इन्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्ति काफ्ले र अर्याललाई

वाशिङ्गटन डिसी– नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति वरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ।

पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्न सुरु गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा दर्शनाचार्य (एमफील)को उपाधि हासिल गरी सोही विषयमा विद्यावारिधि गर्दै गरेका वरिष्ठ पत्रकार कपिल काफ्ले नेपाल समाचारपत्रका सम्पादक हुन्। उनी हाल नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्।

यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा उप–प्राध्यापकका रूपमा कार्यरत देवराज अर्यालले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा राजनीतिक परिवर्तनमा मिडियाको भूमिकासम्बन्धी प्रश्नमा केन्द्रित भइ विद्यावारिधि गरिरहेका छन्।

बैशाख ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्