कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (२०२२ अप्रिल १० देखि १६ सम्म)

अधिकांश जिल्ला अब संक्रमण शून्य

विश्वबाट कोरोना संक्रमण र प्यान्डेमिक क्रमशः हराउँदै जाने क्रम जारी छ र सोही अवस्था नेपालमा पनि देखिँदै आएको छ। पछिल्लो समय नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमण शून्य समान भइसकेको छ भने थोरै जिल्लामा मात्रै फाट्टफुट्ट नयाँ कोरोना संक्रमण देखिएको छ।

एक साताको नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने न्यून भए पनि कोरोना संक्रमण निरन्तर देखिराखेका सीमित जिल्लामा काठमाडौँ, ललितपुर, कैलाली, बाग्लुङ, कास्की, मकवानपुर आदि जिल्ला पर्छन् जहाँ दिनमा १–२ वटा नयाँ संक्रमण देखिने गरेको छ। काठमाडौँ जिल्लामा भने हरेक दिन औसतमा ५–६ नयाँ संक्रमण देखिने गरेको छ।

नेपालमा कोरोना प्यान्डेमिकको इतिहासमा यसरी कोरोना संक्रमण अति न्यून भएको प्यान्डेमिकको सुरुवाती अवस्था अर्थात् सन् २०२० को अप्रिल अर्थात् २ वर्षपछि पहिलो पटक हो। सन् २०२० अप्रिल अर्थात् २०७६ चैत, २०७७ वैशाखभन्दा पहिला नेपालमा फाट्टफुट्ट मात्रै कोरोना संक्रमण देखिने गरेको थियो भने ०२० को मे महिनादेखि संक्रमण निरन्तर उकालो लाग्न सुरु गरेको थियो।

त्यस्तै, नेपालको प्यान्डेमिक इतिहासमा सबैभन्दा धेरै निरन्तर नयाँ संक्रमण देखिने गरेको देशको राजधानी तथा व्यापारी सहर काठमाडौँ जिल्लामा दुई वर्षपछि पहिलो पटक आइतबार अप्रिल १० मा नयाँ संक्रमण शून्य रह्यो। त्यस्तै, नेपालमा सबैभन्दा कम कोरोना संक्रमण देखिएको जिल्ला मनाङमा अन्तिम कोरोना संक्रमण देखिएको ११ महिना भइसकेको छ। त्यहाँ अन्तिम कोरोना संक्रमण २०२१ मे अन्त्यतिर देखिएको थियो। त्यस्तै, कोरोना संक्रमण अति न्यून भएका डोल्पा, मुस्ताङ आदि जिल्लामा पनि सन् २०२१ मे को अन्त्यसम्म १–२ वटा संक्रमण देखिएकोमा त्यसपछि देखिएको छैन।

पछिल्लो अवस्थामा दक्षिण एसियामा पनि दैनिक कोरोना संक्रमण र दैनिक कोरोना मृत्यु निकै न्यून भएको छ। यस क्षेत्रमा सन् २०२० को अप्रिलसम्म जम्मा कोरोना संक्रमण निकै न्यून थियो र मेको मध्यतिरबाट भारत, नेपाललगायत सबै देशमा संक्रमण तीव्र फैलिन सुरु गरेको थियो।

हाल दक्षिण एसियामा दैनिक २५००–३५०० नयाँ कोरोना संक्रमण र ३०–९० नयाँ कोरोना मृत्यु देखिने गरेको छ जुन प्यान्डेमिक इतिहासमा करिब दुई वर्षपछि सबैभन्दा कम हो।

त्यस्तै, स्थिति हाल यस क्षेत्रका अधिकांश देशमा देखिएको छ, भुटानमा बाहेक। भुटानमा यसै वर्षको सुरुवाती अर्थात् ४ महिनाभन्दा अघि सुरु भएको पछिल्लो प्यान्डेमिक लहर हाल पनि निरन्तर रही झन् ठूलो हुँदै गएको छ भने लामो समयसम्म कोरोना मृत्यु शून्य समान रहेको त्यहाँ हाल मृत्यु पनि फाट्टफुट्ट देखिने क्रम जारी छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्ड मिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांक सहीरूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२मार्च ३० देखि अप्रिल १३, कोकोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण स्थिरजस्तो देखिएको छ जुन औसतमा दैनिक २९०० जति छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय निकै कम भई औसतमा ५० भन्दा कम भएको छ।

चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाललगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने भुटानमा हाल पनि दैनिक संक्रमण बढ्दो क्रममा देखिन्छ जुन हाल भारतको भन्दा निरन्तर धेरै हुँदै गएको छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ। पछिल्लो समय भारतमा पनि दैनिक कोरोना मृत्यु अति कम भएको छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार हाल नेपालमा यस क्षेत्रमा सबैभन्दा कम संक्रमण दर ०.१८% छ भने नेपाललगायत भारत र पाकिस्तानमा पनि संक्रमण दर १% भन्दा कम छ। त्यस्तै बंगलादेश र श्रीलंकामा २% को हाराहारीमा संक्रमण दर छ भने अन्य देशको संक्रमण दर उपलब्ध छैन।

हाल भुटानको संक्रमण दर ५–१०% रहेको अनुमान गर्न सकिन्छ जुन डब्लुएचओको मापदण्डभन्दा माथि हो र जहाँ संक्रमण दर यसअघि शून्य समान थियो।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ अप्रिल १० देखि १६ अर्थात् ०७८ चैत २७ देखि २०७९ वैशाख ३ गते सम्मको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख ३गते शनिबारसम्म, देशभरि जम्मा ९८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८६५४ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि १२३ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य रह्यो जुन दुई हप्ताअघि पनि शून्य थियो। हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५१ पुगेको छ।

यसरी नेपालमा दैनिक कोरोना मृत्यु पछिल्लो समय निकै कम भएको छ र एक महिनामा कोरोना मृत्यु जम्मा १ मात्र भएको छ। नेपालमा हालसम्म अन्तिम कोरोना मृत्यु मार्च २२ मा एक जनाको भएको थियो।

गत हप्ता जम्मा २०८१४ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि २३५०४ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात ४९.९५% देखियो जुन दुई हप्ताअघि ३३.२% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटीदर न्यूनतम ०.१३% देखि अधिकतम ०.८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.४५% रह्यो जुन दुई हप्ताअघि ०.५४% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। हाल दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण प्यान्डेमिक इतिहासकै सबैभन्दा कम भएको छ।

गत हप्ता ०७८ चैत २७ देखि २०७९ वैशाख ३, नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

बैशाख ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्