आगामी निर्वाचन गणतन्त्रवादी र राजावादीहरुबीचको लडाइँ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गणतन्त्रवादी र राजावादी दुई ध्रुव देखिएको उल्लेख गर्दै आगामी निर्वाचनमा संविधानविरोधी शक्तिलाई परास्त गर्ने बताएका छन्।

‘संविधानविरोधी कसरतलाई असफल तुल्याइयो, संविधान मिच्ने अहिलेको प्रवृत्ति पनि परास्त गर्छौँ,’ मा‌ओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा सोमबार दिउँसो उनले भने।

शिक्षा, स्वास्थ्य र रोजगारीमा आम जनताको अधिकार सुनिश्चित गर्ने काम पनि आगामी निर्वाचनले गर्ने माओवादी अध्यक्ष प्रचण्डले दाबी गरे।

स्थानीय निर्वाचनसाथै प्रदेश र संघीय निर्वाचनमा पनि जनताका मुद्दालाई केन्द्रमा राख्ने उनले बताए।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आन्दोलनको बलमा प्राप्त भएको उल्लेख गर्दै यसलाई रोक्न खोज्दा देश गतिशील हुन नसकेको बताए।

उनले आफ्नो तहबाट भएका कमजोरीमा पनि आत्मसमीक्षा गर्नुपर्ने बताए।

उनले सोमबार बेलुकासम्म देशभरका सबै महानगर र उपमहानगरमा गठबन्धनले सिट बाँडफाँट टुंग्याउने बताएका छन्।

उनले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा गठबन्धनले सबै स्थानमा बाँडफाँट टुंग्याउने बताएका हुन्।

गठबन्धनभित्र निर्वाचन सार्ने कुनै छलफल नभएको उल्लेख गर्दै वैशाख ३० गते नै निर्वाचन हुने उनले बताए।

उनले भने, ‘निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि आइरहेको छ। तर निर्वाचन सर्दैन, निर्वाचन सर्ने सम्भावना कहिँ कतै देखिएको छैन। निर्वाचनको दिन बिहान पनि निर्वाचन सर्छ रे नि भन्ने विचित्र संस्कार छ हामीकहाँ तर निर्वाचन सर्दैन।’

बैशाख ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्