तौल घटाउने बेरियाट्रिक सर्जरीबारे ग्यास्ट्रो सर्जन डा. राकेश साहसँग अन्तर्वार्ता

‘एक किलो तौल घट्दा एक वर्ष आयु बढ्छ’ (भिडियो)

मोटोपना रोग हो भन्ने कुरा धेरैलाई अझै थाहा छैन। चिकित्सकहरू मोटोपनालाई रोगको खानी भनेर बुझ्ने गर्छन्। पछिल्लो समय मोटोपनाको समस्या बढ्दै गएको विज्ञहरूले बताउने गरेका छन्। विभिन्न अनुसन्धानका अनुसार संसारमा प्रत्येक वर्ष ३० लाख मानिसले मोटोपनाकै कारण अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ। चिकित्सकका अनुसार अबको केही वर्षमा मोटोपना मानिसको मृत्युको प्रमुख कारण बन्नेछ।

परिवर्तित जीवनशैलीका कारण मोटोपनाको समस्या बढ्दै गएको विज्ञहरू बताउँछन्। प्रमुख स्वास्थ्य समस्याको रूप लिँदै गएको मोटोपनाबाट छुट्कारा पाउन बेरियाट्रिक शल्यक्रिया हुने गरेको छ। कसरी गरिन्छ यसको शल्यक्रिया, यसका फाइदा कति र कस्तो व्यक्तिका लागि उपयुक्त भन्ने विषयमा ग्यास्ट्रो सर्जन डा. राकेश साहसँग गरिएको कुराकानीः

० बेरियाट्रिक सर्जरी भनेको के हो? यो सर्जरी कस्ता व्यक्तिका लागि गरिन्छ?

– मुख्यतया यो मोटोपन भएको व्यक्तिलाई गरिने शल्यक्रिया हो। फेरि मोटोपना कस्ता व्यक्तिलाई भन्ने होला। हाम्रो चिकित्सकीय भाषामा जो व्यक्ति बडी, मास इन्डेक्स (बीएमआई) ३५ भन्दा बढी छ, त्यस्तो व्यक्तिलाई मोटोपना भएको व्यक्ति भन्ने गर्छौं।

सामान्यतया बीएमआई धेरै भनेको २५ हो। यो भन्दा माथि भयो भने मोटो भनिन्छ। तर, ३५ भन्दा माथि बीएमआई भएमा मोटोपना रोग भएको मानिन्छ।

बेरियाट्रिक सर्जरी मोटोपनका कारण विभिन्न रोग लागेका व्यक्तिमा गरिने शल्यक्रिया हो। यो शल्यक्रिया शरीरमा दुर्बिनको प्रविधि अथवा रोबटिक प्रविधिबाट आन्द्रा वा अमाशयमा गर्ने शल्यक्रिया हो।

धेरैलाई बेरियाट्रिक सर्जरी भनेको लाइपोसक्सन सर्जरी हो भन्ने बुझाइ छ। यो सर्जरी लाइपोसक्सन होइन। यो सर्जरीमा हामी एक ग्राम बोसो पनि फाल्दैनौँ। बोसो बाटेर कुनै मानिस दुब्लाउनु भनेको हाँगा काटेर रूख सुक्नुजस्तै हो।

तर, बेरियाट्रिक सर्जरीमा मोटोपन जुन कारणले हुन्छ। त्यसको जरामा गएर काट्ने हो। अमाशय वा आन्द्रामा गर्ने शल्यक्रियालाई बेरियाट्रिक सर्जरी भनिन्छ।

० बीएमआई भनेको के हो?

– बीएमआई भनेको एउटा टुल हो। तौललाई किलोग्राममा लिइन्छ र उचाइलाई मिटर स्क्वायरमा लिएर त्यसलाई गुणान गर्दा बीएमआई निस्कन्छ। विश्वमा धेरै प्रयोग हुने सूत्र यही नै हो। यसरी हामी मोटापनाको मापन गर्छाैं।

यसमा मुख्यतया बीएमआई नै हो। सामान्यतया महिलामा बीएमआई २४.९ अर्थात् २५ मिटर केजी स्क्वायर छ भने त्यसलाई हामी सामान्य मान्छौँ। त्योभन्दा बढी छ भने त्यसलाई मोटोपना मान्छौँ।

अर्को नाम भनेको कम्मरको हो। यसमा महिलाको कम्मर ४० इन्चभन्दा बढी छ भने त्यसलाई हामी मोटापना भएको मान्छौँ। पुरुषको कम्मर ३५ इन्चभन्दा माथि छ भने त्यसलाई माटोपना भएको मानिन्छ।

० बेरियाट्रिक सर्जरीका प्रकार छन्?

– हामीले यसलाई तीन प्रकारमा राखेका छौँ। रेस्टिक्ट्रिभ सर्जरी। जसमा हामी बेल्ट लगाएर आमाशयलाई शल्यक्रिया गरेर सानो बनाइदिन्छौँ। यसो गर्दा आमाशय सानो हुन्छ र खाना कम खाइन्छ। खाना कम खाने भएका कारण यसलाई हामी रेस्टिक्ट्रिभ सर्जरी भन्छौँ।

अर्को मेटाबोलिक सर्जरी हुन्छ। यो सर्जरीमा आन्द्राको लम्बाइलाई सानो बनाइदिन्छौँ। हामी जति पनि खानेकुरा खान्छौँ, त्यो सबै आन्द्राले सोस्ने गर्छ। त्यसैले हामीले आन्द्रालाई नै बाइपास गरिदिन्छौँ। यसो गर्दा खानेकुरा सोस्ने प्रक्रिया कम हुन्छ, त्यसैले यो सर्जरीलाई हामी मेटाबोलिक भन्छौँ।

तेस्रो भनेको रेस्टिक्ट्रिभ र मेटाबोलिक दुई वटा मिश्रण हुन्छ। जसलाई हामी मिक्स सेटअप बेरियाट्रिक सर्जरी भन्छौँ। यसमा हामी आमाशयको केही भाग काट्छौँ। जसले गर्दा खाना कम खानुसँगै भोक लगाउने हर्मोन उत्पादन गर्ने भागलाई हामी काट्छौँ। यी विभिन्न प्रकारका सर्जरीका आ–आफ्नै विशेषता छन्।

० कस्ता व्यक्तिलाई कस्तो प्रकारको सर्जरी गरिन्छ?

– जब सुरुमा बेरियाट्रिक सर्जरीको कुरा आयो। त्यो बेला रेस्टिक्ट्रिभ सर्जरी धेरै लोकप्रिय थियो। त्यसमा हामीले चाहेको परिणाम आउन सकेन। त्यसकारण यो सर्जरी अहिले लोप भइसकेको छ। यो सर्जरी गर्न हामी रुचाउँदैनौँ। र, कसैलाई सल्लाह पनि दिँदैनौँ।

बाँकी दुई वटा मेटाबोलिक र मिक्स सर्जरी गर्ने गरेका छौँ। यो सर्जरी धेरै मोटोपन भएका व्यक्ति जसको बीएमआई ५५ भन्दा माथि छ। त्यस्तो बिरामीमा हामी मेटाबोलिकतिर जान्छौँ। बीएमआई ५५ भन्दा तल भएका व्यक्तिमा हामी मिक्स सर्जरी गर्छौं।

बेरियाट्रिक सर्जरीको उद्देश्य बिरामीलाई स्वस्थ बनाउनु हो। मिक्स गर्दा माइक्रो न्युट्रेन्ट डिफिसिएन्सी हुने सम्भावना एकदमै कम हुन्छ। त्यसैले धेरै जनाले गर्न रुचाउने भनेको मिक्स सर्जरी हो।

० बेरियाट्रिक सर्जरी किन र कस्तो अवस्थामा गरिन्छ?

– तौल घटाउनुजस्तो झन्झटिलो केही छैन। हामीकहाँ तौल धेरै भएर एकदमै निरास भइरहेका व्यक्ति आउँछन्। तौल घटाउनका लागि विभिन्न विधि उपनाउँदा पनि तौल घटाउन सकिरहेका हुँदैनन्। हरेक कोसिस गर्दा पनि उनीहरू असफल भएपछि मात्र यो सर्जरी गर्छौं।

फेरि सर्जरी गर्नुअगाडि हामी उक्त व्यक्ति अरु विधि डाइट कन्ट्रोल, व्यायाम गरेर तौल घटाउने प्रयास गरेको छ, छैन भनेर हेर्छौँ। जसले कोसिस गरेकै छन्, त्यस्ता व्यक्तिलाई यो सर्जरी गर्दैनाैँ।

हामीले भनेअनुसार अनुशासनमा नबस्ने व्यक्तिको सर्जरी गर्नुको कुनै अर्थ रहन्न। कम्तीमा पनि दुई वर्ष अन्य विधिबाट तौल कम गर्ने प्रयास गरेको हुनुपर्छ। त्यसबाट भएन भने मात्र सर्जरीमा जान्छौँ।

अर्को कुरा बीएमआई कसैको ३५ भन्दा माथि छ भने सर्जरी गर्नुपर्छ। अर्को बीएमआई ३२.५ भन्दा बढी भएका विभिन्न रोग लागेका व्यक्तिलाई सर्जरी गर्न सुझाव दिन्छौँ।

० बेरियाट्रिक सर्जरीका फाइदा के छन्?

– मोटोपना एउटा रोग हो। यसलाई किन रोग भनियो भन्ने कौतुहल जाग्न सक्छ। मोटोपना भएको व्यक्तिमा अरू विभिन्न प्रकारको मेटाबोलिक सिन्ड्रम देखिन्छ। त्यस्ता व्यक्तिमा सुगर, हाइपरटेन्सन, कार्डियाक फेलर, मस्तिष्क घात, केही प्रकारका क्यान्सर, हृदयाघात, पित्तथैली, कलेजोसम्बन्धी रोग, घुर्नेजस्ता समस्या देखिने गर्छन्। धेरै मोटो हुँदा खुट्टाको जोर्नी खिइने समस्या हुन्छ। यी समस्याबाट मुक्ति पाउन बेरियाट्रिक सर्जरी गर्न हामी सुझाउँछौँ।

यो कुरा रिसर्चले पनि देखाएको छ। बेरियाट्रिक सर्जरी गरेपछि मधुमेह निको हुने सम्भावना ८० देखि ८५ प्रतिशतसम्म हुन्छ।

एक किलोग्राम तौल घट्दै गर्दा एक वर्षले आयु बढ्छ भनिन्छ नि!

० शरीरमा भएका प्राकृतिक कुरालाई काटेर फाल्दा कस्तो असर देखिन्छ?

– मोटोपना रोग हो। यो प्राकृतिक हुनै सक्दैन। हामीले बिरामीलाई गरिने जुन उपचार छ, यो भनेको निरोगी बनाउन गरिने सर्जरी हो। सर्जरी गर्दा साइडइफेक्ट त हुन्छ नै! यो सर्जरी गर्दा साइडइफेक्ट भन्दा पनि यसको सकारात्मक पक्ष धेरै छ।

० बेरियाट्रिक सर्जरी गर्न खर्च कति लाग्छ?

– यसका लागि अहिलेसम्म लागत झण्डै–झण्डै ५ लाखजति लाग्ने गरेको छ। यति रकममा सबै पर्छ। बेड चार्ज, औषधि, अपरेसन चार्ज, अपरेसनका लागि चाहिने सामान यो प्रविधिमा दुर्बिन प्रयोग हुने हँुदा अलि महँगो पर्न जान्छ।

बैशाख ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्