स्थानीय तह निर्वाचन : खाेटाङका ६ पालिकामा चार दल र चारमा तीन दलबीच गठबन्धन हुने

आगामी वैशाख ३० गते हुने भनिएकाे स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

गत चैत १६ गतेदेखि सुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिए।

दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा चार पालिकामा कांग्रेसबाहेक र ६ पालिकामा कांग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हाे ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले बताए ।

साकेला गाउँपालिकामा भने माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकअर्काले सहयोग गर्ने सहमति भएको छ ।

बाँकी ६ पालिकामा भने कांग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी माओवादीका केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिइन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी खोटाङका अध्यक्ष दीपक पाण्डेले बताए ।

यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेदवार पाउनेछन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन् ।

पालिकामा तालमेल र भागबण्डाको विषय टुङ्गिएलगत्तै कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल केन्द्रित भएको जनाइएको छ ।

दश स्थानीय तहका ७९ वडामा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिभित्र टुङ्गो लगाइसक्ने गरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिए।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी एक स्थानीय तहमा विजयी भएको थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले खोटाङ अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको छ ।

एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाउन पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए ।

एमालेका अनुसार वडास्तरीय उम्मेदवारको टुङ्गो लागिसकेको छ भने पालिकास्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ ।

बैशाख ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्