कैलालीमा कांग्रेसको प्रस्ताव माओवादी र समाजवादीद्वारा अस्वीकार

धनगढी– स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुङ्गोमा पुग्न सकेको छैन। चुनावी तालमेलका लागि गठबन्धनका दलहरुबीच शनिबार बिहानैदेखि निरन्तर बैठक चले पनि सहमति हुन सकेको छैन।

शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे पनि माओवादी केन्द्रले सो प्रस्ताव अस्वीकार गरेको छ। नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक हरि ज्ञावालीका अनुसार नेपाली कांग्रेसले आफूलाई ७ स्थानीय तहको नेतृत्व राखेर माओवादी केन्द्रलाई चार र एकीकृत समाजवादी पार्टीलाई दुई स्थानीय तहमा भाग दिने प्रस्ताव ल्याएको छ।

तर माओवादी केन्द्रले भने सो प्रस्ताव अस्वीकार गरेको संयोजक ज्ञावालीले बताए। ‘हाम्रो जिल्लाको बैठक बसेर ५ स्थानीय तह नपाए आफ्नै तरिकाले चुनाव लड्ने निर्णय भएको छ,’ संयोजक ज्ञावालीले भने, ‘४ स्थान मात्रै दिने गरी कांग्रेसले राखेको प्रस्ताव मान्य छैन, अब सहमति हुने अवस्था पनि देखिँदैन।’

उनले आइतबार बिहानसम्म पनि छलफल हुने बताए। माओवादी केन्द्रले कैलालीका ५ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख पद माग गरेको छ। यस्तै एकीकृत समाजवादी कैलाली इन्चार्ज दीर्घ सोडारीले पनि कुनै सहमति नभएको बताए।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले पनि अहिलेसम्म कुनै सहमति नभएको जनाएका छन्। गठबन्धन दलहरुबीच बैठक जारी रहेको भन्दै उनले सहमतिको नजिक पुगेको बताए।

बैशाख १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्