नेपाल–भारत सीमा सुरक्षा बैठक

निर्वाचनको ४८ घण्टा अगाडिदेखि सीमानाका बन्द हुने

धनगढी– नेपाल–भारत सीमा सुरक्षा बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको ४८ घण्टा अगाडिदेखि नै नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

शनिबार कैलालीको गोदावरीमा सम्पन्न सीमा सुरक्षा बैठकले निर्वाचनलाई निष्पक्ष र स्वच्छ बनाउन सीमानाका बन्द गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

‘सीमा सुरक्षाको नियमित बैठक हो, तर यस पटकको बैठक निर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्वाचनभन्दा ४८ घण्टा अगावैदेखि सीमानाका बन्द गर्ने निर्णय गरेका छौँ,’ कैलालीका प्रजिअ थापाले भने, ‘तर अत्यावश्यक सेवा भने बन्द हुने छैनन्।’

कैलाली कञ्चनपुरको सीमासँग जोडिएको भारतको लखिमपुर खिरी जिल्लाका सुरक्षा अधिकारी र कैलाली–कञ्चनपुरका सुरक्षा अधिकारी सहभागी बैठकले निर्वाचनमा सीमानाका बन्द गर्ने निर्णयसँगै सीमानाकामा हुने अन्य शान्ति सुरक्षा सम्बन्धी पनि छलफल गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रजिअ थापाले जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रजिअ थापाले भने,‘यसपटकको बैठक निर्वाचनको सुरक्षामा बढी केन्द्रित भयो, तर त्यसबाहेक सीमामा देखिने अन्य थुप्रै विषयमा पनि छलफल गरेर समाधान गर्न सहमत भएका छौँ।’

नेपाल–भारतको सीमानाकामा देखिएका विवादबारे पनि सामान्य छलफल भएको प्रजिअ थापाले बताए।

यस्तै पत्रकार सम्मेलनमा भारतको लखिमपुर खिरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार सिंहले नेपालमा हुने स्थानीय तहको निर्वाचनका लागि सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको बताए। उनले भने, ‘नेपालमा वैशाख ३० गते हुने निर्वाचनलाई स्वस्थ र सुरक्षित बनाउन सीमानाकामा भारतका तर्फबाट पूर्ण सहयोग गर्नेछौँ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायत भारतका तर्फबाट लखिमपुर खिरी जिल्लाका सहायक प्रजिअ, एएसपी प्रमुख अरुण कुमार सिंहलगायतको सहभागिता रहेको थियो।

बैठकअघि भारतबाट आउने सुरक्षा अधिकारीलाई सीमानाकामा स्वागत गर्नुका साथै नेपाल प्रहरीले भारतका सुरक्षा अधिकारीलाई सलामीसमेत अर्पण गरेको थियो।

बैशाख १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्