युक्रेन युद्ध

मारिपोलमा युक्रेनीको गुहार- ‘बंकरभित्र हामी मर्ने अवस्थामा छौँ’

रुसी सेनाले आक्रमण गरेको युक्रेनको मारिपोल सहरमा सर्वसाधारणहरू भत्किएको भवनको बंकरमा फसेको बिबिसीले जनाएको छ।

रुसको आक्रमणका कारण मारिपोलका धेरै भौतिक संरचना ध्वस्त भइसकेका छन्। जीवन रक्षाका लागि भवनका बंकरमा रहेका सर्वसाधारण बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन्।

मारिपोललाई रुसले कब्जा गरिसकेको भनिए पनि त्यहाँ अझै लडाइँ जारी छ। केही दिनअगाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिपोल रुसी सैनिकको कब्जामा आएको बताएका थिए।

पुटिनले मारिपोलमा रहेको स्टिल प्लान्ट बन्द गर्न चाहेकोले आक्रमण गरेको बताएका थिए। पुटिनले उक्त औद्योगिक क्षेत्रमा झिँगा पनि पस्न नदिने आदेशसमेत दिएका थिए।

मारिपोल रुसकाे बम आक्रमणबाट एक सातामै ध्वस्त भइसकेको छ। त्यहाँका नागरिक भत्किएका संरचनाको तल रहेका बंकरहरूमा फसेका छन्। अहिले नागरिकहरू युद्धग्रस्त क्षेत्र भन्दा पर छन्।

हरेक बंकरमा ८० देखि १०० जना मानिस रहेको अनुमान गरिएको छ। भवन भत्किएको कारण उनीहरूसँग सम्पर्क टुटेको छ। बंकरका प्रवेशमा भवनका भग्नावशेषले पुरेकोले उनीहरूको अवस्थाको बारेमा जानकारी लिन अफ्ठ्याराे भइरहेको जनाइएको छ।

सम्पर्क भएका नागरिकहरुले बंकरमा स-साना बालबालिका रहेको र केही नागरिक घाइते रहेको बताएका छन्। त्यहाँको स्थानीय प्रशासनले फसेका नागरिकहरूलाई उद्दारकाे लागि पहल गरिरहेको छ।

‘त्यहाँका नागरिकले योभन्दा अगाडि नै धेरे भोगिसकेका छन्। उनीहरूले रसियाका सैनिकलाई विश्वास गर्दैनन्। उनीहरू धेरै डराएका छन्’,  एक स्थानीयले भने,  ‘उनीहरू रसियाली सेनाले हत्या गर्ने अथवा दुख दिने विषयमा चिन्तित छन्।’

बैशाख ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्