होला, स्कूल पनि आउन नपाइने भयो भोलिदेखि।’

एक्कासी मनमा पीडा हुन थाल्यो। १५ मिनेटको बाटो मलाई १० घण्टा भन्दा पनि बढि लामो लाग्यो। पाइला ग¥हौँ हुन थाले। वाकवाकी आउला जस्तो भयो। अनि मन मनै गुन्न थाले ‘म त कसैलाइ भन्दिन।’ नभन्यो भनि गोठमा थुनिन परेन । उपाय स्थिर रहेन, ‘होइन होइन। बरु ममीलाई ‘मैले जे भने पनि मान्नु’ भनेर प्रमिस गराउछु अनि भन्छु।’

मेरो अस्थिर मनले ममीलाई प्रमिस गराउने उपाय सही ठानेन। पहिलोपल्ट घर ‘कारागारको यात्रा’ झै भान भयो । घर नजिकै पुगेपछि मैले कसैलाई नभन्ने अनि रजस्वलाका ‘छाप’ लुकाउने योजना बुन्न थाले। ममी घरमा नहुने पक्का थियो। मैले योजना अनुसारको काम गर्न केही सहज हुने वातावरण थियो। कसैले सोधिहाले के भन्ने पनि तयारी उत्तर थिए मेरा।

घरको ढोका खुल्लै रहेछ। भित्र पसेपछि लामो सास फेरे। भर्‍याङ उक्लँदै गर्दा ड्याडि टिभी हेरेर बसिरहनु भएको थाह पाए। मलाई कहाँबाट त्यत्रो फुर्ति आयो थाहा छैन, तर मैले फ्याट्ट बोले,

‘ड्याडि, म त नछुनि भको आज’

अचम्म मान्दै ड्याडि, ‘के भन्छे यो छोरी !’

ड्याडि एकछिन् केही बोल्नु भएन। त्यसपछि ड्याडिलाई याद आयो, ‘पहिलो रजस्वलामा त बाबालाई हेर्न पनि हुन्न भन्छन्। के गर्ने त !’ मेरो तनाव बाबालाई पनि सर्यो, चलिआएको नियममा तलमाथी गरे ममीको गालि खानुपर्ने तनाव बाबालाई पनि थियो। तर बाबाले भरे ममी आएपछि भन्ने सर्तमा मलाई विद्यालयबाट फर्केपछि गर्नुपर्ने नियमित सरसफाई, भान्छामा गएर खाजा खान अनुमति दिनुभयो। म मख्ख परी भाइसँग कोशीमा खेल्न थालेँ।

साँझ झमक्कै पर्यो, ‘ममी घर फर्कदै गरेको बाबा र म दुवैले देख्यौँ। बाबाले साउती गर्नुभयो, म दगुरेर कोठामा छिरे। मेरो भाइ वाल्ल परेर हामीलाई हेरिरहेको थियो। कोठामा बसेर ममीलाई कुर्दा म फतक्क गलिसकेको थिए। बाबाको अगाडि उभिँदा आएको साहास हराईसकेको थियो। मलाई ‘ममीले गोठमा नै लगेर राख्छन्!’ भन्ने डरले चपाईरहेको थियो। ममी घर भित्र पस्नुभयो, ‘मेरो सास फुल्यो, स्वा स्वा गर्न थाले।’
ममीले बाबालाई मेरो खोजी गर्दै बोलेको सुने, मलाई पसिना छुट्यो।

‘छोरी खोई ? मलाई लागेकै थियो यसले खाना बनाउदिन !’

बाबाले ममीको कुरा सक्किन नभ्याउँदै भन्नुभयो, ‘नछुनी भई भन्छे, गएर हेर त जा!’

बाबाको बोली पछि ममी नबोल्दाका केही सेकेन्ड मेरो लागि सबैभन्दा कठिन प्रतिक्षा थियो। मैले ‘अब गोठमा लगेर राख्नुपर्छ’ बाहेक अरु सुन्ने कल्पनै गरेकी थिइन्।

तर ममीले जे बोलेको सुने त्यसले मेरा आँखा रसाए, म पहिलोपल्ट गलत सावित भईरहेकी थिए, ‘हल्ला नगरम् ! घरमै बस्छे, स्कुल पठाउनु छ, भान्छामा छुन नदिउँला, साँझमा कतै लाने कुरा भएन। बिरामी भई भने अर्को आपत्। कसैले केही भने म कुरा मिलाउँला!’ त्यो खुशीको आँशु थियो। मेरो ड्याडि मात्रै हैन ममी पनि सारै बुझ्ने हुनुहुँदोरहेछ।

कोठामा आएर ममीले धेरै मायाले मुसार्नुभयो र भन्नुभयो, ‘परी पेट दुखेको छ की ! गारो भएको छ की छैन?’ आँखाबाट बलिन्द्रा धारा चुहाँउँदै मैले ‘छैन’ मात्र भने।

ममीले मलाई म ठूली भएको स्मरण गराईदिनुभयो। ‘खुब नछुनी हुन रहर लागेको थियो क्यारे, थाहा पाइस् नी हैन!’
मैले सहमतिमा मुन्टो मात्रै हल्लाए।

ममीले स्वर सानो पारी भन्नुभयो, ‘गाउँतीर हल्ला नगर्नु, भोलिदेखि अर्कै बाटो स्कूल जानु म तलसम्म पुर्‍याइदिउँला।’ मेरो चासो गाउँलेलाई ममीले दिने जवाफ रहेछ भन्ने थियो । ममीसँग सरल उत्तर पहिला नै तयार रहेछ, ‘स्कूल छुटाउनु हुँदैन भनेर अर्को बाटो पठाएकी भनिदिउँला। भाइ र बाबालाई देखेउँ भने छेको पर्नु।’

मनमा दुई भावले डेरा जमाएको थियो । ममीको समाजसँग लड्ने साहास देखेर म अवाक् भईरहेकी थिए। अनि खुशीले गदगद पनि । ममीलेसधैँ भाइलाई धेरै माया गरेको देखेर मप्रतिको उहाँको मायालाई मैले कम आँकेको रहेछु।

ममी खाना बनाउन तल जानुभयो। भाई दगुरेर मेरो कोठामा खेल्न आयो। ममी र बाबाले देखे पनि केही भन्नु भएन। म फेरि दंग परे। मेरो कोठामा पानीको भाँडो, गिलास अनि थाल र कचौरा आइपुग्यो।

दोस्रो दिन

बिहान उही कपाल कोर्दा नमिलेको निहुँमा ममीसँग झगडा। तर आज बाबा कपाल सम्याइदिन आउँनुभएन। स्कूल जाने बाटो फेरियो तर भाई मसँगै गयो। विद्यालयमा मेरो उपस्थितीले साथीहरुलाई अचम्मित पारेको थियो। उनीहरुले मैले घरमा भनिन भन्ठाने।

बाबा ममीले विद्यालय छुटाउन नहुने कुरा गरेको सुन्दा साथीहरु चकित परे, किनकी मेरा साथीहरु पहिलो रजस्वालामा विद्यालय आएका थिएनन्। साँझ घर फर्कदा बाबालाई बाटोमा भेटेँ, हामीसँगै घर गयौँ।

जेठको महिना थियो। आँगनमा राता आलुपखडा पहिलोपल्ट लटरम्मै फलेको थियो। रजस्वलामा अमिलो खान नहुने, झन् पहिलोपल्ट त बोटविरुवा छुँदा पनि मर्छ भन्थे। आफूलाई रोके, भाइले एउटा आलुपखडा ल्याइदियो। सारै मिठो थियो। राता आलुपखडाले लोभ्याएको मनलाई धेरै बेर थाम्न सकिन। भाईले उसले अरु टिप्न नसकेको भन्दै मलाई बाहिर लान खोज्यो। मैले हुन्न भने, उसले मलाई ‘कसैलाई भन्दिन’ भनेर राजी गरायो।

उ मेरो र म उसको ‘पार्टनर इन क्राइम’ थियौँ। भाइले बाहिर मान्छे हेर्यो, कोही नभएको मौका छोपी म आँगनको डिलमा भएको आलुपखडाको रुख चढे। हामीलाई धेरै हतारो थियो, मैले फटाफट टिपे, उसले झोलामा हाल्यो। ओर्लने सुरसार कस्दै थिए, तलघरबाट हजुआमा टुप्लुक्क आँगनमा आइपुग्नुभयो। हामीदुवैको हंशले ठाउँ छोड्यो।

अहिलेसम्म समाजबाट लुकाई लुकाई गरेको विद्रोहको पोल खोल्ने डरले अनुहार तातो भयो। दगुरेर कोठामा पुग्दा आलुपखडा जस्तै रातो पनि भएछ। मिठो आलुपखडाका तितो लाग्न थाल्यो । रिसको झोकमा भाईलाई झपारे, ‘तैले गरेर मैलै गाली खाने भए।’

उसले मुख न्याउरो पार्यो। हजूरआमा भर्‍याङ उक्लेर सिँधै मेरो कोठामा आउनुभयो।

गाली गर्लान् सोचेर हामी घोसेमुन्टो लगाईरहेका थियौँ।

हजूरआमाले त ‘काँचो आलुपखडा धेरै नखाओ केटाकेटी, झाडाबान्ता लाग्ला भन्नुभो!’ म मुख ठाडो पार्दै थिए, भाई प्वाक्क बोल्यो, ‘के हो झाडाबान्ता भनेको ? नछुने भएको बेला छोएकोले बोटलाई लाग्ने हो ? हि हि’

प्वाक्क किन बोल्न पर्या होला यसलाई !

भाईको कुराले हजूरआमा हाँस्नुभयो, मलाई पनि बाटो खुल्यो।

८० वर्ष कटिसक्नु भएकी हजूरआमाले भाईलाई भन्नुभयो, ‘केही हुन्न बाबु, म नि तेरो दिदीजस्तै थिए। अझ मैले त कति फटाई गरेको छु।
हामीलाई हजूरआमाको कथा सुन्न चाख लागेको थियो, बुढीमाउलाई कुरा सुनाउने मान्छे चाहिएको थियो।

‘हाम्रा पालमा सुरुवाल, कट्टु थिएन। आमाले छोरी नछुनी भई भनेर गोठमा राख्नु भएको थियो, बाको प्यारी छोरी म बाले गोठबाटै काँधमा बोकेर हिड्नु भयो, बाँको काँधभरी रगत लाग्यो। घोडाले पानी खाने पोखरी थियो, दुवैले नुहायौँ अनि चोखियौँ।’

हजूरआमाको कुरा सुनेपछि म अचम्मको दुविधामा फसेँ थिए, रजस्वलाबारे ममी र हजूरआमाको विचारमा भेद थियो। अनि मलाई अगाडि दिनमा के गर्थे थाहा थिएन। किनकी ममीभन्दा पुरानो समयकी मेरी हजूरआमाले पहिलो रजस्वला बार्नुभएनछ, मैले बारीरहेकी छु। मनमनै निष्कर्ष निकाले म पनि आफ्नो छुट्टै नियम बनाउँछु।
….

लुकामारी गर्दा गर्दै १५ दिन बित्यो। दिदीहरुलाई २१ दिनमा बाहिर निकालेको भएपनि ममीले १५ दिनमा नै मलाई ‘चोख्याउने’ भन्नुभएको थियो। हामी बाहुन बाजेकोमा पूजा गर्न जाँदै थियौँ। नबुझेपनि ‘चोख्याउने’ शब्दले मलाई चिथोरीरहको थियो।

चोखिनेदिन ममी बिहान ४ बजे नै मलाई नुहाउनलाई उठाउन आउँनुभयो । उहाँको अनुसार मैले नुहाएको कसैले देख्नु हुँदैनथियो । म ममीको क्रान्तिकारी पाइला अनि पुरातन सोचको मिश्रणमा गाँजिएको थिए, उहाँको कुरा ‘हुन्छ’ भन्नु बाहेक मसँग विकल्प थिएन।

बिहान ४ बजे उठेर जाने सल्लाह अघिल्लो दिनको सल्लाह अनुसार मलाई बोलाउन आउँदा ममीको आँखा प्याडको नखोलिएको प्याकेटमा पुग्यो।

म पर सरेको दोस्रो दिनमा नै बाबाले मलाई ‘पुरानो कपडा लगाउन हुँदैन’ भनेर ल्याइदिनुभएको थियो। ममीलाई एक्कासी रन्का छुट्यो।
‘यो त नछुनी भएकी छैन कि क्या हो, रहर लागेर मात्र भन्या जस्तो छ ?’

ममीको त्यो बचन मेरो मुटुमा काँडा जसरी बिज्यो, मैले प्रतिवाद गर्नु अगाडि नै उहाँ रिसले पड्कनुभयो। त्यसपछि मैले घरमा नुहाउने निर्णय बदलियो, म अब खोलामा नुहाउन जाने भए।

उहाँलाई मैले झुट बोले भन्ने लागेछ, चिसो पानीमा चोपलेर मलाई भन्नुभयो, ‘यही हो नछुनी हुने भनेको, बुझिस् कि ! अब नि झुटो बोल्छेस्!’
चिसोले कठ्याङ्ग्रीएसी बल्ल मेरो बोली फुट्यो, ‘मेरो पहिलोदिनदेखि रगत नै भएको छैन, के गर्नु त!’

ममी शान्त हुनुभयो। मलाई कपडा लगाउन सघाउँदै उहाँले पछुतो मान्नुभयो, ‘अगि भन्नु पर्दैन ? व्यर्थै चिसो पानीमा डुबाए, बिरामी भई भनी अर्को आपत!’

हामी नुहाएर घर गयौँ। उज्यालो भएपछि अघिल्लो दिनको योजना अनुसार हामी बाहुनकोमा चोख्याउने पूजा गर्न गयौँ। बाजे भर्खरै निस्कनुभएको रहेछ, बजैले बाजेलाई ढिला हुने भएकोले ८ बजेपछि आउँन भनिन्। ममीले मेरो स्कूल छुट्छ भन्ने बाहानामा बाहुनी बजैलाई नै पूजाको काम टारिदिन आग्रह गर्नुभयो। पण्डितनी बजैले शालिग्रामको पानी छर्केर ‘त तिम्री छोरी चोखिइन्’ भनिन्।

मलाई त्यहाँ जे जे भयो, त्यसले मनमा आँधि ल्याइरहेको थियो। घर फर्कदै गर्दा ममीले मलाई साउती गरी भन्नुभयो, ‘पूजा नगरेको कुरा कसैलाई नभन्नु है !’

घरमा आएपछि मलाई मेरो बाबाले मुख हेरेर दिदीहरुलाई झै चुरा, टिका, कपडा उपहार दिनु भएन। मलाई ती चिजको रहर थियो तर बाबाले हातमा हजारको नोट थमाएर भन्नुभयो, छोरी अब ठूली भई ज्ञानी भई मैले नयाँ कुरा किनिदिनु भन्दा पनि आफूलाई जे मनपर्छ त्यही किनेर ल्याउ है।’

म फेरी जिल्लिए, २१ दिनको लागि मलाई भान्छामा जान रोक लगाइएको थियो। तर म नियमित स्कूल भने गएकै थिए। केही बारनाका बिच स्वतन्त्रताको अनुभूति थियो।

आज पनि मलाई पहिलो रजस्वलाको अनुभव साट्न पाउँदा रमाइलो लाग्छ। पहिलो रजस्वलाको अनुभव सबैको फरक फरक हुन्छन्।

मलाई भने मेरो ड्याडी ममीले जीवनको नयाँ पाठ पढाउनु भएको थियो। उहाँहरुले सबैजस्तै भएर आफू कसरी पृथक हुन सकिन्छ भनेर मलाई नसिकाउनुभएको भए, आज म यो कुरा व्यक्त गर्न सक्ने थिइन।

त्यो समयमा गोठमा नराखी घरमा राख्नु, स्कूल जान दिनु, ड्याडिले प्याड किनेर ल्याइदिनु, पूजा नलाई सालिग्रामको पानीले म चोख्खिनु जस्ता घटनाले मैले नियम बनाउनुपर्छ र त्यसको पालना आफूलाई सहज हुने तरिकाले गर्नुपर्छ भन्ने बुझे। मेरा यी भोगाई त्यतिबेला मेरा लागि समान्य दुस्साहस थिएनन्, त्यसैले मेरा लागि कथा बने। मैले समाजमा स्थापित कुसस्कार र नियमलाई कथित उल्लंघन गरेर जीवनको नयाँ पाठ सिके।

जसरी ममीले मेरो सुविधाको लागि स्कूल जाने बाटो मोड्नु भएको थियो, त्यसै गरी ‘जीवनमा आएका अफ्ठेरालाई पनि नयाँ सोच र विकल्पको खोजी गरी आफ्नो बाटो आफै बनाई हिड्नु पर्छ’ भन्ने मेरो सिकाई हो।

बैशाख ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्