वैकल्पिक शक्तिको जग बसाउन काठमाडौँको मेयरमा उम्मेदवारी दिएँः सुमन सायमी

काठमाडौँ महानगरपालिकाको मेयरमा सुमन सायमीले स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। वैकल्पिक राजनीतिक शक्तिको जग बसाउनका लागि आफूले उम्मेदवारी दिएको उनको दाबी छ।

काठमाडौँमा सडक विस्तार पीडित संघर्ष समितिका अगुवा उनले गुठी विधेयकविरुद्धको आन्दोलनमा युवाको नेतृत्व पनि गरेका थिए। काठमाडौँको मेयरमा उम्मेदारी दिएका सुमन सायमी सँग देशसञ्चारका लागि गोविन्द लुइँटेलले गरेको कुराकानीः

तपाईंले किन महानगरमा उम्मेदवारी दिनुभएको हो?

राजनीतिक विकृतिका विरुद्ध उभिन मैले उम्मेदवारी दिएको हुँ। महानगरमा भ्रष्टाचार भएको छ। अनियमितता भइरहेको छ। सिंगो देश नै यो रोगले ग्रस्त छ।

हामीले जन्मिनेवित्तिकै ऋणको भारी बोक्नु पर्ने भएको छ। काठमाडौँमा स्वास फेर्नै गाह्रो छ। यहाँको नेतृत्वले यस्तो अवस्थामा कुनै निकास दिन किन चाहेन त? नसकेर होइन नचाहेर हो।

ठेक्का पट्टाको काम तुरन्तै हुने तर जनजीवनसँग जोडिएका विषय उठायो भने तुरुन्तै नहुने अवस्था छ। त्यसका लागि हामीले उम्मेदवारी दिएका हौँ।

यसभन्दा अगाडि तपाईंले राजनीति गर्नुभएको थियो?

म खास त व्यापारी हुँ। जब सडक विस्तार गरियो र धेरैलाई विस्थापित गरियो। भूकम्प गएको र घर भत्केको बेला काठमाडौँमा डोजर आंतक चल्यो। घर भत्काउन आधार प्रमाण लिएर आउन हामीले भन्यौँ। तर माथिको आदेश भन्दै डोजरले घर उडाउने काम गरियो।

गाँस बास र कपासमै राज्यले हानेको र ज्यानसँग खेलेको महशुस भयो। त्यसपछि निरन्तर आवाज उठाउँदै गयौँ। त्यसमा अरुले पनि साथ दिँदै गए। धेरै अन्यायमा परेको थाहा भयो। यो अभियानलाई जारी नै राख्यौँ।

त्यसपछि गुठी आन्दोलन अगाडि बढाइयो। यो देशको पहिचानसँग जोडिएकाले त्यसलाई विनास गर्न लागिएको थियो, तर हामीले फिर्ता गर्न लगायौँ। त्यसमा स्थानीयको राम्रो साथ रह्यो। मैले त्यसको नेतृत्व गरेँ।

यी आन्दोलन र अभियानमा सफल भए झैं मेयर जित्न सजिलो छ त?

म धैर्यतामा विश्वास गर्ने मानिस हुँ। धैर्यता विना केही काम संभव हुँदैन। इमान्दार भएर काम गर्‍यो भने जुनसुकै लडाइँ पनि अवश्य जित्न सकिन्छ।

यस अगाडि विजयी बनेका मुख्य राजनीतिक दलहरु नै थिए? अहिले पनि तपाईंका प्रतिस्पर्धी त बलिया छन् नि?

हामीलाई जनताले अनुमोदित गरेका छन्। उनीहरुको कर्म हेर्दा बलिया लाग्दैन। जनताले चाहना गरे नहुने के छ र? म निर्वाचन जित्नेमा विश्वस्त छु।

तपाईंका मुख्य एजेण्डा के–के छन्?

यो काठमाडौँ नगरलाई सांस्कृतिक र व्यवस्थित शहर बनाउने हाम्रो योजना छ। आत्मनिर्भरका लागि यहाँको भूमि नष्ट गर्न भएन। ऐतिहासिक भूमिमा विकासका नाममा जसरी फास्ट ट्र्याक, चक्रपथजस्ता कारण बिनास गर्न मिल्दैन। अहिले सुख्खा बन्दरगाहा बनाइयो, यो पनि गर्न नहुने काम भएको छ। हामीले आवाज उठाउँदा पनि सरकारले अन्याय र अत्याचार गरिह्यो।

काठमाडौँमा ४० वर्ष बाच्न पनि गाह्रो छ। यी विषय सरकारका नीति बनाउनेहरुले सोच विचार गर्नुपर्छ। यो स्थिति उत्पन्न गराउने मान्छेलाई कारबाही गर्नुपर्ने हो, उनीहरु नै अहिले पदमा छन्।

मेयरको कुर्सीमा बसेपछि तपाईंको कल्पनाको काठमाडौँ कस्तो हुन्छ?

सम्पदाको नगरको रुपमा काठमाडौँलाई विकास गर्नुपर्छ। उपत्यकालाई अध्ययन गरेर विकास गर्नुपर्छ। अध्ययन बिनाको विकासले पहिचान पनि गुमेको छ। हाम्रो अस्तित्वै समाप्त पनि भएको छ। खोलालाई ढल बनाएर विकासको परिभाषा दिइएको छ। त्यसलाई मान्दैनौँ भनेर आवाज उठाएका छौँ।

स्वतन्त्रपूर्वक कसैको दबाब र प्रभाव परेर निर्णय नहोस् भनेर म उम्मेदवार बनेको हुँ। स्वतन्त्र उम्मेदवारहरुबाटै भोलि वैकल्पिक शक्ति तयार हुन्छ। हामीले सेवा भावको राजनीतिको जग हाल्न गइरहेका छौँ। यसमा सबै सुझबुझ नागरिकको साथ चाहिन्छ। त्यसमा अर्काे पुस्ताले घर बनाउँछ।

तपाईंले खास कुन खालका मतदाता आकर्षित गर्दै हुनुहुन्छ?

सम्पूर्ण नागरिक नै मेरा मतदाता हुन्। राम्रै मत आउँछ भन्नेमा मलाई विश्वास छ।

उम्मेदवारी दर्ता गरेपछिको अनुभव बताइदिनु न?

सात दिन भयो राजनीतिमा आएको तर मलाई अलि तनाव भइरहेको छ।

कसैको दबाब र प्रभाव परेको छ कि?

मलाई १० वर्ष यता यो अभियान सञ्चालन गर्दा कसैले दबाब दिएको छैन। म सत्यको बाटोमा छु। कसैले मलाई दबाब र प्रभावमा पार्न सक्दैन। म कसैबाट डगमगाउँदिन। मेरो पछाडि नागरिकको शक्ति छ।

सत्यको बाटो इमान्दार भएर हिँडेपछि जोसँग पनि लड्न सकिँदोरहेछ भन्ने मेरो अनुभव छ।

वैकल्पिक शक्ति राजनीतिमा किन आउनु पर्छ?

विद्यमान राजनीतिक दलको प्रवृति र नीति समान छन्। गणितीय राजनीतिले सबै बिगारेको छ। नत सैद्धान्तिक मूल्य नै छ। राजतन्त्रवादी गणतन्त्रवादीसँग पदका लागि मिल्ने जस्ता विषयले जनतालाई निराश पारेको छ। यस्ता खराब प्रवृत्तिहरुलाई हटाउन पनि वैकल्पिक राजनीतिक शक्ति राजनीतिमा आउनु पर्छ।

सीपयुक्त र शिक्षित युवा विदेश पठाएर रेमिट्यासले देश चलाइएको छ। हाम्रा सन्ततिलाई दास बनाउन काम भइरहेको छ। यस्तो प्रवृतिले देश बन्दैन। हाम्रा बच्चालाई लाखौँ लगानी गर्दछौँ। तर विदेशमा दास बन्नु पर्ने अवस्था छ। देशले आत्म निर्भर हुने मौका गुमाइरहेको छ।

कार्यकर्ता चाहिँ नेताको दास बनिरहेका छन्। हामी त्यही भएर स्वतन्त्र राजनीति गर्नु पर्दछ भनेर आएको हो। सहीलाई सही, गलतलाई गलत भन्ने क्षमता हामीमा छ।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्