देशभर १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता

निर्वाचन अधिकृतको कार्यालय, बुटवल।

काठमाडौँ – यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पहिलो दिन अपेक्षा गरेभन्दा निकै थोरै संख्यामा उम्मेदवारी परेको छ।

मनोनयन दर्ताको पहिलो दिन मुख्य दलले कतै पनि उम्मेदवारी दिएनन् भने स्वतन्त्र र साना दलले मात्रै विभिन्न स्थानमा उम्मेदवारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गर्न थोरै दलमात्रै पुगेकाले भीडभाड थिएन। निर्वाचनको माहोल भने उत्साजनक देखिन्थो। उम्मेदवार र समर्थकहरु उल्लासका साथ मनोयन पत्र दर्ता गरेको देखिन्थ्यो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आइतबार १० हजार ५ सय ३३ जना उम्मेदवारले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

काठमाडौँ महानगरपालिकामा समेत स्वतन्त्र र साना पार्टीले उम्मेदवारी दर्ता गरेका छन् । सहायक निर्वाचन अधिकृत नेत्र प्रसाद पौड्यालका अनुसार मेयरमा १६ जना, उपमेयर पदमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मेयर पदमा ९ जना स्वतन्त्रले र ७ जना विभिन्न पार्टीबाट उम्मेदवारी परेको छ। मेयरमा ४ जना महिला र १२ जना पुरुषको उम्मेदवारी परेको हो। त्यस्तै वडा अध्यक्षमा २३ जनाको उम्मेदवारी परेको छ। सदस्यमा भने ७ जनाको मात्रै उम्मेदवारी परेको छ।

देशभर ३५ हजार २ सय २१ पदका लागि स्थानीय तहको निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सोमबार पनि छ। निर्वाचनका लागि मुख्य दलसहित निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलले भोलि नै उम्मेदवारी दर्ता गर्ने भएका छन्।

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्