सुनिता डंगोलले दिइन् काठमाडौँमा आफूले जित्ने यी कारण (भिडियो)

फाइल तस्बिर

काठमाडौँ- पछिल्लो समय राजनीतिमा युवा पुस्ताहरुको सक्रियता बढ्दै गएको छ। राजनीतिमा सक्रिय रही ग्रासरुटबाटै काम गर्दै आएका युवाहरुले स्थानीय तहको उम्मेद्वारी दिन थालेका छन्।

काठमाडौंबाट मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरी घोषणापत्र सार्वजनिक गरेकी सुनिता डङ्गोललाई एमालेले काठमाडौं महानगरको उपमेयरको उम्मेद्वार बनाएको छ । उनी ‘मिस नेवा २०११’ की विजेता समेत हुन्। ३१ वर्षीया सुनिताको परिवारिक पृष्ठभूमि एमाले नै हो।

सुनिता एक सञ्चारकर्मी समेत हुन्। सक्रिय राजनीतिमा भर्खरै आए पनि राजनीतिमा सानैबाट इच्छा भएको र राजनीतिमा आउँछु भन्ने सोच पहिलेबाटै भएको उनी बताउँछिन्। उनी काठमाडौंको स्थानीयबासी हुन्।

‘राजनीति गर्ने भन्ने कुरा स्थानीय जनताका लागि हो। म काठमाडौंको स्थानीय हुँ। यहाँका मानिसहरुको आवश्यकता, चाहना, दुख, सुख हरेक कुरा मैले बुझेको छु,’ उनी भन्छिन्, ‘काठमाडौंका मानिसहरु कस्तो प्रतिनिधि चाहन्छन् त्यो मैले नजिकबाट बुझेको छु त्यसैले उम्मेद्वारी दिएकी हुँ।’

सक्रिय राजनितिमा आउनुअघि उनी विभिन्न क्षेत्रमा आमा समूह, बालबालिका तथा युवा समूहरुलाई तालिम दिने जस्ता कार्यहरुमा सक्रिय थिइन्। त्यससँगै उनले काठमाडौं महानगरपालिका शहरी आयोजना आयोगमा पनि ४ बर्ष काम गरिन्। विभिन्न क्षेत्रमा काम गर्दा समेत स्थानीयबासीसँग नजिक रहेर काम गर्ने अवसर पाएको उनी सुनाउँछिन्।

‘तपाई अरुभन्दा फरक हुनु छ भने काम गरेर फरक हुनुपर्छ भन्ने कुरमा म विश्वास गर्छु,’ उनी भन्छिन्, ‘जितिसकेपछि मात्र काम गरेर देखाउनुपर्छ भन्ने मलाई लाग्दैन।’

उनले प्रतिबद्धता पत्रमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट जस्ता कुराहरुलाई विशेष जोड दिएकी छन्।

प्रतिबद्धता पत्रमा भनिए अनुसारका काम पाँच बर्षमा गरेरै दखाउने उनी बताउँछिन्। उनी भन्छिन्, ‘जुन कुरा सम्भव नै छैन त्यो कुरालाई मैले समेटेकै छैन।’

उनले काठमाडौं उपत्यकामा स्मार्ट सार्वजानिक शौचालयको अवधारणालाई अघि सारेकी छिन्। स्मार्ट भन्ने बित्तिकै हरेकको सोचाइ फरक हुन सक्छ तर त्यस्तो होइन। सार्वजानिक शौचालय कम्तिमा व्यवस्थित होस्। उनी भन्छिन्, ‘पैसा तिरेर शौचालय प्रयोग गर्ने भइसकेपछि त्यो अनुसारको व्यवस्था मानिसले पाउनुपर्छ भन्ने मलाई लाग्छ। अहिले भएका सार्वजानिक शौचालय पुग्नुभन्दा ४ कोस टाढाबाटै गन्ध आउँछ कम्तिमा त्यस्तो हुनु भएन। पानीको व्यवस्था राम्रो हुनु पर्‍यो।’

युवा जोस र जाँगरका साथ राजनीतिमा सक्रिय उनी आफूहरुको पाँच बर्षे कार्यकालमा काठमाडौं महानगरपालिकालाई काठमाडौंबासीले सोचेको जस्तै शहर बनाउने बताउँछिन्।

काठमाडौं महानगरलाई २४ सै घण्टा खुल्ला र जीवन्त शहरको रुपमा विकसित गर्ने योजना उनको छ। शहरलाई जीवन्त राख्न बत्ती बालेर मात्रै हुन्छ र भन्ने हाम्रो प्रश्नमा उनी भन्छिन्, ‘बत्ती बालेर मात्र शहर जिवन्त हुन्छ भन्ने होइन तर नाइट लाइफको अवधारणा मैले लिएकी छु। रातिको समयमा बत्ती बालेर रात्रिकालिन यात्राका लागि सहज र सुरक्षित बनाउने, रात्रिकालिन व्यवसायहरुमा जोड दिने जस्ता कुराहरु समेटिएको छ।’

७५ बर्षदेखि माथि उमेरका जेष्ठ नागरिकहरुलाई वार्षिक ३० हजार रुपैयाँ महानगरले प्रदान गर्ने व्यवस्था मिलाउने उनको तयारी छ।

प्रभावकारी योजनाहरु बनाएर काठमाडौंलाई धूलो, धुँवामुक्त सुन्दर र व्यवस्थित हरियाली शहरका रुपमा विकास गरिने, सडक क्षेत्र, सार्वजनिक तथा खुल्ला स्थल, नदी आदि सार्वजनिक स्थानमा अतिक्रमण हुन नदिने, महानगरभित्र ठूला ठूला इभेन्टहरु गर्न मेट्रो सिटी हलहरु निर्माण गरिने, इलेक्ट्रिक भेकलहरुलाई प्रवर्द्धन गर्ने। प्रदूषण बढाउने पेट्रोल डिजेलका गाडीहरुलाई विस्थापन गरिने जस्ता कार्यलाई पनि उनले जोड दिएकी छन्।

काठमाडौंमा हरियाली बृद्धि गर्न कौसी खेती र बगैंचा कार्यक्रमहरु अभियानकै रुपमा अघि बढाइने उनले बताएकी छन्। ‘काठमाडौंमा खेतीयोग्य जमिनहरु दिन प्रतिदिन कम हुँदै गइरहेका छन्, त्यस्तोमा हामीले काठमाडौंलाई हरियाली बनाई राख्न कौसी खेती गर्न सक्छौँ’, उनी भन्छिन्, ‘घरको छत खालि नै हुन्छ अनि हामी चाँहि तरकारी किनेर खान्छौँ। कौसीखेती गरे त घरमै उब्जिएको तरकारी खान पनि पाइन्छ, सँगसँगै सरह पनि हरियाली हुन्छ।’

प्रविधिले फड्को मारेसँगै शहरलाई पेपरलेस बनाउने कुरालाई पनि उनले जोड दिएकी छन्।

फोहोरबाट निस्कने विभिन्न पदार्थहरुको उचित व्यवस्थापन गर्ने साथै जैविक फोहोरहरुबाट वायोग्यास उत्पादन गर्न आवश्यक प्लान्टहरुको व्यवस्था गरिने, सिटी टुरको अवधारणालाई कार्यान्वयन गर्न ‘हप अन हप अफ’ बस स़ञ्चालनको व्यवस्था गरिने, उपत्यकाका अन्य नगरहरुसँग समन्वय गरी राजस्वका दरहरु एवम् कर संकलनमा सहकार्य अभिवृद्धि गर्ने लगायत कुराहरु उनले समेटेकी छन्।

आदिवासी जनजातिको उत्थानका लागि विशेष कार्यक्रमहरु लागू गरिने, प्रत्येक महानगवासीका लागि अनिवार्य स्वास्थ्य बिमाको प्रबन्ध गरिने, रोजगारीको अवसर सिर्जना गर्न युवाहरुलाई लक्षित गरी विभिन्न किसिमको प्राविधिक तथा व्यवसायिक तालिमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइने र उद्यमशीलताको विकास गर्न प्रोत्साहन गर्ने, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, बालबालिका,  लैङ्गिक अल्पसंख्यक लगायत गरिबीको रेखामुनि रहेका समुदायहरुको लागि आवश्यकता अनुसार विशेष योजना बनाइने लगायत प्रतिबद्धता छन्।

स्थानीय सरकार भनेको स्थानीय व्यक्ति हुनुपर्छ भन्नेमा उनी विश्वास राख्छिन्। ‘स्थानीय सरकार भनेको स्थानीय व्यक्ति हुनुपर्छ र म यहाँको स्थानीय हो त्यसैले मैले काठमाडौंबासीको चाहना र ग्राउण्ड रियालिटी बुझेकि छु,’ उनी भन्छिन्, ‘अबको राजनीतिमा युवाहरु आउनुपर्छ। युवाहरुको राजनीतिमा उपस्थिति छ भन्ने मात्र नभएर पोलेसी मेकिङमा समेत युवाहरुको उपस्थिति हुनुपर्छ र मात्र देश विकासको कुरा सम्भव छ।’

आफूहरुले स्थानीयसँग नजिक रहेर काम गरेको कारण पनि जित सम्भव रहेको उनी बताउँछिन्।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्