आयोगद्वारा निर्वाचन सामग्री जिल्ला पठाउन सुरु, मतपत्र सुरक्षाको जिम्मा नेपाली सेनालाई

निर्वाचन आयोग नेपाल

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन सामग्री जिल्ला पठाउन सुरु गरेको छ। निर्वाचन आयोगले बिहीबारदेखि जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन सुरु गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौँ जिल्लाका लागि निर्वाचनका लागि आवश्यक पर्ने सामग्री पठाइएको छ।

वैशाख ८ मा मुलुकका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेका गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

निर्वाचनमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन सामग्री ढुवानी गर्न थालिएको हो। सबैजसो जिल्लामा सडकबाटै ढुवानी गर्ने व्यवस्था गरिए पनि हिमाली जिल्ला डोल्पा तथा मुगुमा हवाइ मार्गबाट सामग्री ढुवानी गर्ने आयोगका प्रवक्ता पौडेलले बताए।

मतदान हुन २२ दिन बाँकी हुँदा आयोगले ५३ जिल्लाका १ करोड १९ लाख मतपत्र छपाइ गरेको छ। मतपत्रको ढुवानी भने वैशाख दोस्रो साताबाट मात्रै सुरु गर्ने भएको छ।

मतपत्रको सुरक्षा तथा संवेदनशीलताका कारण मतपत्रका ट्रक ढुवानी नेपाली सेनाको सुरक्षा प्रबन्धसहित अन्तिम समयमा मात्रै गरिने प्रवक्ता पौडेलले बताए। देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ। निर्वाचन आयोगले मतपत्र ढुवानी सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको हो।

मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था मिलाएको जनाएको छ। निर्वाचनका लागि १० हजार सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।

बैशाख ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्