कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (अप्रिल १० देखि १६ सम्म)

गत एक महिनामा नेपालभरि कोरोना संक्रमणबाट मृत्यु शून्य

विश्वबाट कोरोना हराउँदै जाने क्रममा हाल विश्वका निकै थोरै देशमा मात्रै कोरोना संक्रमण तथा प्यान्डेमिक बाँकी रहेको देखिन्छ। एसियाका अधिकांश देशबाट कोरोना संक्रमण लगभग हराइसकेको छ। तथापि, दक्षिण कोरिया, जापान, भियतनाम, थाइल्यान्ड, मलेसिया, चीनका पूर्वी सहरलगायत देशमा हाल पनि कोरोना संक्रमण प्रसस्त देखा परिरहेका छन्। तर, ती ठाउँमा पनि कोरोना संक्रमण क्रमशः कम हुँदै गएको देखिन्छ। ती देशमा हाल संक्रमण दर करिब २५–४५% छ।

त्यस्तै, अफ्रिका महादेशमा पनि दक्षिण अफ्रिका, ट्युनिसियालगायत देशमा मात्रै केही कोरोना संक्रमण र प्यान्डेमिकको सानो अंश बाँकी रहेको देखिन्छ, संक्रमण दर करिब १०%। बाँकी अन्य देशमा संक्रमण र प्यान्डेमिक लगभग हराएको छ।

प्यान्डेमिकको ठूलो हिस्सा ओगटेको दक्षिण अमेरिका पनि हाल निकै शान्त देखिन्छ। दक्षिण अमेरिकाको उत्तरी भेगमा पर्ने सुरिनाम नामक देशमा हाल पनि संक्रमण संख्या र संक्रमण दर उच्च छ, करिब २५%, भने ब्राजिल, अर्जेन्टिना, चिलीलगायत देशमा हाल संक्रमण पहिलाको तुलनामा न्यून छ, संक्रमण दर करिब १०–१५%। अन्य देशमा कोरोना संक्रमण निकै न्यून र नियन्त्रित भएको देखिन्छ।

विश्वमा कोरोना संक्रमण अत्यधिक देखिएको उत्तर अमेरिका पनि हाल केही शान्त छ तर अन्यत्रको दाँजोमा भने संक्रमण संख्या र संक्रमण दर केही उच्च छ। पछिल्लो समय क्यानाडाको संक्रमण दर निकै उच्च भई ६०% नाघेको छ। त्यस्तै, मेक्सिकोमा संक्रमण दर ३०% भन्दा माथि छ भने अमेरिकामा संक्रमण दर ५% हाराहारीमा छ। यी दर पहिलाको दाँजोमा कम भए पनि विश्वका अन्य क्षेत्रको दाँजोमा यो निकै उच्च हो।

त्यस्तै, सेन्ट्रल अमेरिका अर्थात् ल्याटिन अमेरिकाका केही देशमा पनि संक्रमण दर केही उच्च देखिन्छ। ट्रिनिडाड एण्ड टोबागो, बर्बादोसलगायत त्यहाँका केही टापुमा हाल संक्रमण दर ३०% भन्दा माथि छ जहाँ पहिला संक्रमण न्यून हुने गर्थ्याे।

तर, विश्वबाट अब कोरोना हराउँदै गयो भन्दाभन्दै पनि युरोप र अस्ट्रेलियामा अहिले पनि कोरोना संक्रमण र यसको संक्रमण दर उच्च देखिन्छ। न्युजिल्यान्डमा विश्वकै सबैभन्दा उच्च संक्रमण दर देखिएको छ जुन ९०% नाघेको छ। त्यस्तै, अस्ट्रेलियाको संक्रमण दर पनि ५०% भन्दा माथि छ। स्मरण रहोस्, प्यान्डेमिक सुरु भएको निकै समयसम्म पनि यी देशमा संक्रमण निकै कम र फलस्वरूप यी देश निकै सुरक्षित थिए। हाल यी देश विश्वमै कोरोना संक्रमणको दृष्टिले सबैभन्दा असुरक्षित देखिन्छन्।

त्यस्तै, युरोप हाल पनि त्यति शान्त हुन सकेको छैन कोरोना संक्रमणको दृष्टिले। नेदरल्यान्ड्स, स्लोभाकिया, जर्मनी आदि देशमा हाल पनि संक्रमण दर ५०–७०% छ भने नर्वे, फ्रान्स, आयरल्यान्ड आदि देशमा संक्रमण दर २०–४०% जति छ। त्यस्तै, अन्य पूर्वी तथा दक्षिण युरोपमा हाल पनि संक्रमण दर २०% भन्दा माथि छ।

यसरी पछिल्लो अवस्थामा प्यान्डेमिक मूलतः युरोप र वेस्टर्न प्यासिफिक क्षेत्र जहाँ एसियाका दक्षिण कोरिया, जापान, थाइल्यान्ड, भियतनाम, चीनका पूर्वीसहरलगायत अस्ट्रेलिया महादेश पर्छन्, त्यहाँ केन्द्रित भएको देखिन्छ।

स्मरण रहोस् मापदण्ड अनुसार ५% भन्दा कम संक्रमण दरलाई प्यान्डेमिक नियन्त्रण मानिन्छ र हाल नेपाल लगायत दक्षिण एसियामा संक्रमण दर १–२% रहेको छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर, आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको वास्तविक चित्र पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ। दक्षिण एसियाको पछिल्लो १५ दिन (सन् २०२२ अप्रिल ६ देखि २०)को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण स्थिर अर्थात् घट्ने क्रम रोकिएजस्तो देखिएको छ जुन गत १५ दिनको जस्तै दैनिक २९०० जति छ। त्यस्तै, दैनिक मृत्यु पनि पछिल्लो समय गत १५ दिनको जस्तै निकै कम भई औसतमा ५० भन्दा कम भएको छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाललगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने भारतमा पछिल्ला दिनमा दैनिक संक्रमण केही बढ्न खोजेको छ। भुटानमा हाल पनि दैनिक संक्रमण अन्यत्रको दाँजोमा उच्च छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ। पछिल्लो समय भारतमा पनि दैनिक कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कम भएको छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर २% भन्दा कम छ ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ अप्रिल १७ देखि २३ अर्थात् ०७९ वैशाख ४ देखि १० गतेसम्म जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न. ४मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्र गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख १० गते शनिबारसम्म देशभरि जम्मा ७८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८७३२ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ९८ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य रह्यो जुन दुई हप्ताअघि पनि शून्य नै थियो।

हालसम्म नेपालको जम्मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११९५१ पुगेको छ। यसरी नेपालमा दैनिक कोरोना मृत्यु पछिल्लो समय निकै कम भएको छ र विगत एक महिनामा कोरोना मृत्यु शून्य भएको छ। नेपालमा अन्तिम कोरोना मृत्यु यही मार्च २२ का दिन एक जनाको भएको थियो।

गत हप्ता जम्मा १९८४३ पिसिआर परीक्षण गरियो जुन दुई हप्ताअघि २०८१४ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमण अनुपात ५०.४%देखियो जुन दुई हप्ताअघि ४९.९५% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत साताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.२५% देखि अधिकतम ०.५८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.४% रह्यो जुन दुई हप्ताअघि ०.४५% थियो। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। हाल दक्षिण एसिया र नेपालमा कोरोना संक्रमण प्यान्डेमिक इतिहासकै सबैभन्दा कम भएको छ। अर्कोतर्फ हाल पनि युरोप र वेस्टर्न प्यासिफिक, अस्ट्रेलिया आदि क्षेत्रमा प्यान्डेमिकको तनाब कम भएको छैन। पछिल्ला दिनमा भारत र चीनका केही सहरमा देखिएको कोरोना संक्रमण र मृत्यु विश्वका लागि फेरि एक पटक केही चासो र चिन्ताको विषय भएको छ। यही नै प्यान्डेमिकको असली रूप हो कि यो कहिले, कहाँ र कसरी बढ्छ भन्ने थाहै हुँदैन।

गत हप्ता, ०७९ वैशाख ४ देखि १० गतेसम्म नेपालमा साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर निकै घटेको पाइयो। त्यस्तै, दैनिक र साप्ताहिक मृत्यु संख्या शून्य रह्यो।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकको अवस्थाबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्