एमालेले मोरङका १६ पालिकामा उम्मेदवार टुंगो लगायो

मोरङ– नेकपा एमालेले मोरङका १६ पालिकाका उम्मेदवारको टुंगो लगाएको छ। विराटनगर महानगरमा उम्मेदवार टुंगो लाग्न बाँकी छ।

महानगरमा नेपाली कांग्रेसले मेयरको उम्मेदवार छान्न समय लगाइरहँदा त्यसको प्रभाव एमालेमा पनि देखिएको हो। एमालेका एक नेताका अनुसार महानगरपालिकामा आजै रातिसम्ममा मेयर र उपमेयरको टुंगो लाग्नेछ।

एमालेबाट प्रदेश सभा सदस्य जीवन घिमिरे, केन्द्रीय सदस्य रामलाल साह, महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला उपसभापति बाबुराम कार्की, परशुराम बस्नेत, महेश भट्टराई र पछिल्लो समय स्थायी कमिटि सदस्य गुरु बरालको नाम चर्चामा देखिएको छ।

यद्यपि महानगरका लागि आफ्नो इच्छा नरहेको बरालले बताएका छन्। उनले भने, ‘पार्टीले अघि बढाउनु बेग्लै कुरा हो। तर व्यक्तिगत रुपमा मेरो इच्छा भने मेयरका लागि होइन।’

यस्तै उपमेयरमा शिल्पा निराला कार्की, विमला दाहाल घिमिरे र अञ्जु उपाध्यायको नाम सिफारिस भइसकेको छ।

त्यसैगरि आइतबार विराटनगरलाई थाँति राख्दै जिल्लाका १६ पालिकामा एमालेले उम्मेदवार टुंगो लगाएको छ। महानगरपालिका बाहेकका उम्मेदवार टुंगो लागेको एमाले मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए।

जसमा मिक्लाजुङको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राई, उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेल, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपप्रमुखमा दयन्ता चुँडाललाई उम्मेदवार बनाइएको छ। चुँडाल यसअघिकी उपमेयर हुन्।

त्यसैगरि सुनवर्षी नगरपालिकामा श्याम राजवंशी प्रमुख र मिरा दासलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। एमालेले पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देवीमाया काफ्ले, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमा भोला अधिकारीले उम्मेदवारी दिने सचिव खतिवडाले जानकारी दिए।

लेटाङको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला रहेका छन्। दुवै जनालाई यसअघि पनि पार्टीले उम्मेदवार बनाएको थियो। जसमा मेयरमा लावती पराजित भएका थिए भने निरौला विजयी भएकी थिइन्।

केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगर, सुन्दरहरैंचाको मेयरमा केदार गुरागाईं र उपप्रमुखमा अकली चौधरी, ग्रामथानको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्ष गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुँवर विष्ट, कटहरीमा सुवास सरदार र सीता राजवंशी, जहदा गाउँपालिकाको अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन, धनपालथानमा मुसहरु मण्डल र उपासी देवी राजवंशी, रंगेलीको प्रमुखमा दिलीप बगडीया र उपप्रमुखमा भुमा पराजुली निरौला, बेलबारी नगरपालिकाको प्रमुखमा ज्ञानेन्द्र सुवेदी र उपमेयरमा गंगा श्रेष्ठले उम्मेदवारी दिने सचिव खतिवडाले बताए।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले ५ वटा स्थानीय तहका प्रमुख र ९ वटामा उपप्रमुख जितेको थियो।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्