युक्रेन युद्ध

रुसले डोनबास क्षेत्रलाई निशाना बनायो, हामी डटेर संघर्ष गर्ने छौँ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर : रोयटर्स

रुसले आफ्नो देशको पूर्वी क्षेत्र डोनबास कब्जा गर्नका लागि गम्भीर आक्रमण सुरु गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसले डोनबास क्षेत्रका शहर-बजारमा सोमबार मिसाइल, रकेटसँगै गोलाबारी गरेको थियो । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षाका लागि संघर्ष सुरू भएको बताए ।

युक्रेनका प्रमुख सुरक्षा अधिकारी ओलेक्सी दानिलोभका अनुसार रुसी सैनिकले युक्रेनी अग्रपंक्तिलाई तोड्ने प्रयास गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

किएभ कब्जा गर्न असफल भएको रुसले डोनबास क्षेत्रमा आक्रमण केन्द्रित गरेको हो । सोमबारदेखि उसले सो क्षेत्रमा ठूलो मात्रामा गोलाबारी थालेको हो ।

लुहान्स्कको क्रेमिन्ना तथा डोनेट्स्कसहितका पूर्वी क्षेत्रमा रुसले सोमबार गरेको गोलाबारकिा कारण कम्तीमा ८ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीले उल्लेख गरेका छन् । लुहान्स्क क्षेत्रको अवस्था निकै नाजुक रहेको त्यहाँका गभर्नरले बताएका छन् ।

यस्तै, पश्चिमी शहर लभिभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा सातजना सर्वसाधारणको मृत्यु भएको छ । त्यहाँ अरू ११ जना घाइते भएका छन् ।

भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘हाम्रा सैनिकले हाम्राे रक्षा गर्ने छन् । कुनै पनि कुरा नछोड्नु होला ।’

‘रुसी सैनिकको निकै ठूलो अंश अहिले डोनबास क्षेत्रमा केन्द्रित भएको छ । तर जति नै सैनिक आए पनि हामीले संघर्ष गर्ने छौँ’, जेलेन्स्कीले भनेका छन् ।

रुसले लुहान्स्कको ९३ प्रतिशत र डोनेट्स्कको ५४ प्रतिशत भाग आफ्नो कब्जामा आएको दाबी गरेको छ । ती क्षेत्रमा बाँकी रहेका युक्रेनी सैनिकलाई घेराबन्दी गर्ने प्रयास भइरहेको रुसले बताएको छ ।

बैशाख ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्