‘फेवातालमा साइँली’का सर्जक भन्छन्- यति हिट होला भन्ने साेचेकै थिइन (भिडियो)

काठमाडौँ – ‘फेवातालमा साँइली’ का लेखक किरण माइकल भन्छन्, ‘यति हिट होला भन्ने सोचेको नै थिइन।’

लोक गायक रामचन्द्र काफ्ले ‘गामबेसी’ एल्बमको तयारी गरिरहेका थिए। उनीसँगै रामहरि पौडेल र किरण माइकलसँगै थिए। काफ्ले र किरण साथसाथ बस्थे, साथै काम गर्थे। काफ्ले गीतमा स्वर र संगीत भर्थे, किरण माइकल गीतका शब्द कोर्थे।

रामहरी पौडेल काममा सहभागी नहुँदा पनि गीतका स्रोता भने पक्कै हुन्थे।

त्यो साँझ काफ्लेले माइकललाई गीत लेख्न अराए। किरणको दिमागमा फुर्‍यो, ‘फेवातालमा साँइली डुंगा सलल।’

काफ्लेले भने, ‘क्याची छ त कान्छु, अगाडि पनि पूरा गरौँ।’ माइकलले त्यसमा थपे, ‘सम्झनामा तिम्रो, तस्बिर झलल।’

यो गीत गाउने भाग भने अहिलेका चर्चित गायक शिव परियारमा आइपुग्यो। यही गीत परियारका लागि नेपाली संगीतप्रेमीको माझमा स्थापित गायकीको जग सावित भयो। शिवलाई अहिले पनि त्यही गीतले धेरैले सम्झन्छन्।

गीत सिर्जनाको यतिका वर्षपछि गीतका रचनाकार किरण माइकल सम्झन्छन्, ‘अचानक फुरेको गीत थियो, तर त्यो गीतको खासियत अर्कै बन्यो।’

करियरको सुरुवातमा नै हिट भएको उनको यो गीतले संगीत आकाशमा यत्रो उचाई चुम्ला भनेर उनले कहिले पनि सोचेका थिएनन्।

नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्दा गीतकारको रुपमा प्रवेश गरेका माइकल अहिले गीत गाउँछन्, संगीत बनाउँछन्। कलाकारिताको अर्को विधा चलचित्रमा उनी ‘स्क्रिप्ट’ लेख्छन्। २० वर्ष भन्दा धेरै यो क्षेत्रमा लगानी गरेका माइकलले आफ्नो सुरुवाति दिन यसरी सम्झे, ‘मैले २०५२–५३ सालबाट गीत लेख्न शुरु गरेको हुँ। व्यवसायीक रुपमा अलि पछि आएँ।’

त्यतिबेला टेपमा गीत सुन्ने चलन थियो। नेप्थ्य, मंगोलियन हर्ट, कन्दराका गीत उनले सुन्दै हुर्किएका हुन् । त्यसरी सुन्दै गुनगुनाउँथे। विद्यालयमा गीत गाउन थाले। त्यसपछि उनी यही गीत लेख्न थाले। यही गर्छु भनेर होइन, समयले जता लग्यो त्यतै उनी लगे ।

यो क्षेत्रमा पेशागत रुपमा आउनु अगाडि उनका नजिकका लोक गायक रामचन्द्र काफ्ले चर्चित भइसकेका थिए । कुरै कुरामा उनले काफ्लेलाई आफूले लेखेको गीतको नोटबुक थमाए, त्यसपछि उनले लेखेको पहिलो गीत रेकर्ड भयो।

‘भो म त सक्दिन’ बोलको गीत ताल म्यूजिकबाट सार्वजनिक भयो। भीमसेन लामाले गाउनु भएको थियो।’ उनले सम्झे, ‘गीत सार्वजनिक भएपछि क्यासेटको कभरमा आफ्नो नाम पढ्नुको मजा अर्कै हुने रहेछ, परिवारमा पनि यसले सकारात्मक कुरा भयो र म काठमाडौँ आएँ।’

उनी घरका जेठा छोरा भएपनि उनी स्वतन्त्र थिए।

बिहान ४ बजे उठ्ने रियाज गर्ने, ललितकला क्याम्पसको दौड लगाएर घर फर्केपछि रातमा फेरि रियाज गर्ने उनको दैनिकी थियो । यही समयमा आयो ‘फेवातालमा साँइली ढुंगा सलल!’

यसरी सुरु भएको उनको यात्रा अहिलेसम्म निरन्तर छ, यही विधाका अन्य क्षेत्रहरु, चलचित्र लेखनमा समेत उनले हात हालिसकेको छन्। उनले अहिलेसम्म २२ वटा चलचित्रको स्क्रिप्ट लेखिसकेका छन् जसले उनलाई आफ्नो र परिवारको पालनपोषणमा सघाइरहेको छ।

‘म काठमाडौँ पस्दा २ हजार लिएर पसेको थिएँ, अहिले मेरो दैनिक नै त्यो ३ गुणा खर्च हुन्छ।’ उनले भने, ‘मैले यो क्षेत्रलाई व्यवसाय भनेर अंगाले त्यसैले मलाई ‘गारो’ कहिल्यै भएन। मैले आएदेखि फर्केर हेर्नु परेको छैन।’

तर उनका अनुसार अहिलेका नयाँ पुस्तालाई पहिलाको भन्दा सजिलो छ । गीत बन्ने प्रक्रियाहरु फरक भए। व्यवसायीकताको मापदण्ड नै अर्कै भएको उनले बताए। ‘हाम्रो समयमा कुनै कम्पनीले लगानी गरिदिन्थ्यो, अहिले व्यक्तिगत रुपमा काम हुन थाल्यो।’ उनले भने, ‘अहिलेको गीत चर्चित हुने, व्यवसायीकता नै फरक भईसक्यो। गीतका लाइन भाइरल हुन्छन् अनि गीत।’

त्यसैले उनले आफूलाई अहिलेको परिवेश अनुसार ढाल्न खोज्दैछन्। पहिला जस्तो ४ बजे रियाज गर्न उठ्दैनन्, तर अहिलेका पुस्ता कस्तो किसिमको संगीत मन पराउँछ भन्ने खोज गर्छन्। किनकी अहिले गीत संगीत संख्यामा वृद्धि भएको छ। त्यसको गुणात्मकतामा ह्रास आएको छ। प्रविधिको सहयोगमा धेरै गायक बनिरहेका छन्। माइकल भन्छन्, ‘अहिले गीतको आयु १ हप्ता हो, राम्रा गीत बनेका भएपनि त्यसको आयु लामो हुँदैन। समाजमा पनि नगेटिभ भाइब दिने खालका मानोरञ्जनात्मक सामग्री बढी रुचाइएको पाइन्छ।’

‘पब्लिकले जे मन पराउँछन्, त्यही पस्कने हो।’ उनी भन्छन्, ‘हामी समय अनुसार चल्दै जानुपर्छ।’

उनी आफ्नो बाँकीको जीवन यही क्षेत्रलाई समर्पण गर्न चाहन्छन्।

बैशाख ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्