उम्मेदवारी दर्ताको सबै तयारी पूरा, शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता हुने आयोगको विश्वास

निर्वाचन आयोग नेपाल

काठमाडौँ– वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीको दर्ताका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘उम्मेदवारको उम्मेदवारी वैशाख ११ आइतबार र वैशाख १२ गते सोमबार गरी दुई दिन राखिएको छ। त्यसका लागि सम्पूर्ण तयारी आयोले पूरा गरेको छ। आयोग मनोनयनदेखि मतदान र नतिजा प्रकाशनतर्फ उन्मुख बनेको छ।’

७५३ वटै स्थानीय तहहरुमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना भइ कार्य सञ्चालन भइरहेको र मतदान केन्द्रमा प्रयोग हुने सामग्रीहरु पठाउने कार्य निरन्तर भइरहेको उनले बताए।

स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गर्ने कार्यचाप अत्याधिक रहेकोले उक्त दिन मनोनयनपत्र दर्ता कार्य सम्पन्न नभइ भोलिपल्टसम्म गर्नुपरेको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरुको सुझावसमेतलाई दृष्टिगत गरी आयोगले निर्वाचनमा मनोनयनपत्र दर्ताको समय दुई दिनका लागि तोकिएको प्रमुख आयुक्त थपलियाले प्रष्ट्याए।

उम्मेदवार भएका मात्रै दलीय चिन्ह मतपत्रमा राख्न असम्भव रहेको र विज्ञ तथा प्राविधिक समितिको निर्देशन बमोजिम ०७४ सालको स्थानीय तहको निर्वाचनमा झै मतपत्र डिजाइन गरिएको थपलियाले बताए।

‘उम्मेदवार नभएको चिन्ह मतपत्रमा नराख्दा ६ हजार ७ सय ४३ वटै वडा अनुसारै त्यति संख्याकै फरक– फरक मतपत्र बनाउन सम्भव नभएकाले यस्तो गरिएको हो,’ उनले भने। यसको विकल्प विद्युतीय भोटिङ मात्रै रहेकाले त्यसतर्फ राजनीतिक दलले चासो दिनुपर्ने उनले बताए।

आयोगले २३ किसिमका मतपत्र छापेको छ। बढीमा ५६ लहरको मतपत्र स्थानीय तहको यो निर्वाचनमा प्रयोग गर्दैछ। जिल्लागत रुपमा ७७ जिल्लाकै फरक–फरक मतपत्र छन्। १ करोड २६ लाख मतपत्र छपाइ कार्य सम्पन्न भएको र ६ वटा महानगरसहित १८ जिल्लाको मतपत्र १९ गतेसम्म छपाइ सकेर ढुवानी गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।

वैशाख ११ र १२ गते तोकिएको समय १०ः०० बजेदेखि १७ः०० बजेभित्र प्रचलित कानुन बमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेको व्यक्तिले कुनै आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आयोगले आग्रह गरेको छ।

प्रमुख आयुक्त थपलियाले भने, ‘उम्मेदवारी दर्ता गर्न जाँदा नारा जुलुस र्‍याली तथा दलीय कार्यक्रमले असहज अवस्था आउन नदिने स्थानीय प्रशासनले उचित व्यवस्था गर्ने छ। भिडभाड तथा अशान्त स्थिति उत्पन्न हुन दिनेछैन। स्थानीय प्रशासनले शान्ति सुरक्षाको दृष्टिकोणले गर्नु सबै काम गर्ने छ,’ थपलियाले भने।

उम्मेदवारको मनोनयन दर्ता सहज, सरल र शान्तिपूर्ण रुपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको उनले बताए। निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सधैँ प्रतिवद्ध रहेको प्रमुख आयुक्त थपलियाले बताए। कानुनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आफूले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गरिदिन आयोगले सरोकारवालाहरु सबैमा अपील गरेको छ।

आयोगले चैत्र ४ मा निर्वाचन कार्यक्रम स्वीकृत गरेअनुरुप वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।

नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरुमा समावेशी प्रतिनिधित्वका लागि आयोगले सबैमा आग्रह गरेको छ।

बैशाख १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्