‘जिल्ला तहले गरेका कामबाट आजित भएर स्वतन्त्रमा उभिएको हुँ’

मोरङ – हातमा खैरो रंगको रेकर्ड फाइल, शरीरमा नेपालको झण्डा अंकित रातो भेस्ट। स्पोर्टस जुत्ता अनि ट्र्याक सुट। विराटनगरमा स्थानीय तहको उम्मेदवारी मनोनयन दर्ता दिने क्रममा एक युवक भीडमा उपस्थित भए।

चौतर्फी भीडमा हल्लाखल्ला भए पनि उनको अनुहारमा अलि गम्भीर अलि मलिन देखिएको थियो। भीडबाट छिचोलिँदै उनले आफ्नो पालोमा निर्वाचन अधिकृतसमक्ष फाइल बुझाएर र एकै सासमा भने, ‘मैले विराटनगरको वडा नम्बर ३ मा वडाध्यक्षको पदमा मनोनयन दर्ता गर्न लागेको सर। यहाँबाट अब के गर्नुपर्छ?’

त्यसपछि अधिकृतले उनको फाइल विस्तृत रूपमा पढे र प्रक्रिया अघि बढाए। उनी थिए, राप्रपाबाट असन्तुष्ट भएर महानगरपालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउन पुगेका ३५ वर्षीय खेलकुदकर्मी विक्रम कार्की।
मनोनयन दर्ता गराउने अन्तिम दिन सोमबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीसँग गफिँदै गर्दा राप्रपाबाट आशा तुहिएको गुनासो गरे।

फुटबलको राष्ट्रिय रेफ्रीसमेत रहेका कार्कीले सोही वडाको अध्यक्षका लागि आफ्नो नाम पार्टीभित्र राखेका थिए। आइतबारसम्म वडाध्यक्षका लागि तयार रहन जिल्लाले आश्वासन दिए पनि अन्तिममा उनलाई पन्छाएर अर्का ब्यक्तिलाई उम्मेदवारी दिइएको उनले आरोप लगाएका छन्।

कार्कीले भने, ‘युवालाई साथ लिएर अब राप्रपाले केही गर्ला भन्ने थियो। तर, वडामै युवाको आवाजलाई संकुचित बनाइएको छ। आज बाध्य भएर पार्टीबाट बेग्लै स्वतन्त्रमा उम्मेदवारी दिनुपरेको छ।’

विराटनगरका स्थायी कार्की लामो समयदेखि फुटबलमा आबद्ध छन्। युवा तथा खेलाडीमाझ लोकप्रिय कार्कीले वडाको विकासमा आफ्नो समय ब्यतित गर्ने बताए। वडाभित्र स्वास्थ्य र बसोबास मुख्य चुनौती भएको बताएका कार्कीले सर्वसाधारणलाई वडाको अनुभूति दिलाउने काममा आफू लागिपर्ने बताउँछन्।

जिल्ला अध्यक्षले कोठे राजनीति गरेर राप्रपालाई नोक्सानी पु¥याउने कार्य गरेको उनले आरोप लगाए।

उनले भने, ‘होटल र खानपिनका भरमा राप्रपाको टिकट बाडिँएको छ। यसले समग्र राप्रपामा आँच पुगेको छ। जिल्ला तहले गरेका कामबाट आजित भएर स्वतन्त्रमा उभिएको हुँ।’

कार्की फुटबलसंगै सामाजिक अभियान्ताका रुपमा समेत चिनिएका व्यक्ति हुन्। कोभिड १९ को महामारीदेखि लकडाउनका क्रममा उनले पटकपटक सर्वसाधारणलाई खाद्यान्नदेखि स्वास्थ्योपचारमा सहयोग पु¥याएका थिए। विभिन्न खेलका खेलाडीलाई चोटपटक लागे उनी आफँै सक्रिय भएर खेलाडीको स्वास्थ्य उपचारका लागि खटिने गर्छन्।

 

बैशाख १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्